डा. धनपति कोइराला
राजनीति भन्नु नै शाब्दिक प्रहार र प्रतिप्रहार रहेछ सायद् । अझ, त्यो पनि निकृष्ट, प्रतिशोध र जुङे लडाइँमा उन्मत्त । चरम स्वार्थ र पापको महागर्त पनि । तर, समाज जति सभ्य र समृद्ध छ, उति शालीन र उत्तरदायी पनि हुने गर्दोरहेछ, राजनीति । समाजको स्तर र जीवन पद्धतिले निर्देशित गर्दोरहेछ राजनीतिलाई । यसमा सर्वाधिक प्रभाव पार्दोरहेछ जनशिक्षाले । अनि, पार्दोरहेछ आर्थिक समृद्धिले पनि । स्वयं नेतृत्वको ज्ञान, भाषिक कला, चिन्तन पद्धति, मह¤वाकाङ्क्षा र संस्कारले पनि प्रभावित गर्ने गर्दोरहेछ आदर्शपूर्ण राजनीति निर्माणमा ।
नेपाली समाज त्यो उचाइमा छैन, पुग्नै सकेको । तल, तल अझ तल अझै भन्दा रसातलतिरै छ, यसको जनशिक्षा र सार्वभौम समृद्धता । यसैले कर्ममा भन्दा भाषिक प्रयोगमै केन्द्रित हुँदै आइरहेछ, आजसम्म नेपाली राजनीति । सभ्य, शालीन, त्याग, सेवा र समर्पणमा भन्दा गालीगलौचमै सीमित बन्दै आइरहेछ, राजनीति । स्वार्थलिप्तता, धूत्र्याइँ, छलकपट र प्रतिशोधमय बन्दै आइरहेछ, निरन्तर निरन्तर । मात्र, शब्दकै वरिपरि रूमल्लिँदै छ राजनीति । बडेबडे राजनेता पनि शब्दरतिका बनिरहेछन्, सिकार । अहिले चोटिलो शाब्दिक प्रयोगका दृष्टिले नेपाली राजनीतिमा चर्चित बन्न पुगेका छन्, नेपाली राजनीतिका खुंखार खेलाडी, प्रचण्ड ।
उनले हिजोदेखि आजसम्म प्रयोग गरेका शब्द प्रायः नयाँ छन् र राजनीतिक तरङ्ग पैदा गर्ने खालका पनि । महान्, नयाँ नेपाल, हरूवा गोरूको छेरूवा दाउ, ढुल्मुले, तेस्रोलिङ्गी, एम्बुस, पश्चगामी, यथास्थितिवादी, विदेशी प्रभु, छोटे राजा, ब्रेक थू्र, आइस ब्रेक, डिरेल्ड, भिजिलान्ते, सुकिलामुकिला, विषवृक्ष, हुस्सु, नयाँ नाटक, कालो साँपत्यस्ता पद पदावली हुन् । उनले जति नयाँ पद पदावली प्रयोग गरे, तिनले नेपाली राजनीतिमा निकै समयसम्म ठूलो तरङ्ग पैदा ग¥यो । र, विवाद सृजना ग¥यो पनि । उनका शब्द चयनमा खासै मिथकीय चरित्रहरुको प्रयोग पाइँदैन । मान्छेको भीड देख्नासाथ दुर्वासाझैँ अग्निवर्षा गर्नु र पछि फुर्सदमा टाउको समाएर पछुताउनु उनको प्रवृत्ति नै बन्यो । अलिकति केही पाउनासाथ हौसिहाल्ने र केही गुमाउनु परे क्रोधोन्मत्त हुने शैली उनकै लागि हानिकर रह्यो । सहमति गर्ने अनि सहमतिमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै भङ्ग गर्ने प्रवृत्तिले उनलाई हल्कामात्र बनाएन, अविश्वासिला र अडान नै नभएका नेताका रुपमा इतिहासमै उनको नाउँ दर्ता गरायो ।
