ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एउटा अधबैँसे पुरूषको भ्यालेन्टाइन

by चितवन पोष्ट
२०७१ फाल्गुन ९, शनिबार ०४:०० गते
in विचार, साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

पूर्णिमा शर्मा
म नेपाल सरकारको कर्मचारी । कर्मचारीको हैसियतमा मैले सरकारले जुन जिल्ला खटायो, त्यहाँ गएर काम गर्नु नै पर्दथ्यो । यही सिलसिलामा आफ्नो घर तराई भएता पनि म जागिरे भएकाले नै  काठमाडौँ खाल्डोमा पस्न पुगेँ । आफूलाई पनि राजधानीमा जागिर गर्ने मन र छोराछोरीको उच्च शिक्षा पनि आफ्नै निगरानीमा गराउन सकियोस् भन्ने उद्देश्यले म काठमाडौँ आएको थिएँ । श्रीमती तराईको घर कुर्नुपर्ने बाध्यतामा, म छोराछोरी लिएर काठमाडौँमा । अफिसको काम त उही हो जहाँ भए पनि, तर अफिसबाहिरको माहोलले भने मलाई बेलाबेलामा झस्काइरहेको थियो ।
काठमाडौँमा डेरा लिएको भोलिपल्ट म कोठामा चाहिएको केही आवश्यक सामान किन्न भनेर नयाँ बानेश्वर चोकमा निस्किएको थिएँ । नयाँ मान्छे, कुन सामान कहाँ पाउँछ भनेर साथीको सहयोग लिन साथीलाई फोन गरेँ । उनलाई पर्खन म केहीबेर चोकमा मोटरसाइकल रोकेर बसेको त मलाई त्यहाँ बसिनसक्नु पारे मैयाँहरुले । एउटी मोटी मंगोलियन अनुहारकी, अर्की अग्ली तराईबासीजस्ती, अर्की काली तर बाहुन–क्षेत्रीजस्ती र अर्कीको त बोलाइबाट नै थाहा भयो, उनी स्थानीय नेवार परिवारकी हुन् कि जस्तो । मैयाँहरु एक्लैएक्लै आएर मलाई सोधिरहेका थिए–
‘कहाँ जाने ? कति घन्टाका लागि र कति दिने ?’
यस्ता प्रश्न उनीहरुका लागि अन्जान व्यक्ति मलाई सोध्नुबाट तीन सन्तानको बाबु भैसकेको मैले थाहा पाइहालेँ, उनीहरुले मसित के खोजेका हुन् भनेर । म अलि वरपर मोटरसाइकल रोकेर बस्दा पनि मैयाँहरु मेरो पछि लागिनै रहे । त्यतिबेलै साथी आइपुग्नुभयो, हामी आफ्नो बाटो लाग्यौँ ।
बाटोमा साथीबाट नै थाहा भयो, मोटरसाइकल दोबाटोमा रोकेर छेउमै उभिने मानिस नगरबधूको प्रतीक्षामा हुन्छ । त्यो नगरबधूहरुको लागि संकेत हो रे । लौ, काठमाडौँका नगरबधूबाट बचिएछ भन्दै ठट्यौली गर्दै सामान किनेर साथीलाई उहाँको घरमा छोडेर म लागेँ डेरातिर । धेरै दिनसम्म जबजब म त्यो चोकमा आइपुग्थेँ, ती मैयाँहरुको सम्झना आइहाल्दथ्यो ।
केटाकेटीको पढाइ बीचमै भएकाले म मात्र काठमाडौँमा थिएँ । अफिसबाट एउटा मोटरसाइकल पाएँ । दिन कटिरहेका नै थिए ।
एक दिन, म अफिस समयपश्चात् घरतिर लाग्न बाहिर निस्कनै लागेको थिएँ, पछाडिबाट आवाज आयो— सर, सर एकछिन !
