गैंडाकोट । गैंडाकोट उद्योग वाणिज्य संघले गैंडाकोटमा पहिलो पटक औद्योगिक तथा व्यापारिक महोत्सव आयोजना गर्ने भएको छ । कात्तिक २१ गतेदेखि मंसिर ३ गतेसम्म चल्ने सो महोत्सवमा तीन सय स्टलहरु रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सव सवा दुई लाखजनाले हेर्ने आयोजकहरुको अपेक्षा रहेको छ । नारायणी नदी किनारमा हुने महोत्सवले पर्यटन विकासमा पनि टेवा दिने आयोजक संस्था गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए । धार्मिक स्थलहरु देवघाट र मौलाकालिका नजिकमै रहेका छन् ।
गैंडाकोट सहकारीका र गैरसरकारी संंस्थाको विकासका लागि देशमै कहलिएको छ । आदिवासी जनजातिहरुको पनि बाक्लै बसोवास छ । दरै, कुमाल, दनुवार, बोटे र थारु जातिको साँस्कृतिक रहन सहन प्रदर्शनीको मुख्य विशेषता रहने अध्यक्ष भट्टचनले बताए ।
संघका महासचिव छविलाल कँडेलका अनुसार महोत्सवका लागि ६० लाख रुपैयाँभन्दा धेरै खर्च हुने अनुमान छ । स्टल भाडा र प्रयोजक, तथा प्रवेश शुल्कबाट खर्च उठाउने योजना बनाएको उनले जानकारी दिए ।
Discussion about this post