उमेर पाक्दै गए पनि उनी कहिल्यै व्यावहारिक रुपमा पाका बन्न सकेनन् । सक्षम दाता भएर पनि केही नभएको हरितन्नम झैं सधैँ भीखमङ्गा, ऊर्जाशील भएर पनि रून्चे, अरुलाई पनि पाए र भेट्टाएसम्म उचाल्ने र आपूm पनि सहजै उचालिने, जनवादी सर्वहारा नेता भएर पनि विलासी अनि सधैँ मै ठूलो हुँ भन्ने दम्भ बोकेका, ठूला दलका टुपौला नेता भएर पनि आफू मरे डुमै राजा भन्ने उखानलाई चरितार्थ गर्नेजस्ता चारित्रिक दुर्बलताले संविधानसभाले मरणान्त पीडा भोग्दै छ । वर्तमानसम्म आइपुग्दा करिब टुक्राटुक्रा भई तीनवटा खेमाका नेतामात्र बन्न पुगे उनी । उनको राजनीतिक छवि प्रताप र कान्ति मलीन बन्दै गएको छ । अझ, खिपेर भन्दा जेनतेन केही मधेसी र केही जनजाति दलहरुका राजनीतिक अगुवामात्र बन्न पुगेका छन् उनी ।
उनले पहिले मानिनँ अहिले जानिनँ भन्ने उखानजस्तै पहिले आफ्नो रापचाप र प्रताप छँदै जानेनन्, आफ्नो लागि स्पेस बनाउन । अहिले चाहेर पनि स्पेस बनाउन नसक्दा समस्या जन्मिएको छ मनमा र यसलाई बाहिर ल्याउन सकेका छैनन्, उनले । आपूmले खाइपाइ आएको अध्यक्ष पद पनि खतरामा पर्दै छ । अर्कोतिर समाउने गतिलो कुनै पद हातलाग्ने ठाउँ नपाइने देखेपछि अत्ताल्लिएका छन्, उनी । आलङ्कारिक नै सही, सम्मानित राष्ट्रपति पद पाउन सके जनयुद्धकालदेखिकै इच्छा पूरा हुने, तर त्यो पनि नपाउँदा घरमा भ्रमण जानका लागि पैसा मागिरहेको छोराले पैसा नपाएपछि घुर्की लाउँछ, स–सानो विद्रोह गर्छ । जस्तो कि साइकल लडाउने, थालबोटुकी फाल्ने, भनेको पटक्कै नमान्ने, घुर्की लाउने, घर छोडेर भाग्ने, भागेझैँ गर्ने, भागिहाल्ने पनि तर पछि फर्कने नानाथरी बोल्ने, मुड्की बजार्नेजस्ता गतिविधि गर्छ । उस्तै परे आफ्ना केही मतियारहरु ल्याएर आफ्नो अनुकूल परिवेश सृजना गर्ने प्रयत्न गर्दछ पनि । ठीक त्यस्तै व्यवहार देखिन्छ, प्रचण्डमा पनि ।
अहिले उनी फाल्गुन १६ को व्यग्र प्रतीक्षामा छन् । आफूले खोकेजस्तो नहुने हो कि भन्ने तनावमा पनि छन् उनी । बिलकुल केटौले पाराका, भोगेर पनि कहिल्यै
नचेत्ने । हिजोको माकुने सरकारका पालामा पूरै कार्यकर्ता राजधानीमा उतारे, त्यो पनि हप्तादिनसम्म । परिणाम आयो शून्य । उल्टै, कार्यकर्ता निराश भएर फर्किए नेताहरुलाई नै गाली गर्दै । काठमाडौँमा जनता उतार्दैमा केही हुनेवाला छैन भनेर बुझिसक्दा पनि उनी यसैमा लित्ति कस्नु के अर्थ ?
