रत्ननगर । चितवनको पुरानो सदरमुकाम एवम् ऐतिहासिक किल्ला उपरदाङगढी पर्यटकीय दृष्टिले महत्वपूर्ण भएर पनि ओझेलमा परेको छ ।
विसं २०१३ अघि चितवन जिल्लाकै सदरमुकाम रहेको ऐतिहासिक किल्ला चितवनको विकट क्षेत्र दाहखानीमा रहेको ‘उपरदाङगढी’ संरक्षण र प्रचारप्रसारको अभाव देखिएको छ । ‘कसैको संरक्षण नै छैन, सबै क्षेत्र खुला छ । भग्नावशेष भत्काइए पनि कसैले देख्नेवाला छैन’ स्थानीय अम्बरबहादुर गुरूङले भने, ‘त्यसैले अब संरक्षणमा हामी आफैँ जुटेका छौँ ।’ समुद्र सतहबाट एक हजार २७५ मिटर उचाइमा रहेको यो क्षेत्र चितवनको हालको सदरमुकामबाट एक घन्टाको सवारी यात्रापछि शक्तिखोरबाट तीन घन्टाको पैदल हिँडेर पुग्न सकिन्छ ।
हालै कच्ची सडक पुगेको गढीमा तत्कालीन समयमा अड्डा, अदालत, मालपोत तथा विभिन्न सरकारी कार्यालय र सैनिक पोस्ट रहेको स्थानीयले बताएका छन् ।
यसको इतिहास मेटिने हो कि भन्ने चिन्ता लागेर अहिले स्थानीयवासी संरक्षण तथा व्यवस्थापन समिति निर्माण गरी पहल गर्न थालेका छन् । पर्यटकीय दृष्टिकोणले यो क्षेत्र अत्यन्तै महत्वपूर्ण छ । गर्मी समयमा पनि जाडोको महसुस हुने यहाँबाट चितवनको सबैभन्दा अग्लो पहाड सिँराइचुली जान सजिलो पर्छ ।
उपरदाङगढीका स्थानीयवासी गणेश थापा मगर गढीमा नियमित रूपमा पर्यटक आउने गरे पनि पर्यटकले गढी अव्यवस्थित देखेपछि खिन्न भएर फर्कने गरेको बताउँछन् । यो किल्ला सन् १८०० मा अङ्ग्रेजसँगको लडाईंका लागि बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेको गढीमा राखिएको बोर्डमा उल्लेख छ ।
अहिले गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएका नौ वटा आकर्षक स्थान, कोतघर र विभिन्न मन्दिरको भग्नावशेष रहेको छ । चारैतिर विशाल र ठूला कुँदिएका ढुङ्गाले बनेको पर्खाल आकर्षक देखिन्छ । यहाँबाट विभिन्न हिमाल, प्राकृतिक दृष्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिने छ ।
यस्तो महत्वको क्षेत्रमा अहिले न संरक्षण छ, न त प्रचारप्रसार नै गरिएको छ, । अझ गढीको जग्गा अतिक्रमण हुने चिन्तासमेत बढ्न थालेको स्थानीयवासी बिलबहादुर चेपाङले बताए । अहिले चितवनका व्यापारीहरू गढी आसपासको जग्गा किन्न थालेका छन् । रासस
Discussion about this post