नवलपरासी । भारतीय पक्षको ढिलाइका कारण सीमा क्षेत्रको संयुक्त अनुगमन कार्य सुचारू हुन सकेको छैन ।
दुई देशका सुरक्षा अधिकारीसहितको सर्वेक्षण टोलीले मार्च ११ (फागुन २७) गतेदेखि नवलपरासीको सुस्ता र कालापानी बाहेक देशका सबै सीमा क्षेत्रमा रहेका स्तम्भहरुको निरीक्षण कार्य सुरू गर्ने जनाएको थियो ।
जसअन्तर्गत नवलपरासी, रूपन्देही र कपिलवस्तुमा रहेको सीमा क्षेत्र निरीक्षणका लागि नापी विभागका उपसचिव निर्मल आचार्यको नेतृत्वमा नेपाली प्राविधिकको टोली सातदिन अघिनै भैरहवा आइसकेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।
भारतीय पक्षको ढिलाइका कारण तीन पटकसम्म निरीक्षणको मिति सारिएको नेपाली पक्षले जनाएको छ । नवलपरासीको पक्लिहवाबाट निरीक्षण कार्य सुरू गरिने जनाए पनि भारतीय पक्षको प्राविधिक टोली आउन ढिला भएकोले काम सुरू हुन नसकेको हो । प्रमुख जिल्ला अधिकारी मैनालीका अनुसार सीमा निरीक्षणका लागि दुई चार दिनभित्र भारतीय प्राविधिकहरुको टोली आएपछि पहिलो चरणको काम सुरू हुनेछ ।
Discussion about this post