भरतपुर । बिहीबार बिहान अचानक रात परेजस्तै भएपछि जनजीवन अस्तव्यस्त भएको छ । रात परेजस्तो अवस्थासँगै हावाहुरी र वर्षाले केहीबेर जनजीवन अत्यन्तै कष्टकर बनेको थियो ।
पानीसँगै बिहान एक्कासी अन्धकार हुँदा भरतपुरका वीरेन्द्र सहिद स्मृत्ति, सप्तगण्डकी र बालकुमारीलगायतका क्याम्पसहरुमा पनि राम्रोसँग पठन पाठन हुन सकेन भने सवारी साधनहरु पनि सडक किनारामा रोकिएका थिए । बिहान अबेरसम्म चितवनका मुख्य व्यापारिक केन्द्र नारायणगढ, भरतपुर, रत्ननगर र सौराहमा पसलहरु खुल्न सकेका थिएनन् । बजारमा मानिसहरुको आवतजावतमा पनि निकै कमी आएको थियो । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको जनाएको छ ।
भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग नजिक भएपछि अहिले त्यसको असरले चितवनलगायत स्थानमा वर्षा भएको मौसमविद्हरुले बताएका छन् । मौसम सम्बन्धी भविष्यवाणी गर्ने वेभसाइटहरुमा जनाइए अनुसार पश्चिमी भेगमा सो वायु अघिल्लो दिन प्रवेश गरी डडेल्धुरा क्षेत्रबाट बिहीबार बिहानैदेखि देशको मध्य भाग तथा शुक्रबार पूर्वी भेगमा पुग्नेछ ।
डिसेम्बर, जनवरी र फेब्रुअरी जाडोको मौसम विद्हरुले अहिले भएको वर्षात्लाई सामान्य मानेका छन् । फेब्रुअरीमा करिब १८ मिलि लिटर बर्सात् हुनुपर्नेमा जम्मा १२ मिलिलिटर मात्र बर्सात् भएको महाशाखाले जनाएको छ ।
नेपालको उत्तरी हिमाली जिल्लामा बुधबारदेखि लगातार हिमपात भइरहेको विभिन्न समाचार सेवाहरुले जनाएका छन् ।
त्यस्तै, पृथ्वीराजमार्ग क्षेत्रको मलेखुलगायतका स्थानमा केहीबेर चारैतिर अन्धकार छाएको छ । सडकमा गुडिरहेका सवारी साधन हेडलाइट बालेर गन्तव्यतर्फ लागेका थिए ।
Discussion about this post