मानवजीवनकै कलंकका रुपमा रहेको चेलीबेटी बेचबिखन नेपालमा अझै समस्याकै रुपमा रहेको छ । मानवजीवनको विकासको सेरोफेरोबाट सुरू भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि सारमा यस्ता अपराधहरु झनै बढ्दै गएका छन् । मानिसभित्र मानवीयभन्दा बढी दानवीय व्यवहार हाबी हुँदा चेलीबेटी बेचबिखन, बलात्कार, यौनजन्य हिंसाजस्ता थुप्रै समस्याहरुको पुनरावृत्ति भइरहेका छन् । विगत केही समयदेखि वैदेशिक रोजगारीका लागि बाहिरिने तर त्यसबारे पर्ने समस्याका बारेमा चेतना नभएका चेलीहरु अधिकतम रुपमा बेचबिखनको उच्च जोखिममा छन् । हरेक क्षेत्रबाट चेलीबेटी बेचबिखन न्यूनीकरणका प्रयासहरु हुँदै आए पनि त्यसको प्रभावकारिता त्यति भएको पाइँदैन । नेपालमा भइरहेका दर्जनौँ आपराधिक घटनामध्ये चेलीबेटी बेचबिखन एउटा डरलाग्दो समस्याका रुपमा रहिआएको छ ।
चेलीबेटी बेचबिखनविरूद्ध कार्य गर्दै आएको माइती नेपालले अवैध रुपले पूर्वी सीमा क्षेत्रबाट भारतलगायतका मुलुकमा पु¥याइन लागेका ८१ जना महिलालाई केही महिनाअघिमात्र उद्धार गरेको
थियो । यस्तै, चेलीबेटी तथा मानव बेचबिखनविरूद्ध कार्यरत संस्था केआई नेपालले पनि पाँच जना युवतीलाई बेच्न लैजाँदै गर्दा सुनौली नाकाबाट उद्धार गरेको थियो । सुनौलीबाट फरार भएका गिरोहका नाइके भारतको कोलकाता घर भई काठमाडौँ बस्दै आएका मनोज सेठ्ठीलाई प्रहरीले सौराहाको एक होटलबाट हालैमात्र पक्राउ गर्न सफल भएको छ । युवती बेच्न भारत लैजान योजना बनाउने दार्जिलिङकी जमुना राईसहित तीन जना अझै फरार छन् । यसबाट अपराधीहरुको चलखेल विभिन्न जिल्लामा उत्तिकै रहेको देखाउँछ ।
माइती नेपालले काँकडभिट्टा नाकाबाट भारत हुँदै विभिन्न देशमा अवैध किसिमले जान खोज्ने महिला तथा सरोकारवाला गरी ४ हजार १६१ जनालाई वैदेशिक रोजगारीका नाममा हुने महिला हिंसाबारे परामर्श दिइसकेको छ । सन् २०१३ मा २९५ जनालाई उद्धार गरेको थियो । एक वर्षभित्रमा भारत प्रवेश गर्ने ६८७ जना युवतीलाई सकुशल उद्धार गरी परामर्श सेवा प्रदान गरेको थियो । गत वर्षमात्रै २५ हजार २९३ जनालाई महिला तथा मानव बेचबिखनसम्बन्धी परामर्श दिएको थियो । उद्धार तथा परामर्श सेवा प्रदान गरिएकामा १५ देखि ४० वर्ष उमेर समूहका रहेको पाइएका छन् ।
कमजोर आर्थिक अवस्था, शैक्षिक अवस्था, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसाजस्ता कारणले प्रभावित बनेका महिलाहरु सुरूमा जीवनका सबै रहरहरु खोसिएको पत्तो पाउँदैनन् । यौन शोषण, दासता, मानव अंग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यहरुका लागि महिला तथा बालबालिकाहरुको बेचबिखन हुने गरेको छ । यसबाट अपराध नियन्त्रणमा थप जटिलताको सामना गर्नु परेको छ । सेठ्ठीजस्ता गिरोहको खोजी गरी कडा कारबाही गर्न सके यस्ता समस्या नियन्त्रण हुने देखिएको छ ।
Discussion about this post