केही वर्षयता राजमार्गछेउमा छासछासती होटलहरु खुले पनि सरसफाइ र खाद्य गुणस्तरका दृष्टिले कमै होटलमात्र उत्तम रहेको अनुगमनका क्रममा भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा नारायणगढका नाम चलेका होटलहरुले समेत गुणस्तर कायम गर्न नसकेको पाइएको छ । आइतबार नारायणगढ क्षेत्रका ७० वटा होटलमा गरिएको अनुगमनमा ६ वटामात्रै उत्तम ठहरिनु लाजमर्दो कुरा हो । विभागले दुई वर्षअघिदेखि चितवनका होटलहरुको अनुगमन गर्दै आएको छ । हालसम्म चार सय होटलमा गरिएको अनुगमनका क्रममा ३६ होटलमात्र उत्तम रहेको पाइएका छन् । उत्तम होटलहरुलाई विभागले हरियो स्टिकर प्रदान गर्दै आएको छ । विभागले २० वटा विषयलाई आधार मानेर होटलहरुको स्तर निर्धारण गर्दै आएको छ । अनुगमन गरिएका होटलमध्ये सुधार गर्नुपर्ने, बढी सुधार गर्नुपर्ने र बन्द गर्नुपर्ने स्तरका पनि छन् । राजमार्ग क्षेत्रमा होटललाई सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन हुँदै आए पनि दुई वर्षसम्म पनि सन्तोषजनक उपलब्धि हासिल नहुनु चिन्ताको विषय हो ।
चितवनमा प्रायः यात्रुको बढी चाप हुने नारायणगढ, रामनगर, मुग्लिन, जुगेडीजस्ता क्षेत्रमा ग्राहकले खानामा गुणस्तर नभएको र चर्को मूल्य तिर्नु परेको गुनासो गरेपछि निरन्तर रुपमा अनुगमन गर्न थालिएको हो । यसअघि समितिले रामनगर, मुग्लिन र जुगेडी क्षेत्रका होटलको अनुगमनका क्रममा अवस्था नाजुक रहेको भेट्टाएको थियो । कतिपय होटलहरु बन्द गर्नुपर्ने अवस्थाका समेत भेटिएका थिए । सुरूमा सुधार गर्न चेतावनीसहित स्टिकरको प्रावधान ल्याइएको थियो । केहीले होटल सुधार गरी गुणस्तरमा ध्यान दिए पनि अपेक्षाअनुसार उपलब्धि भने हासिल हुन सकेको छैन । अझै पनि अधिकांश होटलहरुले सरसफाइमा ध्यान दिएको पाइएको छैन । ग्राहकको सन्तुष्टिलाई लक्ष्य बनाएका होटलमा गुणस्तर कायम नहुनु भनेको उपभोक्ताको अधिकार हनन् हुनु हो । चार सयमध्ये नारायणगढ क्षेत्रबाट ६, मुग्लिनका सात, रामनगरका दुई र जुगेडीका एक होटलले मात्रै हरियो स्टिकर पाएका छन् । यसबाट सुधारिनु पर्ने अवस्थाका कति होटल रहेछन् भन्ने
प्रस्ट हुन्छ ।
सचेत ग्राहकले स्टिकर हेरेर कुन ठाउँमा खाना÷खाजा खाने त्यो स्वविवेक प्रयोग गर्नेछन् । अझै पनि अधिकांश ग्राहकहरुलाई स्टिकरबारे जानकारी नै छैन । ग्राहकले स्टिकर देखेपछि यो होटलको स्तर उत्तम, मध्यम वा कमजोर रहेछ भन्ने कुरा ख्याल गर्नेछन् । त्यसका लागि खाद्य स्वच्छता समितिले नियमित रुपमा अनुगमन गर्दै मापदण्ड पूरा गराउन चेतावनी दिइरहनुपर्छ । ग्राहकलाई गुणस्तरीय खाना नखुवाउने होटललाई सुरूमा सुधार गर्ने मौका दिनुपर्छ । तर, ग्राहकको स्वास्थ्यमाथि लापरबाही गर्ने होटलहरुलाई बन्द गर्न पनि कुनै कसर बाँकी राख्नु हुँदैन । दर्ता, सरसफाइ, दक्ष कामदार, पकाउने, खाना खाने ठाउँ, शौचालय, सफा पानी, भण्डारणजस्ता आधारभूत मापदण्ड पनि पूरा नगर्ने होटलहरुले ग्राहकको चाहना पछ्याउन सक्दैनन् । व्यापारसँगै सेवा पनि जोडिएका होटलहरुलाई प्रोत्साहन र पुरस्कृत गर्दै सुधार नै नगर्ने होटलहरुलाई बन्द गर्ने परिपाटी सिर्जना गरिनुपर्छ । अनुगमनका क्रममा ग्राहकसँग अन्तक्र्रिया गर्ने, गुनासा सुन्नेजस्ता अभियान पनि सञ्चालन गरिनु आवश्यक देखिएको छ ।
Discussion about this post