डा. धनपति कोइराला
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भई बसेको सम्मानित संविधानसभाको बैठकमा माघ ८ मा संविधान दिन्छौँ भनी कसम खाएका थिए, सबै दलहरुले । तर, वाचा पूरा गरेनन् । तोडफोड र नाराजुलुसमै सीमित बन्न पुग्यो, त्यो दिन पनि । घेराउ, तनाव र नाराजुलुसकै बीचमा सभाध्यक्षले प्रश्नावली समितिको प्रस्ताव गरे र त्यो बहुमतले पारित पनि भयो । तर, हलो फेरि यहीँ अड्कियो ।
सहमति गर्न भन्दै संविधानसभाले उच्चस्तरीय संयन्त्र पनि बनायो । शीर्षस्थ नेतृत्वका बीच सयौँपटक संवाद चल्यो । संवाद तथा सहमति समितिले कयौँ बैठक
डाक्यो । बैठक बस्यो, उठ्यो । फेरि बस्यो, उठ्यो । झुप्रे बूढीको घरदेखि सिंहदरबार, होटल, रेस्टुरेन्ट, बार, मोटेल र फाइभ स्टारसम्म । विवाद मिल्छ भने ठिकै छ भनी जनता बोलेनन् । सबै नाटक हेरिरहे, सुनिरहे र सहे बसे, तै अन्तिम घडीमा त कसो नमिल्लान् भनेर । जब माघ ८ आयो, मिल्नुभन्दा झनै दूरी बढ्यो । जनता खिन्न भए । दुःखी भए । निराश भए । सर्वसाधारण जनता चाहन्थे, कुनै पनि मूल्यमा नेता मिलून् र संविधानमार्फत सबैलाई समेटून् ।
भोको पेटले कथा सुन्न सकिरहेको छैन । मनन् गर्न सकिरहेको छैन । त्यसको सार ग्रहण गर्न सकिरहेको छैन । जनतालाई त अहिले गाँस चाहिएको छ । बास चाहिएको छ । आङ ढाक्ने कपडा चाहिएको छ । कम्तीमा साक्षरता चाहिएको छ । जेनतेन बनीबुतो गरेर ल्याएको चामल पकाएर खान ग्यास चाहिएको छ । देशमा रोजगारीको प्रचुर सम्भावना हुँदाहुँदै पनि सारा आफन्त छोडेर अर्काको गुलाम बन्न खाडीमा भास्सिनु परेको छ । बूढा भएका बुबाआमा र भर्खरै विवाह गरेकी जीवनसँगिनी छोडेर हिँड्नु परेको छ । छोराछोरीहरुलाई बिस्यार पारेर नगई नहुने बाध्यता उनीहरु सामु छ । युरोपका घरआँगन र गल्लीहरुको सफाइ गर्न जानु परेको छ । बूढापाकाहरुको सुसार गर्न जानु परेको छ । भेँडा चराउन मजारा जानु परेको छ । ठूलाठूला भवन र सडक बनाउन जानु परेको छ ।
त्यहाँका नियम–कानुन नजान्दा कयौँ जेल परिरहेछन् । त्यहींँ सडिरहेछन् । मृत्युदण्ड भोगिरहेछन् । वातावरण सन्तुलित गर्न नजान्दा कत्ति अकालमा मरिरहेछन् । सुतेकै ठाउँमा अररा भएका भेटिएका छन् । एक घुड्को पानी पनि पिउन नपाई ज्यान गुमाइरहेछन् । ट्राफिक नियम नजान्दा कयौँ सडक दुर्घटनामा परिरहेका छन् । कयौँ चेलीलाई रोजगारीरुपी बल्छीमा पारेर बेचिइरहेछन् । विदेशी भूमिमा रखौटी बनिरहेछन् । रस निकालिएको कागतीसरह खोस्ट्याइएका छन् । रोग लिएर फर्किरहेछन् । प्रलोभनमा पार्ने र पर्नेक्रमको शृङ्खला चल्दो छ । अझै द्रुत गतिमा उत्कर्षतर्फ लम्कँदो छ । पापी पेटको ज्वाला शान्त पार्न अनि आफ्ना छोराछोरीको सुनौलो भविष्य हेर्ने सदिच्छाले गएकाहरुको बाकस दिनहुँ भित्रिँदो छ । उतै अलपत्र भई सड्दो छ । घर लथालिङ्ग हुँदो छ ।
