भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखामा विद्युतीय पुस्तकालय (ई—लाईब्रेरी) बनाउनका लागि एनआरएन कतारले सहयोग गरेको छ ।
महासंघमा आयोजित कार्यक्रममा एनआरएन कतारका सल्लाहकार आरके शर्माले महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई ३ लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
एनआरएन कतारका सल्लाहकार शर्माले महासंघ चितवन शाखाको निर्माणाधीन भवन अवलोकन गरेका थिए । भवन निर्माण कार्यलाई पूर्णता दिन आवश्यक सहयोग गर्नसमेत तयार रहेको उनले बताए । कार्यक्रममा एनआरएन कतारका सल्लाहकार शर्माले पत्रकारहरुको स्तरोन्नतिका लागि गरिएको सहयोगको सदुपयोग गर्न आग्रह गरे ।
उनले विदेशबाट भित्रिने ६० देखि ७० प्रतिशत रेमिट्यान्सको अनुत्पादनशील क्षेत्र तथा विलासिताको लागि लगानी हँुदै गर्दा भविष्यको सुनिश्चितता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारमा गएकाहरुको परिवारलाई बचत गर्ने बानी विकास र उत्पादशील क्षेत्रमा लगानीका लागि सचेतना फैलाउने काम पत्रकार तथा सञ्चारमाध्यमहरुले गर्न जरुरी रहेको उनले बताए । यस्तै, पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले महासंघको लागि एनआरएनए कतारको सहयोग अमूल्य रहेको भन्दै सहयोगको सदुपयोगप्रति विश्वस्त रहन आग्रह गरे ।
Discussion about this post