रत्ननगर । पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं १ का सभासद् सुरेन्द्र पाण्डेले विकास निर्माणमा सबैलाई जुट्न आग्रह गर्दै देशको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।
पूर्वी चितवनको खैरहनी–८ पर्सामा रेडक्रस मार्ग ढल, ग्रावेल तथा सडक कालो पत्रेको शिलान्यास कार्यक्रममा बोल्दै सभासद् पाण्डेले विकासलाई प्राथमिकतामा राख्न अनुराध गरेका हुन् । उनले सोही अनुरुप नै आफूले क्षेत्र नं १ मा विकास निर्माणलाई प्राथमिकता राखेको बताए ।
नेता पाण्डेका अनुसार क्षेत्र नं १ मा मात्रै सडक निर्माणका लागि ६० करोडको आयोजना परेको छन् । खैरहनीको गवै बोटेघाट–झुवानी सडक खण्डमा पाँच करोड, पर्सा–कुमरोज–सौराहा सडक खण्डमा पाँच करोड रूपैयाँ, पिप्ले–परेवाकोट सडक खण्ड १० करोड, भण्डारामै १० करोड, शान्तिबजार–कठार–जंगल निस्कने सडक खण्डमा पाँच करोडलगायतको आयोजनाहरु परेका छन् । स्वीकृत भईसकेको यो आयोजना टेण्डरपश्चात् धमाधम निर्माण कार्यसुरू हुने उनले बताए ।
त्यसैगरी शिलान्यास पछि रेडक्रस मार्गमा शुक्रबारदेखि नै ढल, ग्रावेल निर्माण कार्य अघि बढेको छ । ग्रावेल र ढल निर्माणका लागि कूल २७ लाख खर्च लाग्ने सडक निर्माणमा सभासद् पाण्डेले संसद विकास कोषमार्फत १० लाख रूपैयाँ प्रदान गरेको रेडक्रस मार्ग उपभोक्ता समितिका अध्यक्ष रामबहादुर खड्काले बताए । उनले ढल र ग्रावेलपछि कालोपत्रे निर्माण कार्य पनि अघि बढाइने बताए । कालोपत्रेका लागि थप बजेटको स्रोत खोज्न थालिएको अध्यक्ष खड्काले जानकारी दिए ।
सभासद् पाण्डेले सो क्षेत्रमा विकास निर्माणका लागि थप बजेट निकाशाका लागि पहल गर्ने प्रतिवद्वता जनाए । कार्यक्रममा पर्सा साना सहरी खानेपानीका शेरमान तामाङ, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ, उपभोक्ता समितिका टेकराज अधिकारीलगायतले बोलेका थिए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post