–होमनाथ सापकोटा
सौराहा । नेपालका निकुञ्ज र आरक्षमा वासस्थान विनास हुँदै गएपछि पक्षी प्रजातिको दुर्लभ खरमजुर अति संकटापन्न अवस्थामा पुगेको छ ।
समयमै संरक्षणमा ध्यान जान नसकेका कारण संख्या घटदै गएकाले यो चरा संकटापन्न अवस्थामा पुगेको हो । सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा नेपालका निकुञ्ज र आरक्षमा यसको संख्या जम्मा ४१ वटा रहेको थियो ।
संरक्षित क्षेत्रको हिसावले अब्बल मानिएको चितवन राष्ट्रिय निकुञ्जमा यसको संख्या जम्मा ५ रहेको छ । गणनामा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ९ र कोशीटप्पु वन्यजन्तु आरक्षमा २७ वटा देखिएका थिए ।
वन्यजन्तु र चरा प्रजातिको बासस्थानको सूचक र पर्यटकीय हिसावले यो चरा मह¤वपूर्ण मानिने गरेको छ । चरा अवलोकन गर्दा नगण्य मात्रामा देखापर्ने यो चार गणनापछि घटेको हुनसक्ने चराविज्ञहरुले अनुमान गरेका छन् ।
चरा संरक्षणको हिसावले मह¤पूर्ण मानिएकाले सरकारीस्तरबाट पनि यसको संरक्षण प्रयास थालिएको छ । खरमजुरको संरक्षणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र नेपाल पक्षी संरक्षण संघले संरक्षणको काम थालेका छन् ।
‘के कारणले लोप भएको हो त्यसको अध्ययन गर्ने काम भएको छ’, नेपाल पक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत तथा चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत डा.नरेन्द्रमान प्रधानले भने, ‘लोप हुनुको कारण पत्ता लगाएर संरक्षणको काम सुरू गरिने छ ।’
खरमुजुरको अवस्था र संरक्षणको लागि गर्नुपर्ने कामको विषयमा देशभरका विज्ञहरु बिहीबार सौराहामा भेला भएर छलफलसमेत गरेका छन् । यो चराको संरक्षण गर्न सकिएन भने नेपालका अन्य चराहरुको अवस्था पनि संकटापन्न अवस्थामा पुग्न सक्ने भएकाले त्यसको लागि सामूहिक प्रयास आवश्यक रहेको उनले बताए ।
उनले प्रारम्भिक अनुसन्धानले बासस्थान विनासका कारण प्रजनन्मा समस्या आएपछि यसको संख्या क्रमिक रुपले घटदै गएको बताए ।
कार्यक्रममा चराविज्ञ टीका गिरीले वासस्थान विनासले नभई परिर्वतनका कारणले खरमजुरको संख्या घटेको बताए । निकुञ्ज र आरक्षमा सिरू भएको ठाउँमा डण्डी उम्रिएकाले खरमुजुरको वासस्थान परिर्वतन भएको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा र कोशीटप्पु वन्यजन्तु आरक्ष खरमजुरको प्रमुख बासस्थान भएका संरक्षित क्षेत्र हुन् । यी तीनवटै संरक्षित क्षेत्रमा खरमजुरको उपयुक्त बासस्थान परिर्वतन हुँदै गएकाले पहिलेकै अवस्थामा फर्काउन जरुरी रहेको उनले बताए ।
चरा अनुगमनको क्रममा २ वर्षअघि शुक्लाफाँटामा ४ वटा, चितवनमा तीन वर्षअघि तीनवटा र कोशीमा पनि मुस्किलले देखिने भएकाले यसको संख्यामा कमी आएको अड्कल गरिएको गिरीले बताए ।
कार्यक्रममा नेपाल पक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान प्रधानले खरमजुरको संरक्षणको लागि गर्नुपर्ने प्रयास र संघका संरक्षण अधिकृत जोतेन्द्र ठकुरीले वर्तमान अवस्थाका बारेमा सहजीकरण गरेका थिए ।
संरक्षणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था आईयूसीएनका नेपाल प्रतिनिधि डा. एम मल्लको प्रमुख आतिथ्य एवम् चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको अध्यक्षतामा भएकोे कार्यक्रममा विभागका इकोलोजिष्ट गोपालप्रकाश भट्टराईले खरमजुरको संरक्षणको लागि सरकारी स्तरबाट गर्न सकिने सबै काम र प्रयास गरिने बताए ।
नेपालमा ८७१ प्रजातिको चरा रहेका छन् । चितवनमा भने ६२६ प्रजातिका चरा रहेको तथ्यांक छ । दुई महिनाअघि चितवनका विभिन्न स्थानमा गरिएको चरा गणनामा चितवनमा ५ प्रजाति जलचर चरा घटेको बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष बासु बिडारीले बताए ।
Discussion about this post