भरतपुर । नेपाल तामाङ विद्यार्थी घेदुङको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि चितवनमा सुरू भएको छ ।
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले देशको शिक्षा प्रणालीमा सुधार
गर्न सके सम्पूर्ण समुदायले समान अवसर प्राप्त गर्न सकिने धारणा राखेका थिए ।
शिक्षामा विभेद रहेकै कारण हालसम्म आदिवासी जनजाति समुदाय पछाडि परेको
उनीहरुको दावी थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल तामाङ
घेदुङ केन्द्रीय कार्यकारिणी समितिका महासचिव प्रतीक नेङ्सुर तामाङले शिक्षा
प्राप्तिको अवसर समानरूपले भए जनजाति समुदायले अवसर गुमाउनु नपर्ने
बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै आदिवासी जनजाति परिषद्का सदस्य सचिव फटकबहादुर तामाङले आदिवासी जनजातिहरुले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा सुविधाका बारेमा सचेत युवा विद्यार्थीले आवाज उठाउनुपर्ने बताए । सबै तहमा अवसर प्राप्तिको एकमात्रै बाटो शिक्षा भएकोले समान किसिमको शिक्षा प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।
सुकुमबासी समस्या समाधान समिति चितवनका अध्यक्ष दावादोर्जे तामाङले कार्यक्रममा आदिवासी जनजाति समुदायले राज्यका हरेक सेवा–सुविधाको अधिकार प्राप्त गर्नु नपाउनु दुखद् भएको विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य गोमानसिंह रुम्बा तामाङ, चितवन जिल्लाका अध्यक्ष गोपीराज घलान, अनेरास्ववियु क्रान्तिकारीका विजय हमाललगायतले बोलेका थिए ।
सम्मेलनको उद्घाटन सत्र विद्यार्थी घेदुङका अध्यक्ष सिएस तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । सम्मेलनले आज शनिबार नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न हुने सम्मेलन आयोजक समितिका सदस्य हेम तामाङले जानकारी दिए ।
Discussion about this post