नवलपरासी । नवलपरासीका उखु किसानहरुले फागुन १६ गतेभित्र उखुको मूल्य निर्धारण गर्न अल्टिमेटम दिएका छन् ।
नवलपरासीको उखु किसानहरुको संगठन उखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीले आइतबार नवलपरासीको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीमार्फत यस्तो अल्टिमेटम दिएको हो ।
नवलपरासीका मात्रै २५ लाख क्विन्टल उखु उत्पादन हुने गर्दछ । उखु किसानहरुले यस बर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय २५ रुपैयाँ हुनुपर्ने माग गरेको छ । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७६ रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उखुमा उत्पादन लागत १५ प्रतिशत बढी परेकोले उखुको मूल्य निर्धारण गर्नुपरेको उखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए । यादवका अनुसार १६ गतेसम्म मूल्य निर्धारण नभए किसानहरु १७ गतेदेखि उखुसहित सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिने छन् ।
उनीहरुले मूल्य निर्धारण नभएसम्म सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।
Discussion about this post