डा. टीकाराम पोखरेल
भारत–पाकिस्तान, रूस–अमेरिका वा उत्तर कोरिया–दक्षिण कोरियाबीचको जस्तो प्रतिस्पर्धी नभए पनि नेपाल–भारतबीचको सम्बन्ध इतिहासदेखि नै विवादास्पद रहँदै आएको छ । शत्रुतापूर्ण नै त भन्न मिल्दैन, तर हार्दिकतापूर्ण भन्न पनि सकिँदैन । सीमा विवाददेखि जलस्रोतको विषय, व्यापार तथा पारवहन सन्धिदेखि लिएर सुपुर्दगी सन्धिसम्मका कुनै न कुनै कुराले नेपाल–भारत सम्बन्ध निरन्तर उतारचढावपूर्ण रहँदै आएको छ ।
यस्तो उतारचढावकै बीच पछिल्लो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरे । उनको भ्रमणले नेपाल–भारत सम्बन्धबीचको शंका तथा उपशंकालाई केही हदसम्म राहत दिएको छ । खासगरी, मोदीले संविधानसभामा गरेको सम्वोधनपछि नेपाल–भारत सम्बन्धलाई अब नयाँ शिराबाट परिभाषित गर्नुपर्छ भन्नेहरुको एउटा ठूलै जमात देखिन थालेको छ ।
नेपाल आएकै दिन मोदीले नेपालको संविधानसभालाई सम्वोधन गरे । सम्बोधन मात्र भएको भए सामान्य हुन्थ्यो तर उनको भाषण जादुमय मात्र होइन, पूरै कवितात्मक पनि रह्यो । नेताहरुकै भाषामा भन्ने हो भने मोदीले अत्यन्तै उत्साहप्रद सम्बोधन गरे । धेरैको बुझाइमा मोदी नेपालको विकासमा सकारात्मक देखिए । उनको जादुमय सम्बोधनमा हाम्रा नेता लठ्ठै भए, मानौँ हाम्रा नेताहरुले आजसम्म त्यस्तो भाषण सुनेकै थिएनन् । आप्mनो भाषणमा विपक्षीहरुमाथि सधैँ विष वमन गर्ने नेताहरुले हार्दिकतामय र अर्थपूर्ण भाषण सुन्दा भाङ खाएको मान्छे झैँ लठ्ठ हुनु कुनै नौलो कुरा पनि थिएन ।
नरेन्द्र मोदी वाकपटुता भएका नेता हुन् । वाकपटुताकै कारण उनी गुजरातको मुख्यमन्त्री मात्र होइन, सिंगो भारतको प्रधानमन्त्रीको पदभारसमेत सम्हाल्न पुगेका हुन् । त्यसो त, उनी नेपालका नेताको जस्तो कुरामात्र होइन काम पनि गर्छन् । मोदी जे बोल्छन्, त्यो गर्छन् र जे गर्न सक्छन्, त्यतिमात्र बोल्छन् भन्ने कुरा उनले छोटो समयमा गुजरातमा गराएको ठूलो परिवर्तनले देखाइसकेको छ । तर, मोदीको यो जे बोल्ने त्यो गर्ने र जे गर्ने त्योमात्र बोल्ने कुरा नेपालको सन्दर्भमा पनि लागू होला कि भारतको सन्दर्भमा मात्र होला भन्ने कुराचाहिँ अलि विचारयोग्य नै छ ।
मोदीको संविधानसभाको सम्बोधनपछि नेपाल–भारत सम्बन्धका धेरै सवालहरुमा सकारात्मक धारणाहरु आइरहेका छन् । हिजो भारतीय नेताहरुको सत्तोसराप गर्नेहरु रातारात परिवर्तन भएका छन् । एक किसिमले मोदीको जयजयकार गरिरहेका छन्, मानौँ कि मोदी अब हाम्रा विधाता हुन् । कतिपयका अभिव्यक्ति त यस्ता पनि लाग्दै छन् कि अब मोदीले नेपाललाई भारतजति विकसित मात्र नभएर पूरै युरोप, अमेरिका नै बनाइदिन्छन् । उनी नेपालीहरुलाई शस्त्रको अन्धकारबाट शास्त्रको उज्यालेमा पु¥याउने सारथि हुन् ।