स्वदेशभित्रै पनि मुक्त कमैया, मुक्त कमलरी, मुक्त हलिया र बादीबधिनीहरुको चुलो जल्न सकेको छैन । बाढीपीडितहरुको, अग्निपीडितहरुको, पैरोपीडितहरुको अनि वन्यजन्तुपीडितहरुको आङ ढाक्न र मामको जोहो गर्न सकिएको छैन । छुवाछूत र विभेदहरु निमिट्यान्न हुन सकेको छैन । छिमेकीले माटो मिचिरहेछ । जङ्गे पिल्लर हराइरहेछ । मेची, सुस्ता र कालापानी जलिरहेछ । छन् कति हो कति समस्या । सङ्क्रमण जति बढ्दै छ, उति समस्यारुपी क्यान्सरहरुले देशलाई खोक्र्याइरहेछ । कालोबजारी र भ्रष्टाचारी मौलाउँदो छ । उच्छृङ्खलता र अराजकता चुलिँदै छ ।
जनता यसको तत्काल समाधान चाहन्छन् । विवाद चाहन्नन् । आन्दोलन चाहन्नन् । बन्द र चक्काजाम चाहन्नन् । कसैको राष्ट्रपति बन्ने चाहना पूरा गर्न अब बलिको वेदीमा होमिन चाहन्नन् । कसैको उपराष्ट्रपति र प्रधानमन्त्री बन्ने चाहना पूरा गर्न अब बलिको वेदीमा होमिन चाहन्नन् । कसैको सभामुख र उपसभामुख बन्ने चाहना पूरा गर्न अब बलिको वेदीमा होमिन चाहन्नन् । कसैको कुनै खाले अभीष्ट पूरा गर्न बन्ने चाहना पूरा गर्न अब बलिको वेदीमा होमिन चाहन्नन् । यस्ता देखावटी राष्ट्रियता बुझ्न थालिसकेका छन्, जनताले अब ।
जनताले अब टुटेको हेर्न चाहन्नन्, जुटेको हेर्न चाहन्छन् । मिलेर सारा समस्या समाधान गरेको हेर्न चाहन्छन् । कसैको तुक्का र झटारो सुन्न चाहन्नन् । उनीहरुले एकले अर्कोलाई सम्मान गरेको हेर्न र सुन्न चाहन्छन् । मेरै गोरूको बाह्रै टक्का गरेको रूचाउन्नन् । अब सबै दलहरुले आफ्नो हठ त्याग्नैपर्छ । लोभी र पापी सोच त्याग्नैपर्छ । स्वार्थ र हठधर्मिता त्याग्नैपर्छ । एकले अर्कालाई माइनस गर्ने प्रवृत्ति त्याग्नैपर्छ । राम्रो प्रस्ताव ल्याउनेलाई सम्मान गर्नुपर्छ । चाहे, त्यो गच्छदारकै होस् । चाहे नारायणकाजी, ओली, देउवा, प्रचण्ड वा उपेन्द्रकै किन नहोस् । उसको प्रस्ताव स्वीकार गरे उसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हाइट बढ्छ, मेरो घटछ भन्ने निकृष्ट सोच मनबाटै हटाउनुपर्छ । जसले अरुको कदर गर्न सक्छ । अरुका कुरा सुनेर सही निष्कर्ष निकाल्न सक्छ । अरुको