बसन्त पराजुली
नारायणगढ । सिमसिम पानी, हातमा धानको बीउ लिएका महिला, अनि हलो र कोदालो समाएका हली र बाउसे । धान रोपेर गोड्ने बेलाको यो सिजनमा चितवनमा रोपाइँ गर्नेगरी आइतबार साँझ नारायणगढमा रोपार, हली अनि बाउसे तयार भए । असारे गीत गाउँदै धान रोपेको शैली जात्राका रुपमा आइतबार नारायणगढमा प्रस्तुत गरियो रोपाइँ जात्रा । कला मन्दिरबाट सुरू भएको यो जात्रा मिलनरोड सहिदचोक, पुलचोक, पोखरा बसपार्क पछि पुनः कला मन्दिरमै फर्किएर सकिएको थियो ।
कृष्णजन्माष्टमीको अवसर पारेर सो जात्रा निकालिएको हो । विशेषतः नेवार जातिमा ख्याति प्राप्त यो जात्रा चितवनमा हरेक वर्ष नारायणी कला मन्दिरले निकाल्ने गर्छ । यो जात्रामा कृष्णकै भेषमा केटाकेटी । अनि राधिकाको भेषमा महिलाहरुलाई पनि सहभागी गराइएको थियो । केही नेवार महिला तथा पुरुषहरु आफ्नै संस्कृति झल्कने गरी भेषभुषामा पनि देखिन्थे ।
रोपाइँ जात्रा निकाल्नुको आ–आफ्नै तर्क र विशेषता रहेको पाइन्छ । नेवारी संस्कृतिप्रति राम्रो दख्खल राख्नुहुने प्रभात कुमारजोशी रोपाइँ जात्रामा धार्मिक तथा सामाजिक मान्यता जोडिएको तर्क गर्छन् । ‘धानको रोपाइँ सकिएपछि सबै एक ठाउँमा जम्मा भएर जात्रा देखाउँ भन्ने उद्देश्यले रोपाइँ जात्रा आएको देखिन्छ’, जोशीले भने, ‘कृष्णजन्माष्टमीकै दिन परेका हुनाले पनि यो धर्मसँग पनि जोडियो ।’
विशेषतः नेवार समुदाय र व्यापारिक केन्द्रहरुमा यो जात्रा निकालिने भएकाले पनि यो जात्रासँग व्यापारको सम्बन्ध पनि जोडिएको उनको तर्क छ । ‘जात्रामा मानिस जम्मा भएपछि त व्यापार बढ्ने नै भयो’, उनले भने, ‘जात्रा पर्वको पछाडि व्यापार त जोडिन्छ नै ।’
नारायणी कला मन्दिरका अध्यक्ष दिलिप पिया रोपाइँ जात्राका पछाडि सांस्कृतिक मह¤व रहेको तर्क गर्छन् । ‘आ–आफ्नो धर्म संस्कृति अनि रीतिरिवाज छन्’, उनले भने, ‘गाई जात्रा पनि एक सांस्कृतिक पर्व हो । यहाँ धार्मिक कार्यसमेत हुने गर्छ ।’ रोपाइ जात्राका अवसरमा पूजा तथा अनुष्ठान गरे पुत्रलाभ हुने विश्वास पनि लिइएको छ ।
‘चितवनमै अहिलेसम्म यो पूजा गरेकै भरमा धेरैले छोरा पाएका छन्’, उनले चितवन पोष्टसँग भने, ‘यसलाई तपाई संयोग मान्नुस् वा धर्मकै कारण यस्तो भयो भन्नुस्’, अध्यक्ष पियाले भने ।
रोपाइँ जात्रालाई नेवारहरुले पनि आफ्नै शैलीबाट मनाइएको पाइन्छ । काठमाडौं उपत्यकाबाट परापूर्वकालमा सुरू भएको यो जात्रा काठमाडांै उपत्यकाका अलवा बन्दीपुर, गोरखा, पाल्पालगायतका सहरहरुमा पनि निकालिन्छ । कतिपय मानिसहरु यो जात्रालाई कृषि पेशासँग पनि जोडेर हेर्ने गर्छन् ।
गोरखा र पाल्पामा यसलाई हिले जात्राका रुपमा मनाउने गर्छन् । नारायणगढका एक स्थानीय भन्छन्, ‘किसानले धान रोपाइँ सकेपछि त्यसैको प्रतिकात्मक चित्रण दिन यो जात्रा निकालेका हुन । कृषिसँग सम्बन्ध जोडिएको यो जात्राले पछिल्लो समय सांस्कृतिक मह¤व बन्दै छ ।’
Discussion about this post