शान्ति शर्मा
कस्तो अफसोच, जीवनको परिचय भएको आरम्भ नै अन्धकारबाट सुरू ! आज पनि स्मृतिका ती पानाहरु पल्टाएर हेर्दा मैले धेरैपटक आँसु बहाएकी छु । हो त, मलाई बाबा बितेको दिनदेखिबाट मात्रका सम्झना आउँछ । त्यो दिन मेरो जीवनमा आउने औँसी पक्षका दिनहरुको पहिलो दिन थियो, जुन दिनको मर्म राम्रोसँग बुझ्न नसक्ने अवस्थामा म हुँदा पनि मैले बेहोर्न परेको थियो । यसो त, प्रायः मानिसका जीवनमा यस्ता अँध्यारा पक्षहरु आउने गर्छन्, जो भोग्नेलाई मात्र थाहा हुन्छ । म सानै छँदा मेरा बाबाले परलोकको यात्रा तय गर्नुभयो । बाबाको धमिलो आकृतिसमेत मेरो आँखामा टाँसिन पाएन । मृत्युको अर्थ नबुझेको त्यो अबोध पलले खासै संवेदनशील बनाउन सकेन त्यतिबेला ।
बाबा बित्नुभन्दा अघिल्लो दिन घरमा मान्छेको निकै चहलपहल थियो । पछिमात्र बुझेँ, त्यसदिन व्यथाले बाबालाई निकै च्यापिसकेको रहेछ । पिसाबसम्बन्धी रोग थियो रे । आमाले उपचार गर्न धेरै ठाउँमा पु¥याइसक्नु भएको रे ! तर, त्यो कस्तो ज्याद्रो रोग रहेछ, आखिर बाबालाई लिएरै गयो ।
धेरै मान्छेको आवतजावतले मेरो केटाकेटी मन रमाइरहेको थियो । लाग्थ्यो, घरमा ठूलै कार्यक्रम हुँदैछ । के थाहा हुन्थ्यो र मलाई, ती मानिस त बाबाको अन्तिम बिदाइ गर्न आएका हुन् भन्ने । र, बाबालाई घरको पिँढीमा सुताइएको थियो । आमा बाबाको अनुहार हेर्दै आँखाबाट आँसुका खहरे बगाइरहनु भएको थियो । दाइ–दिदी पनि बाबाको नजिक बसेर निभ्न लागेको बत्तीको जस्तो अनुहार बनाई उहाँलाई हम्किरहनु भएको थियो । म भने आमा अस्ति भर्खरैमात्र ल्याइदिनु भएको नयाँ फ्रक लगाएर आँगनमा फुरफुर पर्दै यताउता गरिरहेँ । घरमा मान्छेहरु आउने–जानेक्रम रातभर चलेछ । म भने मस्तसँग सुतेछु । रात मौन थियो, त्यही मौनतामा उभिएर मेरो कोमल शरीरले उन्मुक्त निद्रा निदाएछ ।
त्यो रातलाई जितेर बिहानपख धरतीमा उज्यालो पोखिँदा मैले बाबालाई आँगनको छेवैमा रहेको तुलसीको मठनजिकै सुताएको देखेँ । आँगनभरि त्यति बिहान मानिस कहाँबाट ओइरिएका होलान्, म छक्क परेँ । मानिसहरु राम्रोसँग बोलेका थिएनन्, न त हाँसेका नै । बेलाबेलामा साह्रै थोरै गुनगुनमात्र बोलेका थिए । धेरैजसो गुनगुनको भाषा बुझिनँ मैले । थोरै बुझेर कुनै अर्थ निकाल्न सकिनँ । आमाले रूँदै कोहोलो हाल्नुभएको एक एउटा वाक्य भने अझै आलै छ, ‘मेरो राजा, मलाई एक्लै छाडेर नजानुस् … हे मेरो राजा….. । मैले एकोहोरो हेरिरहेँ, सबैका आँखा रसिला देखिन्थे । सबै आ–आफ्नै तरिकाले रोइरहेका थिए । त्यो दृश्य देखेर मेरा आँखा पनि रसाएर आँसुका थोपा ढिकाढिका बनेर कोमल गालाको स्पर्श गर्दै शग्न थाले । तर, मैले बाबाको त्यो प्राणपखेरू उडेको पत्तै पाइनँ । बाबा बितेको दुःखभन्दा पनि सायद्, सबै रोएको दृश्यले म रोएँ । म रोएको देखेर नरोएकाहरु पनि रोए । त्यो एकोहोरो रूवावासीका माझमा मैले गरेको घुँक्कघुँक्क त कता हरायो कता हरायो । म भक्कानिन थालेँ ।
