जवाङ (धादिङ) । घरनजिकै नदी तर्ने पुल त परै जाओस् र तुइनसमेत नहुँदा हरेकदिन ज्यानको बाजी राखेर जोखिमपूर्ण ढंगबाट ट्युब चढेर त्रिशूली नदी तरेर विद्यालय आउने गरेका गोरखा भुम्लीचोक–८ हुइलिङबेसीका साहसिक दुई छात्रालाई सहयोग प्राप्त भएको छ ।
साहसिक दुई बालिकाको कष्टकर दैनिकीबाट प्रभावित हुँदै दाताहरुले उनीहरुको सुरक्षित यात्राका लागि सहज हुने विग रिभर ट्युब (बोटिङ ट्युब) सेट र घर उज्यालो बनाउन सोलारका साथै पोशाक एवम् शैक्षिक सामग्री दिएका हुन् ।
लामो समयदेखि नेपालमा रहेर फोटो पत्रकारिता गरेकी अष्ट्रेलियन नागरिक लिण्डेल केइन र ट्रिनिटी कलेज काठमाडौँमा अध्ययनरत विद्यार्थीहरुको समूह सहयोगका लागि पहिलो पाइलाका तर्फबाट याङ्ला नाओमी र फिल्म निर्माता एवम् कलाकार अमित ढुंगानाले चेपाङ बालिकाहरु वारपार गर्ने त्रिशूली किनारको जवाङमा पुगेर संयुक्त रुपमा विग रिभर ट्युब, प्याडल, वाटरप्रुफ ब्याग तथा शैक्षिक सामग्री सहयोग गरेका छन् ।
यसैगरी मस्टो आउट डोअरका रमेश कुँवरले विग रिभर ट्युबमा हावा भर्न एक सेट पम्प, धादिङ घर भई काठमाडौँमा आउटडोर हिमालयन ट्रेक्समा कार्यरत बद्री अर्यालले दुई थान लाइफ ज्याकेट चेपाङ बालबालिकालाई उपलव्ध गराएका छन् । साहसिक दुई चेपाङ बालिकाको बारेमा थाहा पाएपछि धादिङ कुम्पुर, आदमटार घर भई काठमाडौँमा क्यारियर इन्टरनेशनल सर्भिसका (म्यानपावर व्यवसायी) प्रवन्ध निर्देशक श्यामचन्द्र खतिवडाले चार घरका लागि २० वाट क्षमताका चार सेट सोलार बत्ती सहयोग गरेका छन् ।
खतिवडाको अभियानलाई समर्थन गर्दै वैकल्पिक उज्यालो सोलार कम्पनीका प्रवन्ध निर्देशक कृष्णप्रसाद पण्डितले सोलारमा प्रतिसेट १५ सय रुपैयाँ छुट दिनुका साथै जडानसमेत निःशुल्क गरिदिएका छन् । नास्टका प्राज्ञ एवम् पुल्चोक इञ्जिनियरिङ क्याम्पसका भिजिटिङ प्रोफेसर जगन्नाथ श्रेष्ठले दुई थान सोलार ल्याम्प उपलव्ध गराएका छन् । सिड्स धादिङको तर्फबाट कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कार्यक्रम संयोजक गंगा सुवेदी र संस्थाका उपाध्यक्ष रामचन्द्र रुपाखेतीले बालिकाहरुलाई एक वर्षलाई पुग्ने शैक्षिक सामग्री र स्कुल ड्रेस त्रिशूली किनारमै पुगेर हस्तान्तरण गरेका छन् ।
विद्यार्थीहरुको सहयोगका लागि पहिलो पाइलाले काठमाडौँको बौद्धलगायतका स्थानमा ह्याण्डीक्राफ्ट, कुकिज, पानी पुरीलगायतका सामग्री बेचेर रकम संकलन गरी सहयोग जुटाइएको याङ्लाले बताए । राजधानीको छेउमै रहेको गाउँबस्तीका आफ्नै उमेर समुहका बालबालिका पढ्न जानका लागि दिनहुँ यस्तो सास्ती खेप्न बाध्य हुनु परेको देखेपछि स्वयंसेवी भावनाले अभियान चलाएर सहयोग रकम जुटाउन सफल भएको याङलाको भनाइ छ ।