पछाडि फर्केर हेरेको मलाइ नै बोलाउँदै एक जना महिला कर्मचारी आइरहेकी रहिछन् ।  मेरो नजिक आएर मैयाँले भनिन्– “सरलाई मैले धेरैपल्ट बानेश्वरमा देखेँ, उतै बस्नुहुन्छ हो ?”
मैले हो भनेर टाउको हल्लाएँ ।
“हाम्रो बसाइ एकैतिर रहेछ, मलाई पनि लिफ्ट दिन सक्नुहुन्छ ?”
आफ्नी छोरीजस्ती नानीलाई किन नाइँ भन्नु । मैले ती मैयाँलाई पनि बानेश्वर चोकबाट उठाउने र बेलुका त्यहीँ छोडिदिने गर्न थालेँ । एक महिनाजति त मैया छोरीकै व्यवहारमा देखिइन् पनि ।
सधैँ सँगै आउँदा–जाँदा एकअर्काको बारेमा पनि जानियो ।  विवाह भएको चार महिनामा डिभोर्स गरेर माइतमा बसेकी रहिछन् मैयाँ ।
एक साँझ फर्किंदै गर्दा बाटोमा मैले सोधेँ– “चार महिनामा नै किन डिभोर्स भयो त ? केटा खराब परेछ कि के भो ?”
मेरो प्रश्नमा उनी रून लागिन्, मेरो पछाडि बसेकै बेलामा । ओहो, कसैको व्यक्तिगत कुरामा मलाई के मतलब ? किन सोधेछु नसोधेको भए हुन्थ्यो, गल्ती पो गरेँ भन्ने महसुस भयो मलाई । मेरै प्रश्नले रोइरहेकी नानीलाई दोबाटोमा छोडेर हिँड्न मनले मानेन । मैले मोटरसाइकललाई बानेश्वरको बेकरी क्याफेतिर मोडेँ । उनको डिभोर्स किन भयो भन्ने जान्नुभन्दा पनि उनलाई मैले किन रूवाएँ भन्ने मेरो मनमा परिरहेको थियो । एक–एक प्लेट मम र चिया खाउन्जेल मैले उनलाई जिन्दगीका आकास–पाताल देखाएर सम्झाएँ ।
“आफू बलियो बन, उमेर गएको छैन । दोस्रो विवाह गर्दा हुन्छ, योग्य मानिस खोजेर ।” उनलाई सामान्य बनाएर हामी आ–आफ्नो बाटो लाग्यौँ ।
भोलिपल्ट मैयाँले बिदामा बस्छु भन्दै फोन गरिन्, म आफ्नै दैनिकीमा । पर्सिपल्ट मैयाँ मुस्कुराउँदै मेरो पछाडि बस्न आइन् । मैले पनि अस्तिको कुरालाई सामान्य रुपमा लिएँ । मैयाँको आजको बसाइ मलाई त्यति सहज लागेन ।
सहयात्री भएको एक महिनापछाडि उनले मेरो कुममा हात राखेर बसिन् । श्रीमतीले मात्र छोएको मेरो शरीरमा ती मैयाँको हातले मलाई झसंग बनायो । सारी लगाएर पछाडि बस्दा श्रीमती पनि त्यसरी नै हात राख्दथिन् । तर, मैयाँले त सारी पनि लगाएकी थिइनन् । कहिले मेरो कुममा हात राख्ने, कहिले शरीर टाँसिएर बस्ने ! मैयाँको बसाइ मलाई असहज महसुस हुँदै गएको थियो ।
एक दिन मैयाँले मेरो घरपरिवारका बारेमा जान्न खोजिन् । मैले सबै बताएर केटाकेटी र आफूमात्र यहाँ छौँ भनेपछि त मैयाँको हाउभाउ नै झन् बढी देखिन थाल्यो । कुमको उनको हात मेरो कम्मरमा आइपुग्यो । आखिर म पनि पुरूष नै त हो, परस्त्रीको शरीरले छोएको रमाइलै लागेको थियो ।
तर एक दिन मैयाँले कुरैकुरामा मसित शारीरिक सम्पर्कको याचना गरिन् । ओहो, छोरीसरहकी मैयाँ । म विवाहित पुरूष । लौ, बरवाद !
