नेपालमा करिब ७० हजारको हाराहारीमा चेपाङ समुदाय बसोबास गर्दछन् । विशेषगरी, चितवनका विकट पहाडी क्षेत्र, मकवानपुर, धादिङ, तनहुँ र गोरखामा यो जातिको बसोबास रहँदै आएको छ । अशिक्षा, विपन्नता र राज्यको सुविधाबाट समेत वञ्चित यो जातिले गिठ्ठा–भ्याकुर, सिस्नुजस्ता जङ्गली कन्दमूलको भरमा समेत जीवन निर्वाह गर्नुपर्ने नियति छ । भिरालो र पाखो जग्गामा बसोबास गर्ने हुँदा राज्यबाट मात्रै होइन, प्रकृतिले समेत ठगेको छ । अनिकालको समेत सामना गर्नुपर्ने भएकाले उनीहरु आर्थिक प्रलोभनमा सजिलै पर्ने र राज्यबाट अवैध र अपराध मानिएका कामसमेत गर्ने गरेको चेपाङ अगुवाहरुले विश्लेषण गरेका छन् । गैँडा शिकारमा पटकपटक चेपाङ समुदायका व्यक्तिहरुको संलग्नता देखिनु यसैको कारण मानिएको छ । विभिन्न जिल्लाका कारागारमा रहेका बन्दीहरुमा अधिकांश चेपाङ समुदायकै रहेको पाइएको छ । त्यसमा पनि अत्यधिक गैँडा मार्ने अभियोगका छन् । आपराधिक बाटोमा चेपाङको संख्या बढ्दै गएपछि चेपाङ अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
चेपाङ अगुवाले नारायणगढमा पत्रकार सम्मेलन गर्दै गैँडा सिकारमा चेपाङको मात्रै संलग्नता देखाउन खोजेको भन्दै निकुञ्ज प्रशासनको आलोचना गरेका छन् । चेपाङलाई दोष थोपरेर मुख्य अपराधीलाई लुकाउने प्रपञ्चमा प्रशासन रहेको उनीहरुको आरोप छ । गैँडा मुद्दामा चेपाङ समुदायका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि सो समुदायका अगुवाहरुले चासो देखाएका हुन् । गैँडा मार्ने चेपाङलाई मात्रै नभएर गैँडाको खाग किनबेच गर्ने तस्करहरुलाई पनि गिरफ्तार गर्र्नुपर्ने उनीहरुको माग छ । चितवन निकुञ्जले केही साताअघि मात्रै इन्टरपोलको सहयोग लिएर कुख्यात गैँडा सिकारी राजकुमार चेपाङलाई पक्राउ गरेको थियो । उनले २० वटा गैँडा मारेको, पाँचवटा गैँडा घाइते बनाएको र अन्य थप दुईवटा गैँडाको खाग निकालेर बेचेको स्वीकार गरेका थिए । उनीमाथि १९ मुद्दा दायर भएको छ । तीमध्ये छवटा मुद्दा फैसला भएर प्रत्येक मुद्दामा १५ वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको सजाय तोकिएको छ । नौवटा गैँडा मारेको अभियोगमा २०६७ फागुनमा कोराकका काजीमान चेपाङ समातिए । २०७० भदौमा चितवन खैरहनीका बुद्धिबहादुर चेपाङ १२ वटा खाग काठमाडौँ पु¥याएर तस्करहरुलाई दिएपछि पक्राउ परे ।
चेपाङ अगुवाले राजकुमारलाई समाएर कारबाही गरेको भन्दा पनि खाग किन्ने र बेच्ने को–को समातिए, त्यो अझै मह¤वपूर्ण रहेको जनाएका छन् । राजकुमारलाई अपवाद छाडेर गैँडा सिकारमा चेपाङ परिचालितमात्रै भएकाले निकुञ्ज प्रशासनले परिचालन गर्ने तस्करहरुलाई पनि समाउनु पर्ने जिकिर गरेका छन् । गैँडा मार्नेलाई मात्रै होइन, खागको कारोबार गर्नेलाई पनि पक्रेर कारबाही अगाडि बढाउनेतर्फ सम्बन्धित निकायको अनुसन्धान नमोडिएकोमा चेपाङ समुदाय दुःखी भएका छन् । गैँडा मार्न लगाउनेदेखि आपराधिक गतिविधिमा लाग्न सिकाउने सघाउनेहरुको नाम निकुञ्जले सार्वजनिक गर्नुपर्छ । चितवनको भरतपुरसहित मकवानपुरको भीमफेदी, सुनसरीको झुम्का, पोखरा र वीरगञ्ज कारागारमा गैँडा मुद्दा लागेका चेपाङहरु छन् । तीमध्ये कतिपय निर्दोषसमेत रहेको बताइएको छ । त्यसको समयमै सत्यतथ्य अनुसन्धान गरिनुपर्छ । विभिन्न आपराधिक घटनामा चेपाङ जातिकै संलग्नता देखिनु अशिक्षा र विपन्नता नै हो । यस्ता समुदायलाई संरक्षण शिक्षासहित जीविकोपार्जनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नु जरूरी देखिएको छ ।
Discussion about this post