बुद्ध जन्मेको देशमा दिनहुँ बलात्कारजस्तो आपराधिक घटना बढ्दै गएपछि सिंगो नेपाली समाज चिन्तित भएको छ । यतिखेर मुलुकलाई नै कलंकित पार्ने गरी दानवीय प्रवृत्ति हाबी भइरहेको छ । कति बेला, कहाँ, को अपराधीको चङ्गुलमा पर्ने हो, त्यसको अनुमान महिला अधिकारकर्मीमात्र होइन, राष्ट्र हाँक्ने नेतृत्वसम्मले गर्न नसक्ने अवस्था छ । न्याय, मानवअधिकार र मानवीय संवेदनाजस्ता कुराहरु संकटमा पर्दै गएका छन् । अखबारमा खबर बनेर आइरहेका घटनाहरुले बलात्कार न्यूनीकरण होइन, प्रश्रय दिएजस्तो भएको छ । सामूहिक बलात्कार, शिक्षकबाटै छात्रा बलात्कृत, आफ्नै बाबुुबाट छोरी बलात्कृत, बालिका बलात्कारजस्ता मानव सभ्यतामाथि नै खिल्ली उडाउने खालका घटना खबरका रुपमा आइरहेका छन् । यस्ता खबरबाट जोकोहीले खुलेआम बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग चौतर्फी रुपमा उठाउने गरेका छन् । राजनीतिक दल, अधिकारवादी तथा विभिन्न संघसंगठनले विरोध ¥यालीमा बलात्कारीलाई फाँसी दिनुपर्ने नारा घन्काइरहेका छन् । सुन्दा, पढ्दा मनै कुँडिएर आउने खालका आपराधिक गतिविधिले सगरमाथाको शिर नै निहुरिएको आभाष भएको छ ।
यतिबेला हरेक गाउँ समाजमा बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई कारबाही गर्ने कानुन नै फितलो भएकाले यसलाई संशोधन गरिनु पर्ने विचार सुनिन थालेका छन् । आफ्नै बाबुबाट समेत बलात्कार हुन थालेपछि हाम्रो समाज कतिसम्म असुरक्षित रहेछ भन्ने देखिन्छ । पूर्वी नेपालमा साताभित्र भएका सातवटा घटनामध्ये दुईवटा बाबुबाटै बलात्कार भएका छन् । बिर्तामोड र झापाको पृथ्वीनगरमा बाबुबाटै छोरीहरु बलात्कृत भए । कोठा भाडामा बस्दा, बसमा यात्रा गर्दा, विद्यालय जाँदा, बजारबाट फर्कंदा, घरमा अभिभावक नभएको मौका छोपेर, साना बालिकालाई प्रलोभन देखाएर, साँझ÷बिहान एकान्त ठाउँमा, लोडसेडिङ हुँदा, शौचालय जाँदाजस्ता विभिन्न अवस्था र समयमा बलात्कारका घटना हुँदै आएका छन् । बलात्कारका यस्ता घटना सार्वजनिक हुँदा समाजमा भय उत्पन्न हुने गरेको छ । बलात्कारका घटनाविरूद्ध देशव्यापी अभियान सञ्चालन भइरहेका बेला कानुनको धज्जी उडाउने खालका घटनाले उग्र रुप लिएको छ । यो सिंगो समाजका लागि चुनौतीको विषय हो ।
मान्छेमा मानवीयता हराएपछि, संवेदनशीलता मरेपछि र पाप, धर्मको चेष्टा नरहेपछि यस्ता निकृष्ट काम हुने गर्दछन् । मान्छेमा अतिकति पनि चेतना हुने हो भने यस्तो पशुवत् कार्य गर्न त परै जाओस्, कल्पनासम्म पनि कसैले गर्न सक्दैन । जबसम्म नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदैन, तबसम्म यस्ता आपराधिक घटना न्यूनीकरण हुन सक्दैनन् । नारीलाई सम्मानपूर्वक व्यवहार नगरेसम्म कुनै पनि समाज सुरक्षित रहन सक्दैन । नेपालकै प्रमुख समस्याका रुपमा देखिएको बलात्कार तथा महिला हिंसाका घटना न्यूनीकरण गर्न प्रत्येक घरमा अभियान सञ्चालन गर्नु आवश्यक देखिएको छ । यस्ता समस्या प्रायः अशिक्षित र विपन्न समुदायमा बढी रहेको पाइएको छ । शिक्षित र अरुलाई मार्गनिर्देश गर्नेबाट समेत यस्ता निन्दनीय घटना हुनु विडम्बना नै मान्नुपर्छ । अब बलात्कारीलाई लुकाएर होइन, उसको पहिचान सर्वत्र सार्वजनिक गर्नुपर्छ । विद्यमान कानुन संशोधन गरी कारबाहीको स्वरुप पनि परिवर्तन गर्नु जरूरी छ ।
Discussion about this post