नेपालमा हरेक दिन कुनै न कुनै रुपमा भएका महिला हिंसाका घटनाहरुमा परम्परागत कुरीति र बढ्दो आपराधिक मनोवृत्ति नै कारक मानिएका छन् । महिलामाथि हुने हरेक प्रकारका हिंसा एवम् दुव्र्यवहारका घटनाहरुमा हाम्रा कुरीतिका रुपमा स्थापित संस्कृति, मूल्य र मान्यताहरुमा नै खोट रहेको पाइएको छ । महिला अधिकार तथा विभिन्न क्षेत्रमा कार्यरत अगुवाहरुले गरेको अध्ययनका क्रममा नेपालमा महिला प्रताडित हुने ५७ किसिममा कुरीति औँल्याइएको छ । कुरीति अन्त्य समाज नामक एक संस्थाले चितवनमा गरेको भेलामा दाइजो (दहेज) प्रथा, बोक्सी, कमलरी, छाउपडी, देउकी, बालविवाह, कन्यादानजस्ता कुरीतिबाट महिला प्रताडित हुनु परेको निष्कर्ष निकालेको छ । परम्पराका नाममा महिलामाथि भइरहेका ज्यादती र कुमारीका नाममा बालबालिकाको अधिकार हनन् भइरहे पनि यस्ता कुरीति अन्त्य हुन सकेको छैन ।
अहिले धर्म, परम्परा र संस्कृतिका नाममा विभिन्न हिंसा भइरहेका छन् । अधिकार नै हनन् हुने र हिंसालाई बढवा दिने संस्कृति संरक्षणभन्दा पनि परिमार्जन हुनु आजको आवश्यकता हो । कतिपय हाम्रा परम्परागत संस्कृतिहरु कुरीति हुँदाहुँदै पनि त्यसैलाई अनुसरण गर्ने प्रवृत्तिले एक्काइसौँ शताब्दीमा आएर पनि त्यसलाई हटाउन सकिरहेका छैनौँ । विज्ञानको युगमा आएर पनि छोरा नजन्माएकोमा महिलामाथि हिंसा गर्ने, दाइजो प्रथालाई बढवा दिने र महिलालाई छाउपडीका नाममा पशुवत् व्यवहार गर्ने संस्कार विद्यमान चलिआएको छ । सुदूरपश्चिममा कमलरी प्रथा कायमै छ भने देउकी र कुमारी प्रथा स्थापित भइरहेका छन् । गरिब, विपन्न, विधवा महिलाहरुलाई बोक्सी देख्ने आँखा आजपर्यन्त यही समाजमा छ । कतै गरिबीको, कतै अशिक्षाको र कतै अभावको फाइदा उठाएर महिलामाथि यौन दुव्र्यवहार र हिंसात्मक घटना हुँदै आएका छन् । तर, त्यस्ता घटनामा संलग्नहरुलाई कानुनी कारबाही हुनुभन्दा प्रश्रय दिने संस्कार निरन्तर हुर्किरहेको छ ।
महिला तथा बालबालिकासम्बन्धी हिंसात्मक घटना न्यूनीकरण हुन नसकेका कारण पनि हाम्रै समाज दोषी छ । र दोषी छन्, हाम्रै संस्कार र संस्कृतिहरु । जुन परिवारमा महिलालाई सम्मान हुँदैन, त्यहाँबाटै सुरू हुन्छ महिला हिंसा । जहाँको समाज बालअधिकारबारे सजग छैन, त्यहाँबाटै सुरू हुन्छ बालहिंसा । न्याय, समानता र सम्मान भएमात्रै हिंसा र हिंसात्मक घटनाहरु न्यूनीकरण हुँदै जान्छन् र हिंसा अन्त्य हुन सम्भव हुन्छ । अपराधी जोसुकै होस्, त्यसलाई कानुनी दायरामा ल्याउनैपर्छ । आपराधिक क्रियाकलाप गर्ने व्यक्ति जतिसुकै शक्तिशाली होस्, न्यायको डन्डाले त्यसलाई तह लगाउनैपर्छ । तर, नेपालमा पहुँच र प्रभाव हुने व्यक्ति जतिसुकै अनैतिक होस्, त्यसले सफाइ पाउने प्रवृत्ति छ । जुनसुकै दुव्र्यवहार, हिंसा र अपराध होस्, त्यसको कानुनी उपचार हुनुपर्छ । कुरीति छन् भने त्यसलाई हटाउँदै जानुपर्छ । जुन कुरा कुरीति हो, त्यो संस्कृति हुन सक्दैन । जुन कुरा हिंसा हो, त्यो परम्परागत मान्यताका रुपमा रहिरहन सक्दैन । हामी सबैले यस्ता कुरीतिहरु अन्त्य गर्दै समुन्नत राष्ट्रनिर्माणमा अघि बढ्नु परेको छ ।
Discussion about this post