रत्ननगर । रत्ननगर नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन तीनवर्षे अभियान शुक्रबारबाट सुरू गरिएको छ ।
वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्र्तगत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा सरसफाइ अभियान सुरू गरिएको हो । नगरबाट निस्किने फोहोरको व्यवस्थापनसँगै नगरवासीलाई फोहोर व्यवस्थापनको लागि जागरुक हुन प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिए ।
वातावरणमैत्री नगर बनाउने अभियानको पहिलो दिन शुक्रबार रत्ननगर नगरपालिकाको कार्यालयदेखि टाँडीचोकसम्म नगरको मुख्य राजमार्गमा सरसफाई गरिएको नगरपालिकाका सामुदायिक विकास शाखाका तेजेन्द्रनाथ लामिछानेले जानकारी दिए । कार्यक्रमको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डेले झाडुले बडारेर उद्घाटन गरेका थिए ।
राजमार्गमा फालिएका फोहोरहरु संकलन गरी नष्ट गरिएको लामिछानेले जानकारी दिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव एवम् नगरपालिका तथा व्यवस्थापन महाशाखाका प्रमुख चक्रपाणि शर्मा, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डे, नगरका राजनीतिक दल तथा संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, महिला अगुवाहरु, नगरपालिकाका कर्मचारीहरुको सहभागितामा सरसफाइ गरिएको हो ।
Discussion about this post