बछौली । रत्ननगर–१८ बछौलीका ६ सय बाख्रालाई महामारी रोगविरूद्धको पीपीआर भ्याक्सिन दिइएको छ ।
एउटा बाख्रामा देखा परे गाउँका सबै बाख्रामा सरेर महामारीको रुप लिन सक्ने सरूवा रोगविरूद्ध पीपीआर भ्याक्सिन दिइएको हो । सौराहा सामुदायिक पुस्तकालय, जिल्ला पशु सेवा कार्यालय भरतपुर र पशु सेवा केन्द्र रत्ननगरले संयुक्त रुपमा आयोजना गरेको पशु स्वास्थ्य शिविरमा बाख्रालाई भ्याक्सिन र अन्य पशुहरुलाई उपचारसमेत गरिएको थियो ।
‘बाख्रालाई पीपीआर भ्याक्सिन नदिए यसले महामारी फैलाउन सक्थ्यो’ मध्यवर्ती क्षेत्र पशु सेवा उपभोक्ता समितिका पशु डाक्टर चिरञ्जीवी त्रिपाठीले भने, ‘शिविरमा आयोजना गरेर गाउँका अधिकाँश बाख्रालाई भ्याक्सिन दिन पाउनु बाख्रा पालेका किसानहरुलाई पनि ठूलो राहत हो । यो भ्याक्सिन दिएपछि बाख्रामा लाग्ने अन्य रोग पनि कम हुने पशु डाक्टर त्रिपाठीको भनाइ रहेको छ ।
भैँसी, गाई र बाख्रा गरी ६७५ वटा पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । गाई र भैँसीको बाँझोपन, गर्भ परीक्षण, कीरा, नाम्लेजुकाको परीक्षण गरी उपचार गरिएको थियो । शिविरमा परीक्षण गराउन ल्याइएका पशुहरुका लागि निःशुल्क औषधिसमेत वितरण गरिएको पशु सेवा केन्द्र रत्ननगरका प्राविधिक ईश्वरदत्त मिश्रले जानकारी दिए ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामकुमार कार्की प्रमुख अतिथि रहेको शिविर उद्घाटनमा जिल्ला पशु सेवा कार्यालयका पशु डाक्टर अर्जुनप्रसाद थपलिया, मध्यवर्ती क्षेत्र पशु सेवा उपभोक्ता समितिका पशु डाक्टर चिरञ्जीवी त्रिपाठी, ज्योति आलेमगरलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम सौराहा सामुदायिक पुस्तकालयकी कार्यक्रम संयोजक बबिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
Discussion about this post