राजधानी काठमाडौँ दिन प्रतिदिन असुरक्षित भइरहेको छ । सडकमा गुजारा गर्नेदेखि जहाजमा उड्नेसम्मको साझा थलो राजधानी हेर्दा जति आकर्षक छ, त्यहाँ जीवन बिताउनेका लागि त्यति नै असहज पनि छ । दिनैपिच्छे नयाँनयाँ आपराधिक घटनाक्रमले थिलथिलो भइरहेको राजधानीमा उज्ज्वल भविष्य र सुनौलो सपना देख्नेहरुका लागि झनै कठिन छ । बलात्कार, हत्या, लुटपाट, अपहरण, चोरी, ठगीजस्ता गतिविधि राजधानीको विशेषता नै बनिसकेको छ । पछिल्लो समयमा तेजाब आक्रमण गरी जनजीवन आतंकित बनाउने अपराधी देखा परेका छन् । सुरक्षा निकायको बाक्लो उपस्थिति र भीडभाड हुने वसन्तपुर क्षेत्रमा एसएलसी परीक्षाको तयारीका लागि ट्युसन पढ्दै गरेका किशोरीहरुमाथि दिनदहाडै कक्षा कोठामै गएर तेजाब आक्रमण भयो । आक्रमणबाट संगीता पुलामी मगर र सीमा बस्नेत गम्भीर घाइते भए । आक्रमणकारी फिल्मी शैलीमा तेजाब प्रहार गरेर फरार भयो । प्रहरीकै आँगननजिक घटना भए पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न सकेन । यसबाट राजधानी सहर कति असुरक्षित रहेछ भनेर जो कसैले पनि अनुमान लगाउन सक्ने भएको छ ।
सर्वसाधारणका लागि राजधानी आशा र भरोसाको केन्द्र बनिरहेको छ । जति सम्भावना र अवसरहरु राजधानीमा छन्, त्यत्तिकै त्रास र अत्यासलाग्दो वातावरण पनि छ । अहिले सबैको ध्यान तेजाब आक्रमणमा केन्द्रित भएको छ । हजारौँ कलिला बालबालिकाका अभिभावकहरु आफ्ना बाबुनानीको भविष्य निर्माण गर्न राजधानीमा संघर्ष गरिरहेका छन् । धूलो, धूवाँ, अभाव र अन्योलबीच सपनाहरुको सिरानी हालेर राजधानीमा संघर्ष गरिरहेका बेला अपराधीले हिंसा मच्चाउँदा त्यस्ता अभिभावकको मनस्थिति कस्तो भइरहेको होला ? कति सपनाहरुको मृत्यु होलान् ? यो जसले पनि विश्लेषण गर्न सक्ने कुरा हो । यतिखेर अधिकारवादीहरु, शिक्षाप्रेमीहरु र नागरिक समाजले तेजाब प्रहार गरी फरार अभियुक्तलाई पक्राउ गरी कारबाही गर्न श्रृंखलाबद्ध रुपमा प्रदर्शन गरिएका छन् । तर, एउटा लज्जास्पद विडम्बना के छ भने प्रहरी प्रशासनले अहिलेसम्म आक्रमणकारीको सुइँकोसम्म पाउन सकेको छैन । सरकार मूकदर्शक बनेको छ । सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति गराउन सकेको छैन ।
आपराधिक घटनाहरुले प्रश्रय पाउनुको एउटा कारण अदक्ष प्रशासन पनि हो । कुनै पनि आक्रमण तथा हिंसात्मक घटनालाई निरूत्साहित गर्न र आपराधिक क्रियाकलाप गर्नेमाथि हदैसम्मको सजाय दिलाउन प्रशासनको सक्रियता बढ्नैपर्छ । एउटा घटनाको अनुसन्धान गर्न तथा अपराधीलाई पक्राउ गर्न लामो समय लगाउँदा अपराधीले उन्मुक्ति त पाउँछ नै, त्यस्ता व्यक्तिको मनोवृत्ति पनि बढ्छ । यसबाट अन्य आपराधिक घटनाहरु बढ्न जान्छन् । अहिले साना–साना नानीहरुले सडकबाट ‘अपराधीलाई फाँसी दे’जस्ता नाराहरु घन्काइरहेका छन् । यसबाट के प्रस्ट हुन्छ भने अपराधीलाई कडाभन्दा कडा कारबाही भएमात्रै अपराधहरु न्यूनीकरण हुँदै जानेछन् । र, अपराधीको मनोबल गिर्नुका साथै भविष्यमा कलिला बालबालिकाले निर्धक्क पठनपाठन गर्न पाउने छन् । त्यसैले, तेजाब आक्रमणकारीलाई यथाशीघ्र पक्राउ गरी हत्यारासरह कारबाही गर्न सकेमात्र तेजाबको जलनले पोलिरहेका किशोरीहरुको घाउ केही हदसम्म शीतल हुनेछ ।
Discussion about this post