–होमनाथ सापकोटा
रत्ननगर । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको आलोचना गरेका छन् । नेपाल बार एशोसिएसनको १३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत न्यायपालिका, कानुन व्यवसाय र कानुन सहायता विषयमा छलफल गर्दै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सर्वेसर्वा मान्ने गरिएका कारण न्याय सम्पादनमा समस्या आएको बताएका थिए ।
प्रधानन्यायाधीश र न्यायाधीशले गरेका निर्णय अन्तिम निर्णय मान्ने गरिएका कारण न्यायालयप्रति जनविश्वास घटदै गएको भन्दै उनीहरुले प्रधानन्यायाधीश र न्यायाधीशले गरेको निर्णय पनि पुनर्विचार गर्न पाउने व्यवस्था नयाँ संविधानमा गर्नुपर्ने बताएका थिए ।
कानुन व्यवसायीहरुले मुलुकमा भष्टाचार उन्मुलनको लागि प्रधानन्यायाधीशको सम्पत्ति पनि छानबिन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अधिवक्ता रत्नलक्ष्मी श्रेष्ठले नेपालको कानुनले प्रधानन्यायाधीशलाई सबै अधिकार दिएकाले न्याय सम्पादनमा कमजोरी हुने गरेको बताइन् ।
उनले प्रधानन्यायाधीशलाई राजा बनाउन खोजिएको आरोपसमेत लगाइन् । प्रधानन्यायाधीश राजा होइनन्, उनले भनिन्, राजा बनाउन खोज्दा नेपालको न्याय प्रणालीमै असर पुगेको छ । उनले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिमा राजनीतीकरण हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताइन् । उनले उपसचिवहरुलाई राजनीतिक नियुक्ति गरेर प्रधानन्यायाधीश र न्यायाधीशहरु बनाउँदा कानुन व्यवसायीहरुले त्यो अवसरबाट बञ्चित हुने गरेको बताइन् ।
कार्यक्रममा मुरारी सापकोटाले सर्वोच्च अदालतले गरेको निर्णय सर्वेसर्वा हुने गरेका कारण न्यायालयप्रति जनविश्वास गुमेको बताए । उनले सर्वोच्च अदालतले गरेको निर्णय जाँचबुझ र पुनर्विचार गर्न पाउनुपर्ने व्यवस्था नयाँ संविधानमा हुनुपर्नेमा जोड दिए । अधिवक्ता लीला श्रेष्ठले फास्ट ट्रयाकको बाटोबाट न्याय सम्पादन गर्दा छिटो हुने भए पनि न्यायको निरुपण नहुने सम्भावना बढेकाले पनि यसको विषयमा छलफल हुन जरुरी रहेको बताए ।
सम्मेलनमा शुक्रबार बिहानैदेखि समूह विभाजन गरी विभिन्न कार्यपत्रमाथि छलफल गरिएको थियो । पाँच वटा समूह बनाएर ९३ वटा विषयमा छलफल गरिएको नेपाल बार एशोसिएसनका महासचिव सुनिलकुमार पोखरेलले जानकारी दिए ।
सम्मेलनले संविधानसभामार्फत् नयाँ संविधानसभाका लागि ठोस अवधारणा प्रस्तुत गर्ने भएकाले वर्तमान गतिरोध अन्त्यका लागि सहयोग पुग्ने उनले बताए । सम्मेलनमा देशभरका ३ हजारभन्दा बढी कानुन व्यवसायी, ल एसियाका अध्यक्ष, आईबीएका प्रतिनिधि, नेपालका लागि विभिन्न देशका राजदूत, न्यायाधीशहरुलगायत कानुन र न्यायका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको नेपाल बार एशोसिएसन चितवनका अध्यक्ष चुडामणि सापकोटाले जानकारी दिए ।
Discussion about this post