विगत झन्डै दुई सातादेखि संविधानसभाको बैठक बस्न सकेको छैन । यसले गर्दा संविधान लेखन प्रक्रिया नराम्रोसँग प्रभावित भएको छ । निरन्तर वार्ता र बैठक मात्र बसिरहने, तर निर्णायक बिन्दुमा परिणाम पुग्न नसकिरहेको वर्तमान अवस्थालाई अरु लम्बिन नदिन अब सभामुखले बैठक सुचारू गर्न विशेष पहल गर्नु जरूरी भैसकेको छ । अब जनताको अभिमतलाई अपमान गरेर बस्न पाइँदैन । प्रतिपक्षी दलहरुसँगको वार्तालाई सहमतिमा पु¥याउन पटकपटक भएका प्रयासहरु असफल भएको पृष्ठभूमिलाई मध्यनजर गर्दा अब हुन सक्ने वार्ता पनि परिणाममुखी हुन्छ नै भनेर यकिन गर्न सकिने अवस्था छैन ।
आमनेपाली जनताले नयाँ संविधान कहिले पाउँछन् भन्ने विषयमा स्पष्ट मार्गचित्र अझै बनेको छैन । सत्तापक्ष र प्रतिपक्षी दलहरु अहिले तुलनात्मक रुपमा नजिक भएको जस्तो अनुभव गरिएता पनि वार्ताको टेबुलमा बसेपछि भने दुवै पक्षले आ–आफ्नो अडानको पुनरावृत्ति गर्ने क्रम अझ पनि जारी रहने प्रवल सम्भावना देखिएको छ । यसरी निरर्थक वार्तालाई मात्र निरन्तरता दिएर समयको बर्बादी मात्र गर्नुभन्दा सके सहमति र नसके बहुमतीय प्रक्रियाबाट भए पनि जनताले नयाँ संविधान पाउने वातावरण बनाउनु अब अति जरूरी भैसकेको छ ।
प्रतीक्षा, संयम र सहनशीलताको पनि हद हुन्छ । अब जनताको धैर्यको बाँध टुट्ने अवस्था आइसकेको छ । कामै नगरेर तलबभत्ता खाइरहेका सभासद्हरुको नैतिकतामाथि पनि प्रश्चचिन्ह खडा भैसकेको छ । राजनीतिक दलका शीर्ष नेताहरुले जनभावना र समयको मूल्य नबुझेको जस्तो आभास भैरहेको छ । अब संविधानसभालाई यसरी लामो समयसम्म अनिर्णयको बन्दी बनाएर राख्ने अधिकार कसैलाई पनि छैन । अब तत्काल संविधानसभाको बैठक बोलाएर संविधान लेखन प्रक्रियालाई अग्रगति दिन सभामुख स्वयम् तत्काल सक्रिय हुनु आवश्यक देखिएको छ ।
नेपाली राजनीतिमा विदेशी हस्तक्षेप हुने गरेको कुरा अब आफैँमा नौलो होइन । अहिले पनि संविधान लेखन प्रक्रियामा भारतीय राजनीतिको अप्रत्यक्ष प्रभाव रहेको अनुभव गरिएको छ । खासगरी, मधेसी दलका नेताहरुलाई संघीयता र प्रदेश निर्माणको सवालमा विदेशी हस्तक्षेप भइरहेको हालसम्मको गतिविधिले पुष्टि गरेको छ । यस्तो हस्तक्षेपको नेपाल सरकारले कडा प्रतिरोध गर्नु आवश्यक भैसकेको छ । नेपालको राजनीति नेपाली जनताले नै गर्ने हो र यसमा विदेशी हस्तक्षेपको कुनै प्रभाव पर्न दिनुहुँदैन । नेपालका शीर्ष राजनीतिज्ञहरुले पनि आफ्नो देशको राष्ट्रिय स्वाभिमान कसैसँग सम्झौता नगर्न र नेपालीको पहिचान दिन पछि पर्नुहुँदैन । अब सबै कुरालाई छाडेर सबैको ध्यान तत्काल संविधान लेखन प्रक्रियामा जानु अत्यन्त जरूरी भैसकेकाले संविधानसभाको बैठक तत्काल बोलाउन सभामुखले पहल गर्नु जरूरी भैसकेको छ ।
Discussion about this post