बछौली । वन्यजन्तुलाई गाउँमा छिर्नबाट रोक्न बछौली र सौराहा क्षेत्रमा विद्युतीय तारबारको काम सुरू गरिएको छ । झण्डै सात वर्षअघि लगाइएको विद्युतीय तारबार बिग्रिएर गाउँमा गैँडा र हात्ती पसेर क्षति पु¥याउन थालेपछि स्थानीयको पहलमा विद्युतीय तारबार लगाउन सुरू गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जबाट मकवानपुरे नाम गरेको गैँडा र रोनाल्डो नाम गरेको जंगली हात्ती गाउँमा पसेर अन्नबाली र घर नै भत्काउन थालेपछि स्थानीयवासीले नियन्त्रणको लागि निकुञ्ज र मध्यवर्ती उपभोक्ता समितिलाई पटकपटक आग्रह गरेका थिए ।
तत्कालको लागि निकुञ्जको प्रवेशद्वारदेखि कुमरोज र बछौली जोडने पुलसम्म चार मिटर विद्युतीय तारबार गर्न सुरू गरिएको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष मोती सापकोटाले जानकारी दिए ।
बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, तराई भू परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा चार किलोमिटरमा विद्युतीय तारबार गर्न लागिएको हो । पाँच लाखको लगानीमा सौर्य उर्जासहितको विद्युतीय तारबार गर्न लागिएको समितिका अध्यक्ष सापकोटाले बताए ।
सात वर्षअघि लगाइएको विद्युतीय तारबार व्यवस्थापनको अभावले काम नलाग्ने भएपछि फेरि निकुञ्ज र बस्तीको सिमानामा विद्युतीय तारबार गर्न लागिएको हो । गाउँमा गैँडा पसेर बालीनाली सखाप पर्ने र जंगली हात्ती पसेर घर भत्काउने गरेको थियो ।
Discussion about this post