–होमनाथ सापकोटा
सौराहा । नेपाल पत्रकार महासंघ र मध्यमाञ्चल क्षेत्रीय समितिले निस्क्रिय पत्रकारहरुको सदस्यता खारेज गर्न जिल्ला शाखाहरुलाई निर्देशन दिएको छ ।
सौराहामा शुक्रबार आयोजना गरिएको मध्यमाञ्चलस्तरीय क्षेत्रीय भेलामा ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै निस्क्रिय सदस्यहरुको सदस्यता खारेज गर्ने प्रक्रिया सुरु गर्न जिल्ला शाखाहरुलाई निर्देशन दिएको हो ।
भेलामा जारी गरिएको घोषणापत्रमा महासंघको सदस्यता शुद्धिकरण अभियानलाई प्रभावकारी बनाई सक्रिय र समाचार देख्ने पत्रकारहरुलाई मात्र महासंघ राख्ने गरी निस्क्रियलाई खारेजी प्रक्रियामा ल्याउन भनिएको छ ।
श्रमजीवी पत्रकारहरूको पेसागत तथा व्यावसायिक हकहितको संरक्षणलाई प्रमुख एजेण्डा बनाई श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न सञ्चारमाध्यम र सरकार संघ माग गरिएको छ । त्यसैगरी घोषणापत्रमा समयमा निर्धारित पारिश्रमिक पाउने गरी नियुक्तिपत्र लिएरमात्र काम गर्न तथा पत्रकारहरूको नियुक्तिपत्र, न्युनतम पारिश्रमिक, समयमै पारिश्रमिक, बिमा, स्वास्थ्योपचार सुविधालगायतका सेवासुविधाको प्रबन्धका लागि राज्यले गम्भीरतापूर्वक पहल गर्न माग गरिएको छ ।
पत्रकारको सुरक्षा, सम्मान र सरोकारका विषयमा महासंघका प्रत्येक जिल्ला, क्षेत्र तथा केन्द्रीय समितिले ठोस पहल गर्न पत्रकार महासंघले घोषणापत्रमार्फत् प्रतिबद्धतासमेत जनाएको छ । घोषणापत्रमा पत्रकारको सीप र दक्षता अभिवृद्धिका लागि जिल्ला शाखाले स्थानीय तहमा जिविस, नगरपालिका तथा अन्य सरकारी र गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गरी पत्रकार प्रशिक्षण अभियान सञ्चालन र पत्रकारको सीप र दक्षता अभिवृद्धि एवम् प्राज्ञिक क्षमता बढाउनका केन्द्रीय तहमा गठन हुन लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको क्षेत्रीय संरचना माध्यमाञ्चल क्षेत्रमा पनि प्रतिष्ठान स्थापना गर्न माग गरिएको छ ।
मध्यमाञ्चल क्षेत्रमा केही समययता विभिन्न बहानामा पत्रकार र सञ्चारमाध्यममाथि भौतिक असुरक्षा र दण्डहीनता बढिरहेकोले महासंघको यो भेला पत्रकारमाथि भएका यस्ता आक्रमणको घोर भत्र्सना गर्दै आगामी दिनमा यस्ता प्रवृत्ति नदोहो¥याउन तथा पत्रकारको भौतिक सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सम्मान व्यक्त गर्न सबै पक्षलाई आग्रह गरिन्छ घोषणपत्रमा उल्लेख छ ।
भेलाले राजनीतिक दलहरूलाई छिटोभन्दा छिटो सहमति गरी नयॉ संविधान जारी गर्न नयाँ मिति घोषणा र संविधान निर्माणमा गम्भीरता देखाउन आग्रह गरेको छ ।
पत्रकार महासंघ चितवन शाखाको संयोजनमा मञ्यमाञ्चल क्षेत्रीय समितिले आयोजना गरेको सो भेलामा मञ्यमाञ्चलका १६ शाखा तथा पत्रकार महासंघका केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको सहभागित रहेको थियो । पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको प्रमुख आतिथ्य एवम् मध्यमाञ्चल क्षेत्रीय समितिका संयोजक शीतल महतोको अध्यक्षतामा भएको सो भेलामा जिल्ला शाखाका अध्यक्षहरुले जिल्ला शाखाहरुले गरेका काम र भावी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।
Discussion about this post