हिजोसम्म नेपाललाई भारतले खत्तमै पार्छ, स्वात्तै खान्छ, विकास हुन दिँदैन, राजनीतिक निकास निस्कनै दिँदैन, सरकारलाई काम गर्नै दिँदैन भन्ने नेताहरुका दिमागलाई मोदीले मात्र ४५ मिनेटको भाषणबाट परिवर्तन गरिदिएका छन् । यसबाट के पुष्टि हुन्छ भने हाम्रा नेताहरुको भारतलाई हेर्ने दृष्टिकोण कति सतही रहेछ, कति क्षणिक रहेछ र कति साँघुरो रहेछ । हिजो जो नेताहरुको दिमागमा भारतले नेपाललाई सर्धैँ पैतालामुनि राख्छ भन्ने भ्रम थियो, आज तिनै नेताहरुमा भारतले नेपाललाई त गुजरात झैँ झिलिमिली पो बनाइदिने रहेछ भन्ने झनै ठूलो भ्रम उत्पन्न भएको छ । स्मरण रहोस्, मोदीको एजेन्डा नेपाललाई गुजरात बनाउने होइन, सम्पूर्ण भारतलाई गुजरात बनाउने हो र अझ सकिन्छ भने युरोप, अमेरिका र सिंगापुर नै बनाउने हो ।
मोदीले नेपालको धेरै प्रशंसा गरे । नेपालीको पनि प्रशंसा गरे । बुद्ध र पशुपतिको नाम लिन पनि छाडेनन् । नेपाललाई धेरै दिने कुरा पनि गरे । सीमा विवादजस्तो गम्भीर विषयबाहेक मोदीले नेपालका बारेमा एक–एक ज्ञान भएझैँ गरी नेपालीलाई चकित पारे । तर, हाम्रा नेताले बुझ्नुपर्ने कुरा के भने कूटनीतिमा अरुको प्रशंसा नै गरिन्छ, कसैले पनि लिन्छु भन्दैन दिन्छु नै भन्छ । त्यसैले, कुरामा प्रशंसा ग¥यो कि गरेन वा दिन्छु भन्यो कि भनेन भन्ने मह¤वपूर्ण होइन । बरू, प्रशंसा किन ग¥यो ? किन दिन्छु भन्यो ? दिन्छुमात्र भन्यो कि दियो ? भन्ने हो । सँगसँगै दियो नै भने पनि अरुले दिएर देश बन्छ त ? भन्ने पनि हो । त्यसैले, भाषण सुनेकै भरमा बिनाविश्लेषण मोदीले सबथोक दिन्छन् भनेर कोही भ्रममा नपरे हुन्छ । यदि मोदीले धेरै दिएछन् नै भने पनि मोदीको निगाहले देश बन्दैन । जबसम्म नेपालीका पौरखी हातहरु उठ्दैनन्, तबसम्म मोदीले त के अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनसम्म र रूसका राष्ट्रपति पुटिनदेखि चिनियाँ राष्ट्रपति हु जिन्ताओसम्मकाले आफ्नो देशको सबै ढुकुटी नेपालमा खन्याए पनि नेपाल बन्नेवाला छैन । संसारमा कतै पनि यस्तो उदाहरण छैन, जुन देश विदेशीले बनाइदिएको होस् । यसले बरू परनिर्भरता बढ्दै जान्छ ।
