–केशव अधिकारी
पुकुन (धादिङ) । सिङ्गो बस्ती शोकमा डुबेको छ । गाउँका सबैको आँखा रुझेका रुझै छन् । बस्तीमा सन्नाटा छाएको छ । दुईवटा घरमा लगाएको ताला खोल्ने मान्छेसमेत छैनन् । गाउँमा रूवावासी नै चलेको छ ।
धादिङ पिंडा–८ पुकुन गाउँमा विषाक्त रोटी खाँदा एकै घरका ६ जनाको ज्यान गएपछि गाउँलेहरु अनुहारमा कतै पनि कान्ती कोरिएको छैन ।
दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदीमा रहेका पूर्णबहादुर तामाङको श्रीमती र छोराको ज्यान गएपछि उनको घरको दैलो लागेको छ । पूर्णबहादुरकी श्रीमती फूलमायाले उपचारका लागि घर छाड्नुअघि लगाएको ताला खोलिदिने मान्छेसमेत कोही छैनन् । घटनाको जानकारी पाएपछि पूर्णबहादुर घर फर्कने तयारीमा लागेको खबर आएको आफन्तहरुले बताएका छन् ।
पूर्णबहादुरको मात्रै होइन, घटना भएको मूल घरमा पनि ताला लागेको छ । सञ्जबहादुर र उनका माइलो छोरा टेकबहादुरका तीन छोराछोरीको ज्यान गएको हो । सञ्जबहादुरको श्रीमती फूलमती, छोरा टेकबहादुर र बुहारी सम्झनाको काठमाडौँमा उपचार भइरहेको छ ।
एकै घरका ६ जनाको ज्यान गए पनि सञ्जबहादुरका दुई भाइ छोराको घरमा दैलो उघार्ने मान्छेसमेत छैनन् । घरमा भएको दुःखद् घटनाले मान्छेमात्रै होइन, गाई, भंैसी र बाख्रासमेत गोठमा भोकै छन् ।
छिमेकी र आफन्तहरु सञ्जबहादुरको घरको आँगनमा जम्मा भएर रुवाबासी गरिरहेका छन् । घरमा आउने नातेदारहरु जति बढ्दै छन्, त्यति नै रुवाबासी झन् बढिरहेको छ । घटना भएको घरमा जम्मा भएका आफन्तहरु एकआपसमा बोल्नसमेत सकिरहेका छैनन् ।
स्थानीय पुकुन प्राविले पनि मंगलबार विद्यालयमा पढाइ रोकेर आफ्ना दुईजना विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेको छ । सोमबार बिहान सञ्जबहादुर स्याङतानको घरमा पाकेको गहुँको रोटीले सञ्जबहादुरको परिवारमा ६ जनाको ज्यान लिएको हो ।
तीनजनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बाँचेकाहरु यतिबेला मृत्युसँग लडिरहेका छन् । विषादी मिसाइएको गहुँ पिनेर रोटी खाँदा गाउँका २० भन्दा बढी बिरामी परेका छन् ।
विषाक्त रोटीले ६२ वर्षीय सन्जबहादुर तामाङ, कान्छी बुहारी २८ वर्षीया फूलमाया तामाङ, उनका छोरा ५ वर्षीय रमेश तामाङ, यसैगरी सञ्जबहादुरको माइला छोरा टेकबहादुरका छोरा ५ वर्षीय अर्जुन तामाङ, ७ वर्षीया छोरी सविता तामाङ र २ वर्षीया छोरी अनिता तामाङको मृत्यु भएको थियो ।
गर्भवती रहेकी टेकबहादुरकी श्रीमती २८ वर्र्षीया सम्झना तामाङले घरमा अन्न सकिएपछि आइतबार साँझ घट्टमा लगेर कीरा नलागोस् भनेर विषादी छरेर राखिएको पाँच पाथी गहुँ पिसेर ल्याएकी थिइन् । त्यही रोटीले ६ जनालाई एउटै चिहान बनायो ।
गहुँ पिस्ने घट्ट धनी तिलकबहादुर तामाङको परिवारमा पनि ज्यालामा लिएको त्यही विषाक्त गहुँ मिसाएर पिनेको कोदोको रोटी खानेहरु बिरामी परे । तिलकबहादुरको घरबाट लगेको कोदोको पिठोको रोटी खाएका उनका छिमेकी सच्चेबहादुर तामाङका १५ वर्र्षीया छोरी लक्ष्मी र आठ वर्र्षीय छोरा बुद्धसिंहको पनि काठमाडौँमा उपचार भइरहेको छ ।
सञ्जबहादुरले पनि अनिकालको बेला काम लाग्छ भनेर अघिल्लो वर्षको पुसमा डोको बेचेर आएको आम्दानीले २३ पाथी गहुँ जम्मा गरेर राखेका थिए । आफूलाई चाहिएको बेला कीराले खाएर भ्याइदिने डरले तामाङले प्लाष्टिकको डिव्वाभित्र थायोडेन विषादी राखेर गहुँ राखेको उनका आफन्तहरुले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय धादिङका सूचना अधिकारीसमेत रहेका बाली संरक्षण अधिकृत दुर्गाप्रसाद पन्थीले थायोडेन विषादी अहिले नेपालमा प्रतिबन्धित रहेको बताए । पनि स्थानीय स्वास्थ्य संस्थामार्फत गाउँगाउँमा विषादीको प्रयोगबाट हुने हानीनोक्सानी कम गर्न जनचेतनाका कार्यक्रम संचालन गर्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विष्णु रिजालले बताए । विषादीको बिक्री वितरणलाई व्यवस्थित बनाउन आवश्यक देखिएको धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
क्याप्सन ः शोकाकुल बनेका पुकुन गाउँका महिलाहरु सञ्जबहादुरको आँगनमा जम्मा भएर वेदना पोख्दै ।
Discussion about this post