यसअघि अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा बस्दै आएकी काठमाडौँकी महालक्ष्मी महतले ती दुई बालिका नदी तर्दा हुनसक्ने जोखिमबाट बचाउन दुई थान लाइफ ज्याकेट उपलव्ध गराएकी थिइन् । गाउँनजिकै तुइन र झोलुङ्गे पुल नहुँदा हरेकदिन ट्युबको भरमा त्रिशूलीको भेलमा हेलिएर गोरखाको भुम्लीचोक हुइलिङबेसीबाट धादिङको मझिमटारमा रहेको शंखदेवी उमाविमा पढ्न आउने गरेका सरिता र राममाया चेपाङको साहसिक कार्यको प्रशंसा गर्दै उनीहरुलाई सहयोग जुटेको हो ।
कक्षा ५ को पढाइ गाउँकै विद्यालयमा पूरा गरेपछि ६ कक्षाको पढाइका लागि त्रिशूलीको भेलसँग जुध्दै मझिमटार आउने गरेका चेपाङ बालबालिकाको कष्टकर साहिसक यात्राले आफूलाई निकै प्रभावित बनाएकाले सहयोगका लागि पहल सुरु गरेको अष्ट्रेलियन पत्रकार लिण्डेल केइनले बताए ।
एकसाताअघि पहिलो पटक लाइफ ज्याकेट पाएपछि निकै खुसी देखिएका चेपाङ किशोरीहरु सेटसहितको रिभर ट्युब (बोटिङ ट्युब) सेट पाएपछि झनै खुसी देखिएका छन । ट्युबमा चढ्दा हावा खुस्कने, नदीको बहाबले पल्टाउने समस्या भइरहन्थ्यो अब त्यो समस्या नहुने भयो, अव हामी सुरक्षित यात्रा गरेर पढ्न जान सक्ने भयौँ सहयोग लिँदै चेपाङ बालिकाले वताए ।
हुइलिङबेसीबाट जोखिम बहन गरेर नदी वारपार गर्ने चार घर देखिए पनि सो स्थानमा पुल निर्माण गर्न सकिए भुम्लीचोक गाविसका दुई सय घरपरिवारले लाभ लिन सक्ने नेपाल चेपाङ संघका केन्द्रीय सदस्य एवम शंखादेवी उच्च मावि मझिमटारका शिक्षक तिलक चेपाङको सुझाव छ ।
चेपाङ परिवारलाई सोलार, बालिकाहरुलाई सेटसहितको रिभर ट्युब (बोटिङ ट्युब) र शैक्षिक सामग्री हस्तान्तरणका लागि जवाङस्थित त्रिशूली नदी किनारमा पुगेका जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्यालले गोरखा जिल्ला विकास समितिसँग समन्वय गरेर यस ठाउँका बासिन्दालाई नदी तर्न जोखिम मुक्त बनाउन दुई जिल्ला विकास समितिबीच छलफल गरी पहल गर्ने बताएका छन् ।
आपुू निरक्षर रहे पनि छोरीलाई पढाउनु पर्छ भन्ने बुझेर दिनहुँ विद्यालय पठाउँदा सधँैभरि आफूहरुलाई डर त्रास हुने गरेकोमा अब सजिलैसँग नदी तर्न सक्ने सरिताका बाबु बिष्णुले बताए । छोरीको कारण नदी तर्ने सेटसहितको आधुनिक ट्युब, लेखपढ गर्ने कापी कलम अन्य शैक्षिक सामग्री, विद्यालय पोशाकका साथमा घर उज्यालो बनाउने सोलार पनि पाउनु भनेको आफ्नो छोरीहरुको दुःखले सबैलाई छोएकोले उनीहरुले पढ्न चाहेसम्म पढाइरहने बिष्णुले बताएका छन् ।
आफूहरु मान्छे नै भए पनि सरकारको कुनै पनि निकायले नहेरिदिँदा, दैनिक बजार आउन, बिरामी पर्दा उपचारका लागि स्वास्थ्य संस्था सम्म जान र घरमा चाहिने खानेकुरा किनमेल गरेर घर फर्कन सधँैभरि डर र त्रास भोग्नु परेको विष्णुको दुःखेसो छ ।
Discussion about this post