गैँडाकोट । विसं. १९९२ सालमा गैँडाकोटमा जन्मिएका जगतबहादुर बोटेका वरपर छोरा र नातिनातिनाहरुको ठूलो जमात छ । तर पनि केही वर्षअघि रोग लागेर श्रीमती बितेपछि उनी एक्लाजस्तै भएका छन् । दिन काट्ने मेसो निकाल्न पुराना सम्झनाहरुमा रमाउँछन् ।
नारायणीमा डुंगा चलाएर जगतबहादुरले दुनियाँलाई पारी कटाए तर उनले आफ्नो जीवनलाई प्रगतिको पारी पु¥याउन सकेनन् र जीवनलाई वारी नै राखे अर्थात् जीवनमा उनले प्रगति गर्न सकेनन् ।
अहिले ऐलानी जमिनमा संस्थाले बनाएको सानो घरमा बस्ने जगतबहादुरसँग एक समय प्रशस्तै सम्पत्ति थियो । नदीमा रमाउने बोटेका लागि त्यो बेला नदीमा काम पनि थियो अनि माछा पनि प्रशस्तै थियो । नदीमा काम टुटेको धेरै भयो । त्यस्तै, माछा पनि पाइँदैनन् अहिले नदीमा ।
‘धेरै पनि हुन्थे अनि ठूला पनि हुन्थे’ जगतबहादुरले पुराना दिन सम्झिए । एकपटक प्रहरी आएर उनीहरुलाई माछा मार्न भन्यो । ‘राजा महेन्द्र आउँदै रहेछन् । उनैका लागि माछा मारेर ल्याउ भने । मेरो दाइ टीकाराम र म भएर नारायणीमा तीन घण्टा खोजेपछि बडेमानको माछो फेला प¥यो’ उनले भने ।
‘भालाले हानेको सहर माछा १२÷१५ किलोको थियो । पानीबाट दुई भाइले निकाल्यौँ । अनि काँधमा हालेर राजाको अगाडि राख्यौँ । माछा भ्याटभ्याट गर्दै चलमलाइ राखेको थियो । माछा देखेर राजा दंग खाए । स्याबासी दिए’ यो कुराभन्दा उनको मुहारको चमक एकाएक बढेको थियो ।
उनका बाबु तनहुँकोटबाट बसाइँ सरेर गैँडाकोट आए । नदी तिरमा बनेको छाप्रामा उनको जन्म भयो । १५ वर्षको हुँदा उनले डुंगाको बहना समाते । त्यतिबेला नारायणी नदीमा पुल थिएन । मान्छे वारपार हुने एकमात्र साधन थियो डुंगा । धेरै पछि सडक पनि बन्यो । गाडीसमेत डुंगामा राखेर तारे उनले ।
‘दुईवटा ठूला डुंगालाई बाँधेर एउटा बनाउथ्यौँ । त्यसमा एउटा बस वा ट्रक अनि सानो गाडी जीप अटाउँथ्यो’ जगतबहादुरले भने । चारजनाले खियाएर डुंगा पार हुन्थ्यो । धेरैलाई पारी कटाए उनले तर आफ्नो जीवन वारी नै रहेको अनुभव छ उनको । नारायणगढमा पुल बनेपछि उनको काम सकियो । त्यसपछि परिवार पाल्न धौंधांै हुन थाल्यो ।
उनका तीन छोरी चार छोरा थिए । उनीहरुका लागि खाने अन्नको जोहो गर्दागर्दै नाममा रहेको अढाइ बिघा जमिन स्वाहा भयो । ‘खै, कसले लगे लगे नामको जमिन । एकबोरा चामलमा पनि लगे । हजार रूप्पे दाममा पनि लगे । अहिले त रित्तै’ जगतबहादुरले भने ।
अक्षर नचिन्नुको बेफाइदाले सम्पत्ति त्यसै नासियो भन्छन् उनी । उनका छोराले पनि स्कुल टेक्न पाएनन् । छोराका सन्तानहरुले स्कुल टेके पनि भने जस्तो नपढ्दा जगतबहादुरको चित्त दुखेको छ । उनका माइला छोरा पनि बितिसकेका छन् । अरु छोरा गाउँमै मजदुरी गरेर जीविकोपार्जन गर्छन् ।
अलि पढेको भनेको कान्छो छोरा सुरेश हो । उनी चार कक्षासम्म पढे । त्यसपछि घरको गाह्रो लगाउने काम सिके । अहिले काममा विभिन्न ठाउँमा जान्छन् । उनै सुरेशको रमेश बोटे पढ्नमा चलाख थियो । एसएलसी कटाउने भयो भन्ने ठूलो आशा थियो जगतबहादुरलाई ।
‘तर उसले पनि कक्षा ८ मात्रै पढ्यो । अनि स्कुल जानै मानेन । पढ्दै नपढेपछि अहिलेको जमानामा गाह्रो छ । खै, मेरै झैँ हालत छोरा नातिको पनि हुने भयो भनेर ठूलो चिन्ता लाग्छ’ जगतबहादुरले भने । कि सीप चाहियो कि पढाइ चाहियो, दुबै नभएपछि बेकारको भएर बाँच्नुपर्ने रहेछ भन्छन् उनी ।
हातको सीप पनि सधैँ काम नआउने रहेछ । ‘सीप मेरो हातमा पनि थियो नि । डुंगा चलाएर दुनियाँलाई पार लगाएकै हो । तर पुल बन्यो डुंगा काम लागेन । नदीमा माछा सकिए । उपाय लागेन । समयअनुसारको सीप पनि हुनुपर्छ’ जगतबहादुरले आफ्नो भोगाइ सुनाए ।
Discussion about this post