गोविन्द दाहाल
२०७० फागुन ३० गते गज्जबको संयोग जु¥यो, अर्थात् हाम्रो कुलेखानी जाने अभियानमा अन्जानमै मलजल गरिदियो, एक जना आफ्नै स्टाफको निम्तो मान्न सुनाचुरी पुग्नुपर्ने मीठो मेसोले । करिब ८ बजे हामी जम्बो टोलीसहित सननन मोटरसाइकलमा बाटोलाई पछिपछि र अझ पछि पार्दै सुनाचुरी पुग्यौँ ।
भेटघाटको सामान्य शिष्टतापछि सबै जना आ–आफ्नो ट्याम्के भँुडी डम्फ्याउने ध्याउन्नमा लागियो । ध्याउन्नमा लागियो के भन्नु, डम्फ्याइयो भनौँ । यसैबीच, सहकर्मी मित्र दीपेन्द्रले सामसुङको एक मोबाइल गोजीबाट निकालेर किलिक्क–किलिक्क पार्नुभयो । अब त्यो मोबाइलको भुँडीभित्र छाया म्याडमले मासु थपेको दृश्य, मासुको चोक्टा चपाउँदा–चपाउँदा चुच्चिएको चन्द्र सरको नाकको दृश्य, पर छेउको कुर्सीमा बसेर पुलाउ प्वाक्क मुखमा हालेको बिमला मिसको लजालु अनुहारको दृश्य, गफिँदै हात हल्लाएको पुरी सरको हाउभाउको दृश्य र चुटकिला सुनाएर वरपरकालाई पेट मिचिमिची हँसाएको हेडसर भानुभक्त पौडेलको दृश्य कैद भएका थिए ।
‘भो–भो अब धेरै भइसक्यो, फेरि तपाईंको मोबाइलभित्र साथीहरुको धकेलाधकेल पर्ला ठाम नपुगेर’– मैले हँसाउन खोजेँ ।
हामी सुनाचुरीबाट बिदा भएर हेटौँडा पुग्दा लगभग ६ बजेको हुँदो हो, हाम्रा बाको पालाको गोधूलि साँझ तर हाम्रो पालाको चाहिँ आधुनिक साँझ भनौँ । हेटौँडाकै होटेलबाट भागेर भीमफेदीको भूमि भेट्ने भन्ने विषयमा हामीले एकछिन गलफत्ती ग¥यौँ । होम सरले चुड्की बजाउँदै भन्नुभयो– ‘आइडिया ।’ दीपेन्द्रजी र मैले एकसाथ ट्वाँ पर्दै होम दाइको अनुहार हेर्दा भयौँ । ‘हैन के आइडिया फु¥यो हँ बूढालाई त्यस्तो ?’ सायद, हामी दुवैको मानसपटलमा यही प्रश्न खुर्र कुदिरहेथ्यो ।
उता होम दाइ ‘हेर्दै त जाओ केटा हो’को शैलीमा हामीतिर हेरेर रहस्यमय मुस्कान हुत्याउँदै एउटा किराना पसलमा पसेर प्रस्ट्याउनुभयो, ‘रिचार्ड कार्ड दिनुस् त ।’ साँच्चै हामी कुरो केही नबुझी बूढाको चर्तिकला हेर्नमै व्यस्त भयौँ । लाग्थ्यो, अहिले होम दाइ कृष्ण हुन् अनि उनी देखाउँदै थिए, कुनै लीला र हामी दुई उनैको लीला हेर्दा भयौँ । लीला यस्तो थियो– किराना पसलबाट पुकार नामक गुट्खा किनेर फर्कंदै गरेको आफ्नो भतिजो उमेरको केटोलाई होम दाइको प्रश्न थियो–
‘भाइ, यहाँबाट भीमफेदी कति किमी टाढा छ ?’