पनि चित्त बुझाउन सक्छ । अरुलाई पनि मनाउन सक्छ । ऊ नै सच्चा नेता हो र हुन्छ । कुनै दलको अध्यक्ष वा पदाधिकारी हुँदैमा मात्र कुशल राजनेता हुँदैन । राजनेता हुन उदार दृष्टि चाहिन्छ । अरुको मानहानि होला कि भन्ने संवेदनशीलता चाहिन्छ । राष्ट्रिय चिन्तन चाहिन्छ । गम्भीरता चाहिन्छ । मितवाक् चाहिन्छ । दूरदर्शिता चाहिन्छ । छूद्रता होइन । बमझैँ पड्किहाल्ने स्वभाव होइन । एउटा अघि लागे त्यसैको पछि लाग्ने भेँडाजस्तो एकोहोरोपन होइन । क्षणिक आवेशमा आइहाल्ने अल्लारे केटौलेपन होइन । पाको चरित्र चाहिन्छ । आवश्यकताअनुसार एक कदम पछि हट्ने र एक कदम अघि बढ्ने सोच र तत्परता चाहिन्छ । निकृष्ट चिन्तन र व्यवहारप्रति गरम र सही अनि सत्यप्रति गरम नीति चाहिन्छ ।
सासूको रिसले पोइको खुट्टा टोक्ने प्रवृत्ति हाँगिदो छ । यसलाई अब बन्द गर्नुपर्छ । लुकामारी खेल्ने प्रवृत्ति पनि त्याग्नुपर्छ । देश र जनतामाथि आवश्यकताभन्दा धेरै राजनीति भो । देशलाई तल पार्ने र जनतालाई अधोगतितिरै लैजाने राजनीति भो । यो कस्तो राजनीति ? करिब २०० वर्षयताकै राजनीति साह्रै फोहोरी भयो । निकृष्ट र स्वार्थपूर्ण राजनीति । यो निकृष्ट र स्वार्थयुक्त राजनीति ठीक भएन भनेर थालिएको राजनीति पनि उस्तै नर्ककुण्डमा चुर्लुम्म डुबेझैँ भो । न यसले निकास दिन्छ, न विकास दिन्छ, न न्याय र प्रेम नै दिन्छ । न यसले सेवा दिन्छ, न सुविधा दिन्छ, न अपनत्व नै दिन्छ । न यसले सुरक्षा दिन्छ, न सद्भाव दिन्छ, न त सहानुभूति नै दिन्छ । न यसले एकता दिन्छ, न त राष्ट्रियता र भाइचारा नै दिन्छ । यस्तो सत्ताकै लागि मात्र गरिने राजनीति के राजनीति ? भो अब बन्द गर यो शोषण र अत्याचार । देशमाथि भो ज्यादै अत्याचार । स्वार्थ र वैमनस्य त्याग्नैपर्छ । आफ्नो कदलाई एक फिट नै भए पनि माथि उठाउनैपर्छ । सहमति, सहकार्य र सद्भाव
राख्नैपर्छ । जनतामाथि भो घात, प्रतिघात र सङ्घात । ओठे भक्ति र ओठे गाली अब त्याग्नैपर्छ ।
अब दलहरु मिल्नैपर्छ । मिलेर अघि बढ्नुपर्छ । न तेरो जित, न मेरो जित । मात्र, जनताको जित हुनुपर्छ । देशको जित हुनुपर्छ । सबै देशभक्तको जित हुनुपर्छ । सबै यो देशलाई माया गर्नेहरुको जित
हुनुपर्छ । सबै न्यायप्रेमीहरुको जित हुनुपर्छ । ‘संगच्छध्वम् संवदध्वम्’ भन्न सबैले पाउनुपर्छ ।
त्यसरी नै नेतृत्वको यो सहमति ‘जनता अघि जानिनँ, पछि मानिनँ’ भन्ने उक्ति चरितार्थ हुँदै छ, अहिले ।
¨¨
Discussion about this post