भरतपुर । भरतपुर बचत तथा ऋण सहकारीले विविध कार्यक्रम गरी शुक्रबारदेखि तीन दिनसम्म १७औं वार्षिकोत्सव मनाएको छ ।
संस्थाले प्रभातफेरी, सहकारी सचेतना, बालभेला र विभिन्न विधामा सम्मान गरी वार्षिकोत्सव मनाएको हो । संस्थाले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विभिन्न विधाअन्तर्गत सम्मान गरेको छ । संस्थाले सञ्चालन गरेको बाल बचतमा सबैभन्दा धेरै रकम बचत गर्ने दुई जना अपिल न्यौपाने र अंकित कँडेल, असल बचतकर्ता राममाया सुनार र भीमप्रसाद ढकाल तथा असल ऋणीको रुपमा श्यामकृष्ण श्रेष्ठ र चिजाकुमारी थापालाई सम्मान गरिएको छ ।
त्यस्तै सम्मानित हुनेहरुमा संस्थामा पहिलो उजुरीकर्ताको रुपमा रामराज दाहाल, असल सेयर सदस्यको रुपमा प्रकाश रायमाझी र अनिता पौडेल, संस्थाका सेयर सदस्यमध्ये विभिन्न विषयमा विद्यावारिधि गर्ने डा.एकनारायण पौडेल र डा.रामचन्द्र ढकाल रहेका छन् ।
संस्थाका अध्यक्ष मीनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहकारी डिभिजन कार्यालय भरतपुरका प्रशिक्षक श्रीकृष्ण नेपाल थिए । कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, संस्थापक अध्यक्ष कपिलमणि शर्मा रेग्मी, पूर्वअध्यक्ष अर्जुन रिजाल तथा सेयर सदस्य अन्जु शर्मा दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post