भरतपुर । लगातार परेको वर्षापछि आएको बाढीले यहाँका विभिन्न ठाउँका करिब ५० बिघा क्षेत्रफलमा पालिएको माछा बगाएको छ ।
नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको र अहिलेसम्म २५ जना किसानको माछामा क्षति पु¥याएको जानकारी आएको छ । चितवन नगरपालिका स्थित गुञ्जानगर क्षेत्रमा बढी माछापोखरीमा क्षति पु¥याएको सङ्घका अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो ।
उहाँले सो क्षेत्रमा मात्रै करिब ४० बिघा र माडी तथा पूर्वी चितवनमा गरी १० बिघाको माछा बगाएको जानकारी दिनुभयो । यसबाट करिब ६०० क्विन्टल माछा क्षति भएको उहाँको भनाइ छ ।
चितवन माछाको समेत पकेट क्षेत्र बन्दै गएका बेला माछा बगाएपछि किसान चिन्तित भएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनले माछा बगाएको क्षेत्रमा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ । चितवनमा करिब एक हजार २०० बिघामा माछापालन गरिएको छ ।
अघिल्लो वर्ष नेपाल सरकारले माछापालनको विस्तारका लागि अनुदानसहितको कार्यक्रम ल्याएपछि माछापालन थपिएको थियो ।
चितवनको गुञ्जानगर क्षेत्रमा यज्ञ घिमिरेको डेढ बिघा, बद्री बरालको डेढ बिघा, टेकनाथ बरालको एक बिघा, मखन तामाङ, वासु सापकोटा, जोगेन्द्र महतो, लुलाराम तामाङलगायतको माछा पोखरीमा बढी क्षति पु¥याएको मत्स्य व्यवसायी सङ्घले जनाएको छ । रासस
Discussion about this post