‘यहाँबाट जम्मा २३ किमी हो सोल्टी ।’ उसले पनि उमेरको ख्यालै नराखी उत्तर दियो ।
‘ए, अनि कति ट्याम लाग्ला त ?’ होम दाइको अर्को प्रश्न ।
‘पुग्न त एक घन्टामा सजिलै पुगिन्छ हो !’ तर उसले तर भनेर एकछिन टक्क अडियो, मानौँ यो क्षणभरको अन्तरालमा गहिरो सन्नाटा छ । हामी तीनै जनाको मुहारमा उसले दक्ष पुलिस अफिसरले अभियुक्तको मुहार खररर पढेँ झैँ बूढीऔँलो मुखतिर सोझ्याउँदै भन्यो–
‘सोल्टीहरु ठामठाममा यसो दिने पनि होला । लाग्छ, दुई घन्टाजति ।’
उसको हामीमाथि कडा साङ्केतिक प्रहार थियो, मापसेतिर । उसको बेतालको ताल देखर हामी लाल–लाल भयौँ । दीपेन्द्रजी र म मन्द मुस्कुराउँदै मुखामुख गर्न थाल्यौँ । सायद, दुवैको दिमागमा एउटै कुरा खुर्र कुदेको हुनुपर्छ, भालुको मन केमाथि भनेजस्तो ।
होम दाइको आइडिया रामवाण सावित भयो, किनभने हामी ७ः०० बजेको झम्के साँझमा भीमफेदीको भीमफेदी आराम गृह तथा खानाघरभित्र पसिसकेका थियौँ ।
उज्यालो भीमफेदी बजार । उत्तर–दक्षिण सररर फैलिएको पिच बाटोछेउछाउमा फैलिएका अधिकांश कच्ची घरहरु । घरका अघिल्तिर छरपस्ट छरिएका बग्रेल्ती मोटरसाइकलहरु, नयाँ–पुराना छ्यासमिस ।
‘यसरी बाइकहरु बाहिरै राख्दा चोरिँदैन र ?’ दीपेन्द्रजीको ज्याद्रो जिज्ञासा, लजवाला भाइसँग ।
‘खोइ अहिलेसम्म त त्यस्तो था छैन हो, दाजु ।’ उसको अनौठो उत्तर ।
‘जे भए नि मकवानपुर जिल्लाको पुरानो सदरमुकाम पो हो त, ठट्टा हो र ?’ होम दाइले लजवाला भाइको चोचोमा मोचो मिलाउनुभो ।
‘ओहो यार, मेरो मोबाइलको ब्याट्री त स्यान्टीफ्ल्याट भएछ । चार्ज गरिहाल्न प¥यो, फेरि लाइन गएपछि आपत पो पर्छ त !’– मैले दैनिक १२ घन्टा लोडसेडिङ हुन्छ भन्ने उद्घोष गरेर १५ घन्टा बिजुली काट्ने चितवनको वाक्क लाग्दो बिजुलीको समय सम्झँदै भने ।
‘दाइ, भीमफेदीमा लाइन जाँदैन ।’ लजवाला भाइको जवाफ सामान्य थियो, तर यही जवाफ हामी चितौनेका लागि उदेक लाग्दो र अपत्यारिलो भइदियो ।
मैले आश्चर्यले निधार खुम्च्याउँदै कसको उत्तरलाई पुनः बनाइदिएँ, ‘के रे ? लाइन जाँदैन रे ?’ फेरि भनेँ, ‘के हामी नेपाल भन्ने देशमै छौँ अहिले ?’