आमा बाबाको छातीमा टाउको राखेर अर्धचेत अवस्थामा रोइरहनु भएको थियो । आमाका हातभरि राता चुरा अनि शरीरमा रातो सुतीको साडी सजिएको थियो । वरिपरि छरछिमेकी, आफन्त, शुभचिन्तक आदि रमिते बनेर उभिएका थिए । म पनि त्यसै घुइँचोलाई चिरेर घरी बुबाको मृत शरीर अनि घरी आमाको मूच्र्छित देह नियाल्दै थिएँ । बाबा मस्तसँग निदाएजस्तै गरी लडिरहनु भएको थियो भने आमा निदाएको बाबालाई ब्युँझाउन खोजेझैँ घचघच्याउँदै हुनुहुन्थ्यो । एक किसिमको असाधारण दृश्य नियालिरहेका थिए, मेरा कोमल आँखाले । आमा धेरै रूँदा मलाई असह्य भइसकेको थियो । म आमाको नजिकै बसेँ, तर मलाई आमालाई छुनसमेत दिएनन् ।
उफ ! केहीबेरपछि बाबालाई सेतो कपडाले ढाके, अनि बाँसले बनाएको भ¥याङजस्तै देखिने सामानमाथि सुताए । दाजुले त्यसलाई काँधमा राख्नुभयो । अगाडि दाजु हुनुहुन्थ्यो, पछाडि को थियो विस्मृतिमा नै रह्यो । बोकेर कहिल्यै नफर्कने बाटोबाट मिदिम भन्ने नदीतिर लगे ।
एकैछिनपछि आमालाई पनि खै क–कसले हो समातेर खोलातिर डो¥याउँदै लगे । केहीबेरपछि तिनीहरुले त आमालाई विरुप पारेर पो ल्याएछन् । मामा भन्नुहुन्थ्यो, ओखर फोरेझैँ एकैचोटि आमाका नारीभरिका चुरा झ¥याम्म फोरिए रे, अनि सिउँदोमा कुनै धारिलो वस्तुले काटेर निस्केको रगतसरी सिंदूर पखालियो रे । अघि लगाएको साडी गुटुमुटु पारी खोलामा बगाएर सेतो पहिरनमा उजाड देह बनाई घरमा ल्याए ।
मलाई भने उनीहरुदेखि के साह्रो रिस उठ्यो भने बाबा पो बित्नुभएको त, त्यसको सजाय आमाले किन भोग्नुपर्ने ? के आमा नारी भएकै कारण यो सब भोग्नुपर्ने हो ? यी प्रश्न मेरो अबोध मस्तिष्कमा खेल्न थाले । म सारै दुःखित भएँ । बाबा बितेको घटनाले भन्दा पनि आमाको रुपै बिग्रने गरी गराइएको त्यो पहिरनले मलाई पीडित बनायो । सोचेँ, म ठूलो भएपछि आमालाई त्यस्तो लुगा लगाउन दिनेछैन, अनि विरोध गर्नेछु यो अन्धविश्वास र कुरीतिको । जसले गर्दा मेरी आमाको नैसर्गिक अधिकार खोसिएको थियो । राता कपडा अनि चुरा त आमाले बाबासँग बिहे गर्नुभन्दा अगाडि नै लगाउनुभएको हो नि । बाबाले आमालाई दिनुभएको त खालि सिउँदोको सिंदूर अनि गलाको पोतेमात्र त हो नि, त्यतिमात्र खोसे हुने नि । किन पूरै शरीर उजाड पारेका होलान् ! यिनै प्रश्नले मलाई भित्रभित्रै कोपर्न थाले । म नराम्रोसँग पिरोलिन थालेँ ।
केहीबेरपछि बाबालाई लिएर गएका मानिसहरु फर्कन थाले । सबैलाई एकाएक गरी नियाल्दै गएँ । उफ ! फेरि दाजु पनि उस्तै विरुप बनेर आउनुभयो । एकछिन अगाडि टाउकोमा भएको कपाल सबै खुइल्याएर मुडुलो टाउको अनि कपडाको नाममा एउटा सेतो धोती र खाली खुट्टा । त्यसैगरी, हातमा चरेसको अम्खोरा । दाजुलाई देखेर मेरो आङ सिरिङ्ग भयो, तर बोल्न सक्ने हिम्मत भएन । बाबा बितेपछि दाजुले हामीलाई सम्झाउँदै भन्नुभएको थियो– तिमीहरुको बाबा भने पनि दाइ भने पनि म नै हुँ । म तिमीहरुलाई कहिल्यै दुःख दिनेछैन, यो मेरो वाचा भयो ।
हो, त्यस दिनदेखि मलाई अब हाम्रो सर्वस्व भनेको नै दाजु हुनुहुन्छ भन्ने लाग्यो । बाबा बितेको दिनदेखि नै मैले दाजुलाई सर्बेसर्वाको रुपमा हेर्न थालेँ । बाबा बितेको दिनदेखि नै मेरो जीवनका अतीतका पलहरुको सम्झना रहन थाल्यो । त्यो दिन नै मेरा लागि दुःखद ऐतिहासिक दिनका रुपमा मानसपटलमा रह्यो, जुनदिन मैले यस धरतीमा अवतरण गराउने दुई ईश्वरमध्ये एकलाई गुमाएकी थिएँ । जसको वास्तविक रुप यस्तै थियो भनेर सम्झने शक्ति ममा रहेन ।
Discussion about this post