कोठा स¥यो भने त मैयाँलाई ल्याउनु–लैजानु पर्दैन भन्ने मनले सोच्यो । मैयाँकै लागि म त्यो ठाउँ नै छोडने विचारमा पुगेँ र लागेँ कोठा खोज्न ।
नक्सालमा एउटा घर पनि भेटियो । दुई कोठा एक भान्सा, हाम्रो लागि उपयुक्त । दुई तलाको त्यो घरमा माथि घरधनी बूढाबूढी, तल हामी । घर सरियो, मोटरसाइकल पछाडि बस्ने मैयाँ पनि हटिन् । नयाँ घरमा बसेको पनि
महिना बित्यो ।
शनिबारको दिन बिहान भाडा दिन भनेर म माथि उक्लिएँ घरधनी महिला मात्र घरमा हुनुहुँदो रहेछ । सायद्, बूढाकी कान्छी श्रीमती हुन् कि के हो, जवान महिला रहिछन् घरभेटी त ।
“श्रीमान तरकारी लिन जानुभएको छ, बस्नू न म चिया बनाउँछु ।”
उनले मेरो जवाफ नै नसुनी अर्को कोठातिर छिरिन् । म असजिलो महसुस गर्दै अगाडिको सोफामा बसेँ । चिया तयार नहुँदै बूढा पनि आइपुगे । झन्डै ७ को दशकमा हुन् कि जस्ता देखिने बूढाकी बूढी ४ को दशकमा पनि पुगेकी थिइनन्, मेरो हेराइमा । बूढासित गफ गर्दै चिया पिएर भाडा बुझाउँदै म तल झरेँ ।
त्यसको भोलिपल्टदेखि त माथि पाकेका खानेकुराहरु हाम्रो भान्सासम्म आइपुग्न थाल्यो । साँझ–बिहान घरभेटी साहूनी त तल झरेर हामीसित गफ पनि गर्न थालिन् ।
मलाई ज्वरो आयो । बिहान–बेलुकै के–के बहानामा तल झर्ने घरभेटी साहूनीलाई थाहा भइहाल्यो । म बिरामी परेकाले छोराछोरी को घर बस्ने भन्ने छलफल गर्न थाले । पढाइ नछोड, म दिनभर घरमा भैहाल्दछु । म हेरिदिन्छु नि सरलाई भनेर केटाकेटीलाई घर बस्न दिइनन् । मेरा लागि कुरिलोको सूप, मुङको दालको रोटी र अरु पनि के–के खानेकुरा आइनै रहन्थ्यो दिनभर ।
तल–माथि गर्दागर्दै मैले थाहा पाएँ, ती मैयाँ त बूढाकी कान्छी श्रीमती नै रहिछन् । दुइ छोराकी आमा भैसकेकी दिदि अर्कैसित भागेपछि कान्छी साली बिहे गरेका रहेछन्, बुढाले । छोराहरु विदेशमा, बूढा र कान्छी मात्र घरमा । मलाई टाइफाइड भएको रहेछ, घर बसाइ लामै भयो । दाइ–बैनीको साइनोमा हामी बाँधियौँ यो बीचमा ।
तर, मेरी नयाँ बैनी मैयाँको हाउभाउ पनि बेग्लै हुन थाल्यो । उनले पनि एक दिन छोराछोरी घर गएको मौका छोपेर मेरो कोठामा आएर अंकमाल गर्दै भनिन्, ‘दाइ मस्ती गरौँ न ।’ ममाथि बज्रिएको त्यो अप्रत्याशित घटनाले मेरो पूरै शरीर काम्यो ।
‘छोराछोरी मात्र लिएर हजुर बस्ने भनेकोले त मैले हजुरलाई सस्तोमा घर दिएको नि । हजुर काठमाडौँ बसुन्जेल यही बस्नू, हामी मस्ती गरौँ । आखिर, हजुर पनि भोको र म पनि भोको, हुन्न र ?’