लाइन नजाने भित्री कुरो थाहा पाएपछि हामी जिम्माल बाको राँगोजस्तो फुक्काफाल भएम् । दीपेन्द्रजीले दिउँसो किलिक्क पारेको फोटो हेर्न थालेँ म । अनि, फेसबुक खोलेर टाइप गर्न थालियो । होम दाइ रेडियो खोलेर स्यार्रसुर्र पार्न थाले ।
देख्यौँ, होम दाइले मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो भनेर एउटै कार्यक्रममा १० पटक फुकेर घाँटीको नसा फुलाउने चितवनको एफएम रेडियो खोल्न खोजेको, तर अहँ कसै गरेपछि बोली टिपे पो ! आवाज त आयो, तर कालीखोला बर्खामा सुसाएजस्तो आवाज, स्वाँ….. ।
‘यो मध्य नेपालको सर्वोत्कृष्ट भन्ने रेडियोले स्वाँ… गरेर स्वाङमात्रै पा¥यो, अब सुतौँ होम दाइ ।’ दीपेन्द्रजीले यसो भनेर सिरक तानेर मुख छोपे, किनभने उनले यतिन्जेलमा फोटो हेरिसकेका थिए ।
साथीहरुको स्टाटस् र फोटोमा लाइक र कतिपयमा कमेन्ट गरेपछि मैले पनि गोडा पसारेँ र सिरकले मुख छोपेँ । फागुनको मसान्त भए नि जाडो जो थियो ।
भोलिपल्ट अर्थात् २०७० चैत १ गते । चियानास्ता गरी लजवालालाई ताजा र मीठो खाना तथा न्यानो अनि स्वस्थ सुत्ने व्यवस्था गरिदिएकोमा धेरैधेरै धन्यवाद र बढिया बिल रकम दिएपछि कुलेखानी कुद्ने तरखरमा तल्लीन भयौँ ।
‘दाइ, बाटो लास्टै टर्निङ छ । टाटा सुमो गाडी पेलेर आउँछ, हर्न बजाउँदै चलाउनू है टर्निङमा ।’ लजवाला भाइको सदाशयतालाई घरप्प ह्याकुलोले च्यापेर हामी कुद्यौँ कुलेखानीतिर ।
हो त, नभन्दै नागबेली परेको नाकै ठोक्किने ठाडै उकालो बाटोमा मोटरसाइकल क्वा….. गरेर कराउन थाल्यो, महिनादिन खान नपाएको हात्ती कराए झैँ । भीमफेदीबाट ठसठस कन्दै ४ किमी कुदेपछि आयो जुरीखेत । जुरीखेतमा जुम्ल्याहा गिलासमा गाजरको जूस पिएपछि हामीमा केही प्राण आयो । उता, मोटरसाइकलको इन्जिनलाई पनि केही राहत भयो भनौँ ।
साँच्चै, बाटो उदेकै लाग्दो रै’छ ! टाटा सुमोका लर्कन कमिलाको ताँती झैँ कुदिरहेछन् । हामी पनि सयौँ यु टर्नमा पिँ…पिँ… हर्न बजाउँदै उकालो उक्लिरहेछौँ । कोहीकोही बेला त उताबाट आएका टाटा सुमो र हामी झवास्स भेटिन्छौँ । दुवैतर्फका चालकको खुट्टा घ्याच्च ब्रेक थिच्न पुग्छ, अनि सायद दुवै तर्फकाले गियर डाउन गरेर बिस्तारै एक्सिलेटरमा दबाब दिन पुग्छौँ । उकालो, उकालो र मात्रै उकालो । टाटा सुमोका लर्कन, लर्कन र मात्र लर्कन । अनि घुम्ती, घुम्ती र मात्रै घुम्तीका बीच पनि कतिखेर कतिखेर बाटोवरपरका हरियालीबीच राताम्मे भएर ढकमक्क फुलिरहेका लालीगुराँसको दृश्यपान गर्दै र त्यसैत्यसै मख्ख पर्दै हामी एक्सीलेटर बटारिरहेछौँ बटारिरहेछौँ ।
राजपाल यादव, हाइटका होम दाइ ५–७ घुम्ती उक्लिसके । मेरा अगाडि छन्, अमिताभ हाइटका दीपेन्द्र लम्साल । म देख्दो भएँ, एउटा घुम्ती काट्दा नकाट्दै स्वाट्ट अर्को घुम्ती आइहाल्यो । टर्न लिनु थियो लिए है मित्रले । गियर झार्नु थियो, झारे है मित्रले । तर, मोटरसाइकल छ कि अटेरी साँढे झैँ अगाडि बढ्न ठसठस कन्छ बा ! उनको पालो लामालामा खुट्टा भुइँमा टेकाएर धकले जोडले भुइँलाई । अब मोटरसाइकलको त्यहीँ बसाइँ हुने खैरियत थिएन, फुत्त उक्लियो उकालो ।
डाँडाको अन्तिम चुली आएछ देउराली । होम दाइ हामीलाई पर्खिरहेका थिए । नजिकै बाइक रोकियो दीपेन्द्रजीको पनि । मैले पनि हत्त न पत्त बाइक रोक्दै सोधिहालेँ, ‘अघि त्याँ के भा ?’
