होमनाथ सापकोटा
रत्ननगर । रत्ननगर–१० मंगलपुरमा रहेको पञ्चकन्या सामुदायिक वनले आम्दानी बढाउन पर्या–पर्यटन पार्क सञ्चालन गर्ने भएको छ ।
वनअन्तर्गत मनिखोला क्षेत्रमा रहेको संरचनालाई व्यवस्थित गरी पर्या–पर्यटन पार्क सञ्चालन गर्ने योजना रहेको छ । वनको शनिबार सम्पन्न ११ औं वार्षिक साधरण सभा तथा पाँचौ अधिवेशनले वनको आम्दानी बढाउन तथा पर्या–पर्यटनको विकास गर्न पार्क सञ्चालन गर्ने प्रस्ताव पारित गरेको वनका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए ।
मनिखोला आसपासमा रहेको बुलबुले तालको व्यवस्थापन, ताल वरिपरी विश्राम स्थल बनाउने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । ताललाई व्यवस्थित गरेर जलचर प्राणीको अवलोकन तथा विश्राम स्थलमा बसेर वन्यजन्तुको अवलोकन गर्ने व्यवस्था मिलाइने श्रेष्ठले बताए । यस क्षेत्रमा वन हेरालु बस्ने एउटा घरसहित, सामान्य प्रकारको वन्यजन्तु संग्रहालयसमेत रहेको छ ।
मयुर र चित्तल राखिएको वन्यजन्तु संग्रहालयलाई अझ व्यवस्थित गरेर अवलोकन गर्ने व्यवस्था मिलाउने वनको योजना रहेको छ । त्यस क्षेत्रलाई पर्या–पर्यटनको आर्कषण केन्द्र बनाएर स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्न सक्ने मनोमोहक पार्कको रुपमा विकास गरिने अध्यक्ष श्रेष्ठले बताए ।
‘सौराहा आउने पर्यटकलाई यहाँ ल्याउने योजना रहेको छ’ उनले भने, ‘त्यसका लागि यहाँको पूर्वाधार निर्माणलाई जोड दिएका छौँ ।’ बिजुली र खानेपानीको व्यवस्था गरेर चितवनकै उत्कृष्ट वनभोज स्थल बनाइने अध्यक्ष श्रेष्ठले बताए । पूर्वाधार निर्माण र तालको व्यवस्था गर्न आवश्यक पर्ने रकम खर्च गरी वार्षिक रुपमा दुई लाख बढी आम्दानी गर्ने लक्ष्य वनले लिएको छ ।
साधारण सभामा प्रस्तुत गरिएको भावी कार्ययोजनामा वनलाई पर्यटनसँग जोडेर आम्दानीको स्रोत बढाउने उल्लेख गरिएको छ । सामुदायिक वन महासंघ चितवनका सचिव भरत ढुंगाना प्रमुख अतिथि रहेका कार्यक्रममा लेखा समिति संयोजक धनबहादुर सुनारले आर्थिक, कोषाध्यक्ष जनकबाबु बस्नेतले आय–व्यय तथा अध्यक्ष रामबाबु श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वन संरक्षणमा योगदान पु¥याउने ज्येष्ठ उपभोक्त ९६ वर्षीया विष्णुमाया अधिकारी, ९६ वर्षीय रत्नखर उपाध्याय तथा २०७० सालको एसएलसीमा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका लीला भट्ट र रविन श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा संरक्षण विद् रामप्रित यादव, रत्ननगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वन, नेपाल रेडक्रस सोसाइटी उपशाखा जयमंगलाका सभापति विश्वनाथ खनाल, कृष्ण प्रणामी मन्दिर जिरौनाका अध्यक्ष तीलकराज शर्मा, वनका सल्लाहकार श्यामप्रसाद बराल, वनका उपभोक्ताहरु कमलीकान्त घिमिरे, पार्वती न्यौपाने, जीवनाथ अधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रम वनका अध्यक्ष रामवावु श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
Discussion about this post