ओहो, मैले मुसुक्क मुस्कुराउँदै गरेर बाटोसम्म आएर बिदा गरेकी आफ्नै कालीको अनुहार सम्झिएँ । उसका लागि सबै म, मेरा लागि ऊ किन हुन सक्दिनँ र ? म मैयाँको अँगालोबाट बाहिरिएँ । केहीबेर मैले उसलाई सम्झाएँ ।
अब म बूढा माथि हुने बेलामा मात्र कोठामा बस्न थालेँ । बेला न कुबेला कहाँ–कहा“ बरालिनु । केटाकेटीको छुट्टी पनि सकिएको थिएन । आमाले पकाएको खान छोडेर उनीहरु आफैँ पकाउन चाँडै आउने कुरै थिएन । मलाई भने यहाँ समस्या परिरहेको थियो ।
छोराछोरी नआउन्जेल म धेरै नै बरालिएर बसेँ । छोराछोरी आएपछि त मलाई कुनै असजिलो महसुस गर्नु परेन । घरभेटीलाई भाडा दिन केटाकेटीलाई नै पठाउन
थालेको थिएँ ।
अफिसमा कर्मचारी हेरफेर भए । मेरो शाखामा महिला हाकिम आउनुभयो । काम गराइमा केहीदिन अलमल भए पनि चाँडै नै अफिसको काम सुचारू रुपले चल्न थाल्यो । मेरो र हाकिमको कोठा आमने–सामने नै थियो । प्रायःजसो खाजा हामी सँगै खान्थ्यौँ । उहाँ मेरो हाकिम भए पनि हामीबीचमा मित्रताको भावना बलियो हुँदै गइरहेको थियो । अफिस समयमा धेरैजसो सँगै हुने हुनाले होला, हामीमा अलिअलि घरायसी कुरा पनि हुन थाल्यो ।
उनी त एक छोराकी आमा भैसकेकी कुमारी आमा पो रहिछन् । श्रीमान् तेस्रो लिंगी परेछन् । आफ्नो शारीरिक अवस्था कस्तो छ भन्ने कुरा लुकाउने र अभिभावकको चाहनामा विवाह गरेको परिणाम थियो यो ।
“छोरा जन्मिसकेको छ, तर श्रीमान् नपुंसक भन्दा मेरो कुरा कसले पत्याउँछ र ? म इज्जत भन्दै सात वर्षदेखि त्यही श्रीमान्सित छु । शारीरिक सन्तुष्टिबाहेक अरु कुरामा मेरो श्रीमान्ले जत्ति मेरो लागि गरेको छ, त्यत्ति कुनै श्रीमतीले पनि श्रीमान्बाट पाएका छैनन् होला जस्तो मलाई लाग्दछ”, उनी मसँग भन्दै थिइन् ।
ती महिला हाकिमको कुराले मलाई उनी कुशल कर्मचारीका साथसाथै त्यागकी मूर्ति भन्ने लाग्यो ।
मध्यम वर्गीय परिवारको प्रमुख म व्यावहारिक कुराहरु मिलाउनु मेरै जिम्मेवारीमा पर्दछ । छोरीको विवाह गरियो, त्यो बेला मैले आर्थिक रिन पनि पाएको थिए, उनीबाट । छोरीको विवाहमा निम्ता गरेकाले उनी पनि मसँगै मेरो घर पुगेकी थिइन् । परिवारसँग पनि घुलमिल भैसकेकीले म निःसंकोच परिवारिक कुरा पनि उनीसित गर्न थालिसकेको थिएँ ।
मेरो जीवनमा अर्को अप्रत्याशित घटना घट्यो । शनिबार मेरो मोबाइलमा फोन आयो, उनै हाकिमको । उनी मेरो कोठामा आउने भन्ने कुरा थियो । उनी आउने समाचारलाई मैले सामान्य रुपमा लिएँ । उनी रातो गुलाफको एउटा ठूलो बुके लिएर मेरो कोठामा आइपुगिन् । उनको हातमा बुके देख्दा कुनै पार्टीमा उनलाई जानु रहेछ भन्ने मलाई लाग्यो, तर उनले लगाएको कपडा पार्टीमा जानेजस्तो थिएन । मैले गुलाफको बुकेतिर देखाउँदै इशाराले सोधेँ–
‘यो केका लागि र किन ?’