होे, आंशिक रुपमा विदेशी प्रभुलाई देखाउलान् र सुनाउलान् पनि र जग हँसाउलान् पनि । तर, पनि यत्रो प्रयत्नको प्रतिफल उनले भनेझैँ हासिल होला भन्न सकिने ठाउँ देखिन्न । बरू, बेलैमा वार्ता र छलफल आरम्भ गरे अहिले
उनको पल्ला भारी हुनेगरी सहज वातावरण छ ।
तर, उनी त्यसो गर्न तत्पर देखिन्नन्, अहिले । घर जलेपछिमात्र कुवा खन्ने आदत छ प्रचण्डमा । आफ्नो दलभित्रको कमान्डिङ रिमोट कन्ट्रोल गुम्दै जान लागेको तथा मोर्चाका घटकहरु पनि बिस्तारै दूर हुन लागेको उनलाई पत्तै हुन्न, कहिलेकाहीँ । अहिले उनी आफैँले सृजना गरेका वीरभद्र र कृतिकारुपी उपेन्द्र यादव र राजेन्द्र महतोद्वारा लतारिँदै छन् । उनी आफ्नो दृष्टिकोणअनुरुप नभई आफ्नै सहकर्मी डा. भट्टराईको मार्गमा हिँड्दै छन् र यसैमा आफ्नो वाक्शक्ति खर्चिरहेछन्, रातदिन । अहिले उनी नेपाली राजनीतिका मात्र हास्यपात्र बन्ने मोडमा खडा भएका छन् । सुरक्षाको माग गर्ने कमजोर पात्रमा दरिएका छन् । लारक्याललाई सभासद् बनाउँदा गरिएका आरोपको खण्डन र प्रतिरक्षणमै सीमित बन्नु परेको छ, उनले । र भन्नु परेको छ, भूतले खाजा खाने बेलामा लारक्याललाई ल्याइएछ । प्रत्यक्ष उपस्थितिमा लारक्याललाई सम्बोधन गरेर भन्नु परेको छ, ५ करोड कसलाई दिनुभएको हो, भनिदिनु प¥यो । जेल आफ्ना लागि रौँबराबर पनि नभएको भन्दै हिँड्नुपर्ने परिस्थिति सृजना हुनु उनको लागिमात्र नभई सिङ्गो राजनीतिकै लागि दुःखद अवस्था मान्नुपर्ने
भएको छ ।
शब्दको खेती गर्ने प्रवृत्ति अन्य वामनेताहरुमा जस्तै उनमा पनि प्रचुर मात्रामा छ । यसलाई न्यूनीकरण गर्नु आवश्यक छ । मितवाक् बन्नु जरूरी छ । गौतम बुद्धले भनेझैँ सम्यक् वाक् अपनाउनु जरूरी छ । नेपाली जनता नेता आफैँले आफ्नो बेइज्जत गरिरहेको हेर्न विवश छन् । आफ्नो कद घटाइरहेको हेर्न बाध्य छन् । नेतृत्वको आमअपमान हुँदा देश र जनताको पनि सँगै तिरस्कार र बेइज्जती हुन्छ, नाक काटिन्छ । स्वाभिमानमा आँच आउँछ भन्ने
कुरा नबुझ्ने नेतृत्वको शैलीबाट दिक्क छन् ।
नेपाली राजनीतिका शीर्षस्थ चरित्रले यसरी गाली र तुक्काशास्त्रमा हैन, प्रेम र हार्दिक शास्त्रमा निपूर्णता हासिल गर्नुपर्छ । उनीहरुबाट भावी पिँढीले रचनात्मक कुरा सिक्न पाउनुपर्छ । गौरव गर्ने र आदर गर्ने परिवेश बन्नुपर्छ । त्यो बनाउने स्वयं नेतृत्वले हो । वस्तुतः एकले गर्ने गलत निर्णयको परिणाम यो पुस्ताले मात्र होइन, आउने शताब्दीयौँसम्मका सन्ततिले भोग्न विवश बन्नुपर्ने स्थिति सृजना हुन दिनुहुँदैन । हामी हाम्रा पात्रहरुमा गान्धी र मन्डेलाझैँ प्रेम, हार्दिकता, समर्पण र दूरदृष्टि खोजिरहेका हुन्छौँ । त्यस सद्भाव र प्रेमभावलाई नेतृत्वले जोगाई राख्नुपर्छ । सकारात्मक सोच र स्नेहपूर्ण बोलीले मात्र समाज समृद्ध बन्न सक्छ । राष्ट्र मजबुत र समुन्नत बन्न सक्छ । यस विषयमा नेतृत्वले सोच्नु, मनन् गर्नु र त्यसको निसर्त परिपालन गर्नुपर्छ । र मात्र राजनीति, राजनेता, राष्ट्र र राष्ट्रियता सुदृढ र समृद्ध बन्न सक्छ ।
Discussion about this post