‘हुनु के थियो ? नाथे गियरलाई ३ बाट २ मा झारेँ, टेरेन ए गाँठे ! त्यसैले २ बाट १ मा झारेँ, टेर्दैन बा ! १ बाट झार्ने ठाउँ नै छैन त के गरुँ ? मेरो पालो दुईवटै खुटा झारेँ र भुइँमा जोडले धकलेँ, बल्ल बाइक फुत्त उक्लियो ।’ उनको उत्तम जानकारीले हँसायो हामीलाई ।
देउरालीबाट ओरालो, ओरालो र मात्रै ओरालो झरेर कुलेखानी ड्याम पुग्दा बिहानको ९ बजेको थियो । अब हामी कुलेखानी ड्यामको थाप्लामा गरप्प–गरप्प टेक्दै फोटोसोटो खिचिरहेका थियौँ । नेपालको मानव निर्मित सबैभन्दा ठूलो जलाशय इन्द्र सरोवर जसमा जम्मा भएको पानीले नेपालका केही भाग झलमल्ल बनेको हेर्दै मख्ख हुँदा भयौँ हामी । करिब १ घन्टा त्यहाँ बिताएर रमाइलो गरेपछि हामी फर्कियौँ । उही डाँडाको टुप्पो देउरालीमा आएर कुलेखानीका माछासित भात मुछेपछि पुनः फर्कियौँ । देउरालीबाट करिब २ किमी ओर्लिएपछि आयो ऐतिहासिक चिसापानीगढी । त्यो पनि अवलोकन गरियो । त्यतिबेलाको तोप रहेछ सम्झनाका लागि, तोपलाई क्यामेराभित्र कैद गरियो । तोपलाई मात्रै किन ? डाँडाको टुप्पामा रहेको सिंगो चिसापानीगढीलाई नै कैद गरियो भनौँ ।
निबुवाटारस्थित कुलेखानी प्रथमको अवलोकनपश्चात् भैँसे आइयो । त्यहाँ अवस्थित कुलेखानी दोस्रो र निर्माणाधीन कुलेखानी तेस्रो अवलोकन गरेपछि हामी हेटौँडा मनहरी, टाँडी हुँदै जुटपानीस्थित घर आइपुग्दा साँझको ६ः३० भैसकेको थियो । माछाको सुकुटी ल्याएको थिएँ । पाक्यो र खायौँ ।
‘कस्तो लाग्यो त कुलेखानी चिसापानीका माछा ?’ माछाको ढाड कुटुक्क टोक्दै मैले प्रश्न गरेँ ।
‘मीठो, एकदम मीठो । यताका पोखरीका माछाभन्दा त कता हो कता, मीठो ।’ माछा–भात सप्य्राक्क पार्दै बूढीमाउ र भुराभुरीले प्रतिक्रिया जनाए ।
‘पक्का हो नि ?’ मैले दोहो¥याउन खोजेँ ।
‘हो हो, पक्का । यसमा कुनै शंकै छैन ।’ सबैजनाले मुख मिठ्याउँदै र जिब्रो ट्वाक्क पड्काउँदै कुलेखानीका माछा खाँदै भन्दै थिए ।
तर, पाठकहरु तपाईंलाई भनिदिऊँ कि कहाँ कुलेखानीका माछा हुनु ती ? ती त मनहरीमा किनेका माछा पो थिए सिलमा उनेका । जे होस्, उनीहरु मख्ख छन्, कुनेखानीका माछा खायौँ भनेर । यो यात्रा संस्मरण पढ्ने अवसर पाएनन् भने त उनीहरु जिन्दगीभर मुख मिठ्याउने छन्, कुलेखानीका माछा सम्झेर । तर, कुनै न कुनै तरिकाले पढे भने के गर्ने ? आ छोड्दिनुस्, जो होगा देखा जाएगा !
Discussion about this post