बुद्ध नेपालमा जन्मेका हुन्, नेपाल जलस्रोतमा धनी छ जसले बिजुलीका माध्यमबाट भारतलाई समेत उज्यालो बनाइदिनसक्छ जस्ता मोदीले भनेका कुराबाट नेपालका नेताहरु ज्यादै प्रभावित भएको देखियो । मोदीले सर्वसाधारणसँग हात मिलाएकोदेखि लिएर नेपाली भाषामा गरेको भाषणको पनि सर्वसाधारणमा ज्यादै प्रशंसा सुनियो । तर, यसमा के तुक छ ? बुद्ध नेपालमा जन्मेका हुन् र नेपाल जलस्रोतमा धनी छ, जसले भारतलाई समेत बिजुली दिन सक्तछ भन्ने कुरा अकाट्य सत्य हुन् । यी कुरा मोदीको मुखारबिन्दबाट निस्केपछि मात्र बुद्ध नेपालमा जन्मेको हुने र नेपाल जलस्रोतमा धनी हुने हो र ? होइन । न त नेपालमा आएर मोदीले ५ मिनेट नेपाली भाषामा बोल्दैमा नेपाल र नेपाली भाषाको सम्मान नै हुने हो । नेपालीमा बोलेर मोदीले कुनचाहिँ अलौकिक काम गरे, जब कि हाम्रा नेताहरु भारत जाँदा हिन्दीमै बोल्छन्, बेलायत वा अमेरिकातिर पुगे भने अंग्रेजीमै बोलेर फर्किन्छन् । त्यसैले, कसैले कसैको भाषा बोलिदिँदैमा हामीले खुशीले खुट्टा उचालेर उफ्रिनु पर्दैन ।
मोदीले सर्वसाधारणसँग हात मिलाएको कुरा पनि कुनै नौलो होइन । जनताको शक्तिमा विश्वास गर्नेहरु जहिले पनि जनतालाई सम्मान गर्दछन् । जहिले पनि जनताकै माझमा रमाउँँछन्, जो मोदी पनि एक हुन् । हाम्रा नेता चुनावमा बाहेक जनतासँग हात मिलाउन घिन मान्ने भएकाले मोदीले सर्वसाधारण नेपालीसँग हात मिलाएको कुरा हामीलाई अलिकति नौलो लाग्नुचाहिँ स्वाभाविक हो, तर अलौकिकचाहिँ होइन । नेपाली जनता हुन् वा नेता, यस्ता तपसिलका कुरालाई आधार मानेर मोदीलाई अलौकिक ठान्छौँ भने ती सबै हाम्रा दरिद्र मानसिकताका उपजमात्र हुन् ।
मोदी एउटा सफल नेता हुन् । हुन सक्तछ, राजनेता नै किन नहून् । तर स्पष्ट छ, नेता वा राजनेता जे भए पनि मोदी नेपाललाई दिन आएका होइनन्, नेपालसँग लिन आएका हुन् । कुनै पनि राष्ट्रले आजको दुनियाँमा अरुलाई जति दिन्छ, त्योभन्दा बढी नै लिन्छ । खासगरी, शक्तिशाली राष्ट्रले अल्पविकसित मुलुकसँग त लिने नै हो । भ्रम नहोस्, लिने र दिने धनमात्र हो र लिने गरिबले र दिने धनीले मात्र हो । कूटनीतिमा धनबाहेक पनि लिने धेरै कुरा छन्, जो धनीले गरिबसँग लिन्छन् । मोदी पनि नेपाललाई दिनेमा भन्दा लिनेमा बढी पर्छन् ।
शिकार गर्नका लागि चारो चाहिन्छ । चारोबिना शिकार हात लाग्दैन । नेपालबाट केही प्राप्त गर्न भारतले पनि नेपालमा चारो नछरी हुँदैन । मोदीले पनि नेपालबाट ठूलो कुरा प्राप्त गर्न संविधानसभामा सानो–सानो चारो फालेका हुन् । “चारो” शब्द कूटनीतिमा अलि तीतो हुन सक्तछ, तर वस्तुगत यथार्थ यही हो । यो यथार्थलाई नबुझी मोदीले नेपाललाई संसारै दिन लागेको भनी कसैले भ्रम पालेको छ भने त्यसले कूटनीतिक भाषा नबुझेको हुन्छ । कूटनीति अलि जादुमय नै हुन्छ । संसारमा जादुमय भाषण धेरै हुन्छन् । तर, जतिसुकै मीठो भए पनि भाषणले पेट भर्दैन र जादुले एकछिन आँखामा भ्रम छरे पनि भित्री वास्तविकता अर्कै हुन्छ ।
Discussion about this post