नेपालमा पशुपक्षीको बलि दिने कुप्रथा विद्यमान रुपमा चल्दै आएको छ । एक्काइसौँ शताब्दीमा आएर पनि प्राणी हत्या गरेर देवीदेवता खुसी हुन्छन् भन्ने भ्रम पाल्नु मूर्खतामात्र हो । हाम्रा संस्कृति तथा चाडपर्व नै बलि प्रथालाई निरन्तरता दिने खालका छन् । तर, देवीदेवताको नाममा समर्पित गरेर जीवजन्तु तथा पक्षीको वध गर्नु मानिसको स्वार्थबाहेक अरु केही हुन सक्दैन । आज शुक्रबारदेखि कसरामा विक्रम बाबाको पूजा सुरू हुँदैछ । विशेषगरी, थारु समुदायले पूजा गर्ने विक्रम बाबामा पछिल्लो समय अन्य समुदायको पनि उत्तिकै आकर्षण बढ्ने गरेको छ । विक्रम बाबाको पूजाअर्चना गर्दा परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुनेजस्ता विश्वास गरिँदै आइएको छ । त्यसैले, हरेक वर्ष मेलाकै रुपमा विक्रम बाबाका दर्शनार्थीहरु कसरा पुग्ने गर्दछन् । विक्रम बाबाको भाकल पूरा भएपछि निकुञ्जभित्र पूजाआजासहित बलि दिने तथा दसैँ मनाउन पनि पशुपक्षीको वध गरिने प्रचलन छ । आस्था र विश्वासका साथ बाबाको दर्शन गरिनु राम्रो कुरा हो । तर, बाबाको नाममा बलि दिनुचाहिँ न्यायसंगत हुन सक्दैन ।
बदलिँदो परिवेश र जनचाहनाअनुसार परिष्कृत र परिमार्जित किसिमले चाडपर्व मनाउनु उत्तम हुन्छ । यसपटक विक्रम बाबाको पूजास्थलमा बलि नियन्त्रण गर्न निकुञ्ज प्रशासनले आग्रह गरेको छ । उसले पशुपक्षीको साटो नरिवल, फलफूल तथा धूप बालेर पूजा गर्न अपिल गरेको छ । वन तथा वन्यजन्तु संरक्षण गर्ने निकायबाट यस्तो आग्रह आउनु पक्कै पनि स्वागतयोग्य कुरा हो । निकुञ्जमा विभिन्न जीवजन्तु तथा पक्षी संरक्षित छन् । बाहिरबाट जनावर तथा पक्षी लैजाँदा रोग सर्ने सम्भावनामात्र होइन, वातावरण प्रदूषणसमेत हुन्छ । त्यसमा पनि बलि दिने प्रचलन आफैँमा कुप्रथा हो । मानिस शाकाहारी हुनु वा मांसाहारी हुनु उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर, मठमन्दिर, सार्वजनिक स्थलहरुमा बलि चढाउनु उचित कार्य होइन, यसको विकल्प खोजिनुपर्छ ।
हाम्रा हरेक पर्व तथा संस्कृतिहरु समयअनुसार संशोधित हुनुपर्ने अवस्था छ । पर्व मनाउँदा व्यक्तिगतभन्दा सामूहिक स्वार्थलाई ख्याल गरिनुपर्छ । हाम्रा पर्वहरुलाई व्यवस्थित, परिष्कृत र संरक्षित गर्नका लागि यसभित्रका गलत कुराहरुलाई हटाउनुपर्छ । राज्यबाट विभिन्न शक्तिपीठमा बलि दिइने नीति पनि तत्काल संशोधन हुनुपर्छ । विक्रम बाबाको पूजास्थलमा बलि नियन्त्रण गर्न निकुञ्ज प्रशासन, उपभोक्ता समिति तथा नेपाली सेनाले सुरू गरेको अभियान सकारात्मक छ । यसलाई सबैले आत्मसात् गर्ने हो भने विक्रम बाबामा हिजो बोका चढाउनेहरुले नरिवल फुटाउन थाल्नेछन् । देवीदेवताका नाममा पशुबलि दिनु कुसंस्कार हो भन्ने कुरा भावीपिँढीले पनि मनन् गर्न सक्नेछन् । आज विश्वभर पशु अधिकारको चर्चा चलेको छ । धार्मिक तथा सार्वजनिक स्थलमा पशुबलि रोक्न विभिन्न संघसंस्थाले सचेतनामूलक अभियानहरु पनि गर्दै आएका छन् । चाडपर्वलाई सभ्य र मर्यादित ढंगले मनाउँदा उत्साह झनै बढ्छ । त्यसैले, पशुबलि आजैबाट अन्त्य गरौँ ।
Discussion about this post