–केशव अधिकारी
धादिङ । बसपार्क व्यवस्थित गरिनुपर्ने माग राख्दै स्थानीयले चार दिनअघि बन्द गराएको सदरमुकाम धादिङवेसीको एकमात्र बसपार्क अझै खुल्न सकेको छैन । बिग्रिएर कामै नलाग्ने भएका सवारीसाधनहरु थन्क्याएर राख्ने र फोहोर फाल्ने ठाउँको रुपमा मात्र बसपार्कको प्रयोग भएको भन्दै स्थानीयले आइतबार बिहानदेखि बसपार्क बन्द गराएका हुन् ।
बसपार्क रहेको धादिङबेसी पुछारबजार क्षेत्रका बासिन्दाले बसपार्क व्यवस्थित रुपमा संचालन गर्न स्थानीय प्रशासनलाई पटकपटक आग्रह गरे पनि कुनै पहल नभएको भन्दै बसपार्क व्यवस्थापनको लागि बसपार्क बनाउन निःशुल्क जग्गा दिएका जग्गादाताहरु र बसपार्क आसपासका स्थानीयहरु आन्दोलित भएका हुन् ।
जिल्लाकै एकमात्र बसपार्क व्यवस्थित बनाउन माग गर्दै बसपार्क निर्माणको लागि निःशुल्क जग्गा दिएकाहरुले आइतबारदेखि अनिश्चितकालीन बसपार्क बन्द गराएका हुन् । सदरमुकामका विभिन्न सार्वजनिक स्थलमा राखिएका बस काउण्टरहरु हटाएर बसपार्कमा मात्रै टिकट काउण्टर राखी सवारी संचालन गराउनेपर्ने माग जग्गादाताहरुको छ ।
आफ्नो माग पूरा नभएसम्म सवारीसाधनलाई बसपार्क प्रवेशमा रोक लगाइएको उनीहरुको भनाइ छ । बजारमा बढ्दै गएको जनचापलाई ध्यानमा राखी व्यस्त बजारमा बस काउण्टर राख्न नहुने ठहर गर्दै स्थानीय प्रशासनले बसपार्कभित्रबाट मात्रै टिकट काटेर सवारी संचालन गर्नुपर्ने बताए पनि आफ्नो निर्णय कार्यान्वयन गराउन नसक्दा समस्या बढेको हो ।
बसपार्कको व्यवस्थापनमा कुनै पनि निकायले चासो नदिँदा पुराना भएर थन्किएका राख्ने ठाउँको रुपमा बसापर्क प्रयोग भएको स्थानीयको गुनासो छ ।
तत्कालीन नगर विकास समितिसँगको सम्झौतापछि स्थानीय ९ जनाले १० करोड बराबरको ६ रोपनी ९ आना ३ पैसा साढे ३ दाम जग्गा निःशुल्क प्रदान गरेको जग्गादातामध्येका एक चेतनारायण श्रेष्ठले बताए ।
२०५४ सालमा नै बसपार्क व्यवस्थित बनाउनको लागि भनेर आफूहरुले निःशुल्क जग्गा प्रदान गरेको भए पनि हालसम्म नगर विकास समिति, स्थानीय प्रशासन र यातायात व्यवसायी संस्था र व्यवसायीहरुले पुरानो सम्झौता कार्यान्वयन गर्नुको साटो बेवास्ता गर्दै आएकाले आफूहरुले बाध्य भएर बसपार्क बन्द गराएको जग्गादाता कुलप्रसाद ढकालले बताए ।
बजार क्षेत्रका विभिन्न स्थानमा रहेका काउण्टरलाई बसपार्कमा स्थानान्तरण गरी सबै सवारीसाधन बसपार्कबाट संचालन गर्ने विषयमा पटकपटक सरोकारवालाहरुबीच छलफल र निर्णय भएकाले पुरानो निर्णय कार्यान्वयन गराउन कडा पहल गरिने धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
सदरमुकामबाट बाहिरिने लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनहरु बसपार्कभित्रबाट मात्रै संचालन गरी बसपार्क व्यवस्थित गरिने अन्यथा जग्गा फिर्ता गराउने सर्तमा आफूहरुले जग्गा दिएकाले शर्त लागू नभए जग्गा फिर्ता लिने जग्गादाताहरुले बताएका छन् ।
बसपार्क व्यवस्थित गराउन पटकपटक आन्दोलन गर्दै आइरहेका बसपार्कका स्थानीयले जिल्लाबाट संचालित धादिङ यातायात, ग्रामीण यातायात, धादिङ माइक्रो बस, संयुक्त यातायातबाट छुट्ने सबै प्रकारका यातायातका साधनहरु बसपार्कमा राख्ने र सार्वजनिक स्थल, होटलहरुमा टिकट काट्न बन्द गराउने शर्तमा आन्दोलन स्थगित गराउँदै आएका छन् ।
पहिले गरेको सर्तहरु पालना नभएको भन्दै यसपटक फेरि बसपार्क अनिश्चितकालीन रुपमा बन्द गराइएको हो । स्थानीयले बसपार्कको मुख्य प्रवेशद्वारमा अवरोध गराएर बाटो छेकेका छन् ।
यसअघि २०७० साउनमा पनि जग्गादाताहरुले बसपार्क बन्द गराएपछि बसपार्कमा रहेका टिकट काउण्टरहरुलाई पूर्ण रुपले व्यवस्थित गराएर यातायातका साधनहरु बसपार्क केन्द्रित गराउने निर्णय सरोकारवाला निकायबीच भएको थियो ।
धादिङबेसी पुछारबजारको बसपार्क । फोटो पनि छ ।
Discussion about this post