सौराहा । ६ बुँदे सौराहा घोषणापत्र जारी गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघको दोस्रो साधारण सभा तथा राष्ट्रिय सम्मेलन शनिबार सकिएको छ ।
महासंघले सौराहामा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनले अख्तियार गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले जारी गरेको घोषणापत्रमा सुनचाँदी गरगहना उत्पादन तथा बिक्री वितरणको लागि आचारसंहिता बनाएर लागू गर्ने जनाइएको छ । महामसंघले स्वच्छ सुनचाँदी व्यवसायको अवधारणालाई अवलम्बन गर्दै सुनचाँदीको अवैध कारोबारलाई निरूत्साहित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
त्यसैगरी अवैध पैठारीको प्रवेश नाकामा नियन्त्रण गर्न सरकारसँग माग गर्दै यसका लागि आवश्यक सहयोग र सहकार्य गरी अगाडि बढने घोषणापत्रमा उल्लेख गरिएको छ । कमिसनको लोभमा परी व्यवसायीलाई सुनचाँदी र गरगहना एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा धरपकट नगर्न सरकारसँग माग गरिएको छ ।
सरकारले करको सवालमा कसिलो नीति बनाइएर व्यवसायीलाई अफ्ठ्यारोमा पारेकाले सरल नीति बनाएर व्यवसाय सञ्चालन गर्ने वातावरण सृजना गर्न महासंघले सरकारसँग आग्रह गरेको छ । साधारण सभा तथा राष्ट्रिय सम्मेलनले अख्तियार गरेको नीति तथा कार्यक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गरी नेपालको सुनचाँदी व्यवसायलाई विश्वसनीय बनाइने महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
शुक्रबारबाट सुरू भएको दोस्रो साधारण सभा तथा राष्ट्रिय सम्मेलनको उपप्रधानमन्त्री प्रकासमान सिंहले उद्घाटन गरेका थिए । साधारण सभाको बन्दसत्रले आर्थिक, वार्षिक तथा भावी कार्ययोजना पारित समेत गरेको अध्यक्ष शाक्यले बताए ।
Discussion about this post