कसरा । विक्रम बाबामा भोलि शुक्रबारदेखि पुजा सुरू हुँदैछ । कसरानजिकको जंगलमा लाग्ने पूजामा दिइने बढ्दो बलीलाई निकुञ्ज प्रशासनले नियन्त्रण गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले घरपालुवा पशु, पक्षीको साटो नरिवल फलफूल र धूप ल्याउन अपिल गरेका छन् ।
चैते दसैंको अवसरमा विक्रम बाबामा १५ दिनसम्म पूजा हुन्छ । विशेष गरेर थारू समुदायले पूजा गर्ने विक्रम बाबामा पछिल्लो समय अन्य समुदायको आकर्षण पनि ह्वात्तै बढेको छ । जसका कारण बलीलाई व्यवस्थित गर्न आवश्यक भएको निकुञ्जले जनाएको छ ।
‘विक्रम बाबामा भक्तजनहरु बढ्नुका साथै पशुबली पनि बढेको छ । जुन भयावह अवस्थामा पुग्ने देखिएकाले यसको नियन्त्रणका लागि प्रयास गरिएको हो’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सकेसम्म बली रोक्ने र नभए पनि एक दिनमात्रै बली दिने प्रचलन ल्याउन प्रयास थालिने कुँवरले बताए ।
त्यस्तै, निकुञ्ज क्षेत्रभित्र रहेको बली दिने मौलोलाई निकुञ्ज बाहिर विधि पु¥याएर मध्यवर्ती क्षेत्रमा सार्न प्रयास गर्ने कुँवरले बताए । विक्रम बाबामा मेला लाग्नेभन्दा पनि पूजा गर्नेहरु आउने भएकाले मेलाको रुपमा प्रचार प्रसार नगर्न र नबुझ्न प्रमुख संरक्षण अधिकृत कुँवरले सर्वसाधरणलाई अपिल गरेका छन् ।
निकुञ्जभित्र जनावर संरक्षणका क्रियाकलाप हुनु पर्नेमा बली चढाउनु ठीक होइन । सबै प्रकारका जीवजन्तु, वनस्पति पूर्ण रुपमा छुट्टाइएको क्षेत्र निकुञ्जमा पशुपक्षीको बली सुहाउने खालको क्रियाकलाप होइन भन्नेमा कसैको बिमति नरहँला’ विज्ञप्तिमा उल्लेख छ । निकुञ्जभित्र जनावर र पक्षी लैजाँदा रोग सर्ने सम्भावनासमेत रहेको कुँवर बताउँछन् ।
निकुञ्ज प्रशासनले पूजाका लागि शुक्रबारदेखि चैत २१ गते शनिबारसम्मका लागि विक्रम बाबा जान पाइने जनाएको छ । पूजाका लागि बिहान साढे छ बजेदेखि साँझ पाँच बजेसम्म समय दिइएको छ । त्यस्तै पूजा स्थलमा प्लाष्टिकका झोला लैजान बन्देज लगाएको पनि विज्ञप्तिमा जनाइएको छ ।
बलीका लागि ल्याइने पशुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको पनि प्रमुख कुँवरले जानकारी दिए ।
‘बलीलाई नियन्त्रण गर्दै निर्मुल गराउने हाम्रो योजना हो । सबै भक्तजनहरुलाई विक्रम बाबा आउँदा बली दिनका लागि पशुपक्षी नल्याइ नरिवल, फलफूल ल्याएर आउन अनुरोध छ’ कुँवरले भने ।
निकुञ्जभित्र रहेको विक्रमबाबाको थानमा पुजा गरेपछि नजिकैको घैलाघारी क्षेत्रमा पिकनिक खाने प्रचलन छ । त्यहाँ मदिरा खाने क्रम बढेकाले त्यसलाई पनि नियन्त्रण गर्न लागेको प्रमुख संरक्षण अधिकृत कुँवरले बताए । निकुञ्ज प्रशासन, पटिहानी र केरूङ्गा मध्यवर्ती उपभोक्ता समिति र नेपाली सेनाको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।
Discussion about this post