जिल्ला कारागार चितवनको क्षमता १७० बन्दी कैदी राख्ने हो तर अहिले यहाँ ५११ जना राखिएका छन् । कारागारमा पर्याप्त मात्रामा शौचालय र खानेपानीको व्यवस्था हुन सकेको छैन । ढलको व्यवस्थापन नहुँदा दुर्गन्धले रोगको महामारी हुने अवस्था छ ।
चितवन कारागारको मुख्य समस्याका रुपमा अहिले ढल निकास भएको र त्यसतर्फ सबै निकाय केन्द्रित हुनुपर्ने सदस्य पाठकको भनाइ छ । त्यस्तै पाठकले चितवन राष्ट्रिय निकुञ्जले अभियुक्तलाई पक्राउ गर्दासमेत पक्राउ पुर्जी नदिएको र पक्राउ पुर्जीबिना कुनै मानिसलाई नियन्त्रणमा लिन नपाउने भन्दै यसले मानव अधिकारको उल्लंघन भएको बताए ।
‘चितवन निकुञ्जका तिनैवटा थुनुवा कक्ष वैज्ञानिक छैनन्’, उनले भने । पक्रने, बयान लिने र आफँै फैसला गर्ने निकुञ्जको कानुनी व्यवस्था नै त्रुटीपूर्ण रहेको उल्लेख गर्दै उनले त्यसको सुधारका लागि वनको नीतिका कारण वन र राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले गर्ने निर्णय शंकाको विषय बनेको टिप्प्णी पनि गरे । कतिपय मुद्दाहरु निकुञ्जले दुई वर्षभित्र फैसला गर्नुपर्नेमा पाँच वर्षसम्म पनि फैसला गर्न नसकेको उनको भनाइ थियो । ‘चालिस प्रतिशत मुद्दा दुई वर्ष नाघेको पाइयो’, उनले भने ।
उनले मंसिर ४ गते अज्ञात समूहको आक्रमणमा घाइते भएका पत्रकार नारायण अधिकारीको आक्रमणकारीको पहिचान गरी कारबाही गराउनका लागि प्रहरी प्रशासनलाई सचेत गराए ।
Discussion about this post