बसन्त पराजुली
नारायणगढ । प्रजातान्त्रिक विचार समाजको केन्द्रीय समितिको बैठक बुधबार नारायणगढमा सम्पन्न भएको छ । बैठकका निर्णयहरुका बारेमा जानकारी दिन आज बिहीबार चितवन घोषणापत्र जारी गर्ने तयारी भइरहेको छ । बैठकले विशेष रुपमा राजनैतिक गतिरोध अन्त्यको लागि दलहरुलाई दबाब दिने निर्णय गरेको छ ।
‘राजनैतिक गतिरोध अन्त्य गर्न दबाब दिने निर्णय भएको छ’, विचार समाजका अध्यक्ष डा. केदारनरसिह केसीले भने, ‘छिट्टै सविधान जारी गरी संक्रमणकाल छोट्याउनुपर्छ भन्ने विचार समाजको निश्कर्ष हो ।’ समाजको आधिकारिक धारणा चितवन घोषणापत्रमा समेटिने पनि उनले जनाए । चितवन घोषणा पत्रको मस्यौदा तयार बनाउन एक छुट्टै कार्यदलसमेत बनाइएको छ ।
‘हाम्रो मान्यता संविधान बनाउने सवालमा सत्तामा रहने प्रधानमन्त्रीदेखि सडकमा रहेको प्रतिपक्षी समेत लोकतान्त्रिक सविधान बनाउने कुरामा जिम्मेवार बन्नुपर्छ’ उनले थपे, ‘
लोकतान्त्रिक संविधान बनाउने सवालमा दलहरुलाई सरकारले बुझाउन सक्नुपथ्र्याे तर त्यो नहँुदा अहिले जटिलता थपिएको हो ।’
‘भारतमा सविधान जारी हुदा समेत तत्काल युरोप र अमेरिकाको ब्याण्ड बाजाजस्तै सविधान भनि केही सभासद्हरुले नोटअफ डिसेन्ट लेखेको कुरा हाम्रो संविधानसभाका सदस्यहरुले पनि बुझ्न र स्मरण गर्न जरुरी छ’, उनले थपे, ‘संविधान आउन नदिनुभन्दा चित्त नबुझेका सवालमा नोटअफ डिसेन्ट गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो ।’
उनले एमाओवादीसहितका प्रतिपक्षी दलहरुलाई लोकतान्त्रिक पद्धतिअनुसार अगाडि बढ्न सुझाव समेत दिए । ‘अब आन्दोलनको कुरा गरेर मात्रै हँुदैन । नेपाली जनताले संविधान खोजेका छन् भन्नेकुरा दलहरुले वुझ्नुपर्छ’, उनले थपे, ‘आन्दोलन र धम्कीले मात्रै होइन सहमति र सहकार्यले संविधान जारी गर्नतर्फ लाग्नुपर्छ ।’
बैठकले राजनैतिकसँगै विधान संशोधनको प्रस्ताव पारित गरेको छ । हाल २८ जिल्लामा मात्रै जिल्ला शाखा रहेको समाजलाई अब सबै जिल्लामा विस्तार गरिने निर्णय पनि वैठकले गरेको छ । समाजका सचिव डा. ईश्वरीराज लौडारीका अनुसार विचार समाजलाई थप समावेशी बनाउँदै लग्ने निर्णयसमेत वैठकले गरेको छ । ‘सबै क्षेत्र वर्ग र पेशाका समुदायका नागरिकलाई समावेश गरी समाजलाई सबैको प्रतिनिधित्व बनाउने निर्णय गरेका छौँ’, उनले भने ।
Discussion about this post