बसन्त पराजुली
कसरा । दुर्लभ जलचर घडियाल गोही संरक्षण गर्नको लागि करोडौ रूपैयाँ खर्च गरिए पनि त्यो प्रभावकारी हुन सकेको छैन । घडियालको संख्या नदीहरुमा घट्दै गएपछि त्यसका लागि गरिएको लगानी वालुवामा पानी भएको छ । घडियालको संरक्षण गर्न स्थापित घडियाल प्रजनन् केन्द्रमा हुर्काएका गोहीलाई नदीहरुमा छोडिए पनि त्यसको संरक्षण प्रभावकारी नहँुदा गोहीमा गरिएको लगानी हावासरी त्यसै उडेको छ ।
‘नदीमा छोडिएका गोहीहरु अहिले धेरै कम मात्रमा नदीमा भेटिएका छन्’ एक संरक्षणकर्मीले भने, ‘गोहीको संरक्षणका लागि गरिएको लगानी वास्तवमै बालुवामा पानी भएको कुरामा कसैको दुई मत छैन ।’ पछिल्लो पटक घडियाल गोही प्रजनन् केन्द्र कसरामा हुर्काएका १३ गोही गत हप्ताको बुधबार मात्रै राप्ती नदीमा छोडिएको थियो ।
राप्तीको डुमरियाबाट गोही छाडिएको हो । राप्तीसहितका नेपालका नदीहरुमा केन्द्रले छोडेको योसहित एक हजार ३१ गोही पुगेको छ । नदीमा छोडिएका गोहीमध्ये अहिले ज्यादै कम मात्रामा फेला परेको यस क्षेत्रमा अध्ययनकर्ताहरु बताउँछन् ।
गएको वर्ष गरिएको जलचर गणनामा पनि नेपालमा प्राकृतिक रुपमै सयभन्दा माथि गोही रहेको बताइएको थियो । ‘गोही पाइने मुख्य नदी भनेका नारायणी र राप्ती हुन् । यी दुई नदीमा अहिले सयका हाराहारीमा मात्रै गोही छन्’ प्रजनन् केन्द्रका प्रमुख बेदबहादुर खड्काले भने ‘हाम्रा नदीहरु जलचरका लागि उपयुक्त नहुँदा समस्या आएको हो ।’
नदीहरुमा हुने बढ्दो प्रदुषण नै गोहीको प्रमुख समस्या हो । नदीहरुको बहाबसँगै भारतमा पुगेका गोहीहरु पुनः नेपालतर्फ फर्कन नसक्नु पनि प्राकृतिक रुपमा नेपालमा गोहीको संख्या नबढ्नुको दोस्रो कारण हो । सन् १९९० मा भारतको पटनामा नेपालको रेडियो कलर भएको गोही भेटिँदा अमेरिकाले जासुसी छाड्यो भनेर हल्ला फैलाएको स्मरण गर्दै खड्काले भने ‘माछा मार्ने माझीले फेला पारेको गोहीमा लगाइएको रेडियो कलरको मेड इन यूएसए लेखिएको भेटिएपछि भारतमा त्यसलाई लिएर ठूलै हंगामा भयो । तर त्यो नेपालबाट छाडिएको गोही त्यता पुगेको थियो ।’
२०७० को मंसिरमा प्रजनन् केन्द्रले छाडेको गोही पनि भारतमै भेटिएको बताइन्छ । ‘अहिले पनि हामीले छाडेका ५० भन्दा बढी गोही भारतका नदीहरुमा छन्’, खड्काले भने, ‘नेपाल भारतको सिमानामा रहेको गण्डक व्यारेकमा हाइ करेन्ट भोल्टेज छ । यताबाट बगेर भारत गएको गोही सहजै फर्कन सक्दैन ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुँवरका अनुसार गोही प्रजनन् केन्द्रमा अहिले वार्षिक २० लाख रूपैयाँदेखि २५ लाख रूपैयाँसम्म खर्च भएको छ । यो रकममध्ये २५ प्रतिशत नेपाल सरकारको र २५ प्रतिशत विश्व वन्यजन्तु कोषले गरेको सहयोग हो । बाँकी ५० प्रतिशत रकम प्रजनन् केन्द्रमा घुम्न आउने पर्यटकबाट जम्मा गरिएको हो । तर अहिले गोही संरक्षण गर्ने उद्देश्यले प्रजनन् केन्द्रमा गरिएको खर्चको प्रभावकारिताका बारेमा पनि प्रश्न उठेको छ ।
‘प्रजनन् केन्द्रको काम गोही अण्डा संकलन गर्ने अनि अण्डाबाट गोही कोरलेर त्यसलाई हुर्काइ नदीमा छाड्ने हो । त्यसमा केन्द्र सफल छ’ प्रमुख संरक्षण अधिकृत कुँवरले भने, ‘नदीलाई प्रदुषण मुक्त बनाउने र भारत जानबाट रोक्नेतर्फ अब सरोकार निकायहरुको ध्यान जानु जरूरी छ ।’
घडियाल गोही दुर्लभ जलचरमा पर्छ । नदीहरुमा यसको संख्या लोभ हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरानजिकै प्रजनन् केन्द्र स्थापना गरेर यसको संरक्षणमा लागिएको हो ।
सन् १९७८ (वि.स. २०३५) मा स्थापना भएको प्रजनन केन्द्रले नेपालमा सन् १९८१ देखि गोही नदीहरुमा छोड्न लागेको हो । हालसम्म केन्द्रले एक हजार २३ गोही देशका विभिन्न नदीहरुमा छोडेको छ । तर नदीहरुमा बढ्दो प्रदुषणले पनि यहाँ गोही बाँच्न गाह्रो छ । नेपालमा राप्ती, नारायणी, कोशी, कर्णाली र बबईमा घडियाल रहेका छन् । तर पछिल्लो समय नदीहरुमा बढ्दो प्रदुषणले घडियाल समस्यामा परेका छन् ।
Discussion about this post