शक्तिखोर । चितवन समाज इजरायलले शनिबार शक्तिखोर गाविस वडा नं. २ राजवनको राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई चप्पल, विद्यालय झोला, स्टेशनरी, स्वीटर र ऊनीको टोपी वितरण गरेको छ । चप्पलबिना विद्यालय आउने विद्यार्थीको बाध्यता सम्बन्धी समाचार प्रकाशित भएपछि समाजले सहयोग गरेको छ ।
समाज स्थापना भएको वर्ष दिनको अवसर पारेर शनिबार शक्तिखोरमा आयोजित कार्यक्रममा चितवन समाज इजरायलकी अध्यक्ष शान्ति ज्ञवालीले विद्यार्थीलाई सामग्रीहरु वितरण गरिन् । कक्षा एकदेखि तीनसम्म पढाइ हुने सो विद्यालयमा ४५ जना विद्यार्थी छन् । चार पाँचजना बाहेक अरुको चप्पल किनेर लगाउने आर्थिक अवस्थासमेत नभएको प्रधानअध्यापक निराजन चेपाङले बताए ।
समाजले सवै विद्यार्थीका लागि चप्पलसहित स्कुल झोला, आधा दर्जन कापी र पेन्सिल, स्वीटर र उनीको टोपी दिएको हो । त्यस्तै विद्यालयका लागि पनि नक्सा र खलकुद सामाग्री सहयोग गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।
लगभग ५० हजार रुपैयाँ बराबरको सामाग्रीहरु विद्यार्थीलाई दिएको उनको भनाइ छ । इजरायलमा काम गर्ने चितवनवासीले सो संस्था खोलेका हुन् । ‘विकटमा विद्यालय छ । गाउँमा शिक्षा फैलाउन विभिन्न प्रयासले विद्यालय खोलेको हो । गरिबका छोरा छोरी पढ्ने ठाउँमा आएको सहयोग हाम्रा लागि निकै ठुलो हुन्छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविलाल चेपाङले भने । जिल्लाका आदिवासी समुदाय चेपाङको आर्थिक अवस्था निकै कमजोर छ । तै पनि आफुहरु शिक्षामा अगाडी बढ्ने जमर्को गरेको कविलालले बताए ।
स्थापन भएको वर्ष दिनभित्र समाजले सहयोग सम्बन्धी सात वटा कार्यक्रम गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । ‘सुनकोशी बाढी पीडितबाहेक अरु सबै सहयोग चितवनमा नै गरेका छौँ । शिक्षाको क्षेत्रमा सहयोग गर्ने हाम्रो प्राथमिकता छ । पढाइमा बाधा व्यवधान नहोस् भन्नका लागि हामी सहयोग दिने गर्छौँ’ अध्यक्ष ज्ञवालीले भनिन् । यो वर्ष १० लाख रूपैयाँ बराबरको सहयोग भएको छ ।
‘स्कुल जान खोजे पनि कापी कलम नभएर पढाइ छाड्ने विद्यार्थी धेरै छन् । मैले पनि पाँच कक्षासम्म अनेक दुःख गरेर पढें । पुराना कापीमा समेत होमवर्क लेखेर बुझाए । तर सबैले यस्तो गर्दैनन् । कापी किताप भएन भने स्कुल नै छाड्छन्’ प्रधानध्यापक निराजनको भनाइ छ । चप्पल नहुँदा चिसोमा ठिह¥याउँदो र चुच्चा ढुंगामा ठोक्किएर रगत बगेको खुट्टा लिएर विद्यार्थी स्कुल आउँथे । कार्यक्रममा ज्ञानराम सुवेदी, अर्जुन घिमिरेलगायतले बोलेका थिए ।
नोट ः चप्पल, स्विटर सहयोग पाएपछि खुसी भएका विद्यार्थीहरु ।
Discussion about this post