परासी । नवलपरासीमा प्रहरीले बुधबार दुई भारतीयसहित तीनजना कुखुराको चल्लाका कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरी नायब उपरीक्षक सोम थापाको नेतृृत्वमा खटिएको प्रहरी टोलीले नवलपरासीको जहदा–८ भटौलियाबाट करिब छ हजार भारतीय अवैध चल्लासहित तीन कारोबारीलाई पक्राउ गरेको डिएसपी थापाले बताए ।
पक्राउ पर्नेमा चल्ला कारोबारी भारत महाराजगञ्ज ठुठीबारी बस्ने वर्ष ४५ को कासिम अली, सोही ठाउँ बस्ने वर्ष २५ का सूर्यमान सहानी र नेपालको नवलपरासी रमपुरवा–६ बस्ने २१ वर्षीय दीपेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।
भारतीय बजारबाट नेपालमा प्रतिबन्ध लगाइएको करिब सात लाख रुपैयाँ मूल्यबराबरको कुखुराका चल्लासहित कारोबारीलाई प्रहरीले पक्राउ गरेको थियो । बरामद चल्ला क्वारेन्टाइन चेकपोस्ट महेशपुरको रोहबरमा झरही खोलामा नष्ट गरिएको छ । कारोबारीलाई थप अनुसन्धानका लागि क्वारेन्टाइनलाई जिम्मा लगाइएको प्रहरी कार्यालयले जनाएको छ । रासस
Discussion about this post