भरतपुर । नेपाल पोल्ट्री महासंघमा आफूहरु नरहने घोषणा नेपाल अण्डा व्यवसायी संघले गरेको छ । संघले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी महासंघको सदस्यता नवीकरण नगरेको जनाएको हो ।
महासंघको शुक्रबार भरतपुरमा सम्पन्न अधिवेशन प्रक्रियासमेत संघले बहिष्कार गरेर बाहिरिएको थियो । उनीहरुको बहिस्कारका बाबजुत पनि अधिवेशनले विष्टकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
महासंघमा अण्डा व्यवसायी संघसहित अन्य आठ वटा आवद्ध संस्था छन् । संघले महासंघबाट छुट्टिने निर्णय गरे पनि आफूहरु नयाँ महासंघ स्थापना गर्ने पक्षमा नभएको उनीहरुको भनाइ छ । ‘साना किसानहरुको समस्या नबुझ्ने अध्यक्ष रहेको समितिमा हामी बस्नु उचित ठानेनाँै’, संघका अध्यक्ष शिवराम केसीले भने ।
ठूला व्यवसायीको एकाधिकारले कुखुरापालनमा साना किसान मारमा परेको र एउटै फर्मले दश पन्ध्र लाख कुखुरा पाल्ने अनि साना फर्महरुलाई विस्थापित गर्ने खेल सुरू भएको आरोप केसीको छ । संघले ठूला व्यवसायीले अण्डामा लगाइएको लेबिसम्म नतिर्ने अनि सानालाई जसरी पनि उठाउनुपर्ने अवस्थाले जटिलता भएको जनाएको हो । ‘ठूला व्यवसायीहरुले नै कुखुराको अण्डाको लेबी तिर्दैनन्’, संघका अध्यक्ष शिवराम केसीले भने, ‘ठूला व्यवसायीले लेबीसमेत नतिरी सानालाई विस्थापित गराउन लागेका छन् ।’
संघले कुखुरामा प्रतिपेटी उत्पादकलाई एक रूपैयाँ र वितरकलाई तीन रूपैयाँ लेबी लगाएको छ । तर, केही ठूला उत्पादकले यो लेबी नै तिर्दैनन् । संघका अध्यक्ष केसीले अविनाश पोल्ट्री फर्मले संघलाई तिर्नुपर्ने शुल्क नतिरेको आरोप लगाए ।
अविनाश ह्याचरीअन्तर्गतको अविनाश पोल्ट्री नेपालकै ठूला फर्म मध्येको एक हो । अहिले चितवनमा उत्पादन हुने दैनिक झण्डै चार हजार कार्टुन अण्डामध्ये यस फर्मले मात्रै १६० काटुर्न उत्पादन गर्छ । अन्य बाँकी अण्डा एक हजार ५०० किसानले उत्पादन गरेको हो । यस फर्मका सञ्चालक गुणचन्द्र विष्टको एकाधिकारले कुखुरा व्यवसायमा नै संकट आउन सक्ने अवस्था आएको केसीको आरोप छ ।
‘अविनाश पोल्ट्रीबाट एकलौटी रुपमा अण्डा उत्पादक संघको बजार खलल पुग्ने गरी बजार बिस्तारमा सहयोग नपु¥याएको, अण्डाको मूल्यमा साना किसानको हकहित र उत्पादनमा चोट पु¥याएको, मनोपोली गर्ने र अण्डाको शुल्क दस्तुरलाई समेत एकातर्फी गर्ने गरेको पाइयो’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता गतिविधि सच्चिनुपर्छ भन्ने हाम्रो मागको सुनुवाइ भएन ।’
Discussion about this post