भरतपुर । विद्यालयको ठूलो सहभागिता रहने जिल्लास्तरको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डको क्षेत्र नम्बर ३ का खेल शुक्रबार र शनिबार दुई दिनसम्म क्याम्पाचौरमा सञ्चालन गरिने भएको छ ।
प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजीप्रसाद ढकालले जानकारी दिए । क्षेत्र नम्बर १, २, ४ र ५ का खेलहरु सकिएपछि अन्तिम क्षेत्रका रुपमा क्याम्पाचौरमा खेल गर्न लागिएको उनले बताए । प्रतियोगिताका लागि मैदान व्यवस्थापनका कार्य बिहीबार साँझसम्म सकिएको आयोजकले जनाएको छ ।
एथलेटिक्स र भलिबलका विभिन्न इभेन्टमा यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी हुनेछन् । क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट भएकाहरु आगामी फागुन ५ र ६ गते गरिने जिल्लास्तरीय रनिङ शिल्डमा सहभागी हुनेछन् ।
गत माघ १८ गतेबाट सुरु भएको प्रतियोगिता चरणगतरुपमा फागुन ६ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगितामा एथलेटिक्सतर्फ छात्र तथा छात्राको एक सय, दुई सय, चार सय, आठ सय, १५ सय मिटर दौड तथा दुई इभेन्टमा रिले दौड गरिने छ । छात्र तथा छात्रा दुवैतर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्यभलिङ थ्रो र सर्टफुट गरिने छ ।
Discussion about this post