उनले केही बोलिनन् । ब्यागबाट एउटा खाम निकालेर मेरो हातमा दिँदै भनिन्–
‘यो पढ्नू अनि प्रश्न गर्नुहोला ।’
म आज्ञाकारी बन्दै खाम खोलेर पढ्न थालेँ । पत्रको आशय थियो, दुवै परिवारलाई कुनै असर नपार्ने गरी शारीरिक सम्पर्क राख्ने !!!!
लौ मा¥यो, रातो गुलाफको बुके त प्रेम प्रस्तावको प्रतीक पो रहेछ ! मैले उनको प्रस्ताव स्वीकार गरेँ भने आउन लागेको भ्यालेन्टाइन डेमा रातो गुलाफ उनलाई दिनू रे ।
उफ्, म केही बोल्न सकिनँ । टेकेको जमिन धसियो । चिटचिट पसिना आयो । परिवर्तित मेरो अवस्था देखेर होला, उनी पछि कुरा गरौँला भन्दै बाहिरिइन् ।
अब के गर्ने ! नाइँ भनूँ हाकिम, ल भन्ने त कुरै आउँदैन । छटपटी भयो । कसलाई भन्नु, के गर्नु ? आखिरमा आधी अंग अर्धांगिनीलाई नै भन्ने विचार गरेँ र फोन गरेँ, तुरून्त काठमाडौँ आऊ भन्दै ।
कारण अरु नै बहाना बनाएर बोलाएकाले उनी पनि भोलिपल्टै आइपुगिन्, मेरो अगाडि । गुलाफको बुके र पत्र नै उनका अगाडि
राखिदिएँ । महिला त हो, पत्र पढिसकेपछि सराप्दै रून थालिन् । आक्रोश आँशुबाट बगाई सकेपछि अब के गर्ने भनेर सल्लाह भयो, हामी बूढाबूढीमा । अगाडि परेको समस्याका धेरै समाधानहरु आए–गए र अन्त्यमा निर्णय भयो— अफिसको मुख्य हाकिमलाई भेटेर सबै कुरा अवगत गराउने ।
भोलिपल्ट बिहानै हामी दुवैजना पुग्यौँ हाकिमको निवासस्थानमा । पत्र देखाएर रूँदै मेरी श्रीमतीले मेरा लागि सरूवा गरिदिन अनुनय–विनय गरिन् ।
हाकिमले तुरून्तै सरूवा त गर्न सक्दिनँ, तर शाखा सारिदिन्छु भन्ने आश्वासन दिएर हामीलाई बिदा गर्नुभयो । डेरामा फर्केर खाना खाएर म अफिस आएँ । अफिसका कामका कुराबाहेक मेरो ती महिला हाकिमसित केही कुरा भएन ।
अब डर छ, भ्यालेन्टाइन डेको के गर्ने ?
आज मुख्य हाकिमले मेरो शाखा परिवर्तन गरिदिएको जानकारी दिनुका साथै भ्यालेन्टाइन डेको बेला पारेर मलाई जिल्लाबाहिर फिल्ड पठाइदिने कुरा पनि भन्नुभयो । मन अहिले खुशी भएको छ । उफ्, यो भ्यालेन्टाइन डे…..!

Related Posts

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In