किशोर खनाल
ढिलो गरी परेको बर्षाद्ले छातालाई फेरि प्रिय बनाएको छ । यतिबेला सबैको हातहातमा छाता अडिएको छ । माथिबाट हेर्ने हो भने मानिसका टाउकाहरु देखिँदैनन्, देखिन्छन् त रंगीचंगी ठूला–साना छाताहरु । झट्ट हेर्दा लाग्न सक्छ, यो पानीको मौसम नभई छाताको मौसम हो ।
माथि देखिने थरीथरीका छाताले जगत्लाई रंगाएको भान हुन्छ । वृद्धवृद्धादेखि केटाकेटीसम्म सबैले छाताको सहारा लिएका छन् । झमझम परेको झरीको भिजाइलाई छाताले छेकेर जोगाएको छ । त्यसैले भनिन्छ यहाँ, ‘झमझम दर्कियो पानी, जोगायो छाताले छेकेर ।’
यो बर्खे झरीमा छाता ओझेल पारी मायालुलाई नजिक पार्नेहरु पनि कम छैनन् यहाँ । यो अन्तिम साउने झरीमा कलेज पढ्ने ठिटाठिटी त झन् रङ्गी–बिरङ्गी छाता ओढेर ढल्कँदै हिँडेका छन् । आजकलका साना छाताले टाउको जोगाए पनि शरीर भिजाएको हुन्छ । आधा भिजेको शरीर लिएर प्रेमीको छातामुनि ओतिन आउने मायालुलाई छाताले जोगाउँछ । भिजेको शरीरमा एउटै छातामुनि रहेका युगललाई के चाहियो र ! मायाको पारो त एक्कासि चुलीमा पुग्छ नि ! त्यसैले भनिएको होला– ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा ।’
प्रतिस्पर्धाको जमाना छ । युवा जमात जोकोही पनि स्टायलिस्ट बन्न चाहन्छ । छाता पनि अनेक फेसनका छन् । अनेक कलरका छन् । आफ्नो डे«ससँग छाताको कलर पनि मिलाउन खप्पिस छन् युवतीहरु । हरेक कुरामा जस्तै देखिने मामलामा पनि एक्स्ट्रा सावित हुनुपर्छ । यसो बाटोमा हिँड्दा ‘वाउ’ भन्ने हुनुपर्छ । अथवा, त्यति नभए पनि सेकन्ड लुक त खानैप¥यो नि ! यही सोचेर होला, कलेज पढ्ने ठिटीहरु आफ्नो डे«ससँग म्याच गर्ने छाता ओढेका ।
हिजोआज भरतपुरकी प्रिया खड्काले कलेज जाँदा छाता छुटाउँदिनन् । आफ्नो कलेज डे«ससँग मिल्ने छाता उनको साथी बनेको छ । छाताले उनलाई मात्र होइन, उनको ब्वाईफ्रेन्डलाई पनि बेलाबेला सघाएको छ यो झमझम दर्केको झरीमा । खड्का भन्छिन्, ‘छाता फेसनको परिसूचक पनि बन्यो, घाममा होस् या झरीमा छाताको आवश्यकता भइहाल्छ । यसो बाहिर हिँड्दा स्टायलिस्ट छाता ओढ्दा त अनुहारमा चमक पनि आउने भयो । अनि त ब्वाईफ्रेन्डको नजरमा सेकन्ड लुक त कतै जाँदैन नि, हि…हि…हि… !’
उनकै साथी कोपिला कलवारले थपिन्, ‘झरीमा कलेजमा पुग्दा केटीहरुले पानीमा किन रूझेकी, छातामा ओतिन गएनौ ? भनेर खिसी गर्छन् । त्यसैले म कसैको छातामा ओतिन्छु ।’ उनले यसो भन्दा खड्काले थपिन्, ‘उनको पनि छ नि त ।’ दुवैबाट चर्को हाँसो आयो, ‘हा…हा…हा…हा…।’
पहिले–पहिले छाता काठको बुट्टा कुँदेर पेन्टिङ गरेर बनाइन्थ्यो । यस्ता छाता गरूंगो र ठूला हुन्थे । पछिल्लो समय छाता सजिलो हुँदै आए । उमेरअनुसारका छाता छन्, बजारमा यतिबेला । फुच्चेफुच्चीहरुलाई त्यस्तै साना छाता आएका छन् । उनीहरु सानो छाता ओढेर स्कुल जाँदा फुरूङ्ग पर्छन् । उनीहरु त अझ छातालाई आफ्नो रूचिअनुसारको सादा रिबनको फुर्का हालेर सजाउँछन् ।
सानो झोलामा पनि अट्न सक्ने फोल्डिङ छाता पाइन्छन्, आजकल । कस्तो काइदा ! आवश्यक भइन्जेल ओढ्यो, नत्र झोलामा हाल्यो । पाका उमेर समूहका बाजेहरुले पनि बज्यैलाई छाता ओढाएर हिँडेको दृश्य देख्दा छाताले घामपानी छेक्नेमात्र होइन, सँगसँगै मायाका झरीलाई पनि नजिकमा ल्याउँछ र मायाको गाँठो कसिलो पार्छ ।
‘छातामुनि ओतिएको माया सितिमिति छुट्दैन’, नारायणगढका विकास श्रेष्ठले थपे, ‘एउटै छातामा ओतिएपछि त माया पलाउने हो नि । तपाईं मान्नुस् यार, दिनहुँ ओढ्ने नगरे तापनि मैले धेरै केटाहरुले ब्यागमा छाता राख्ने गरेको देखेको छु । उनीहरु पानी परिरहेको बेला कतै केटीलाई देखे भने त्यही छातालाई नै सहयोग गरेजस्तो गरेर गफ गर्ने अस्त्रका रुपमा प्रयोग गर्छन् ।’
‘कान्छीको छाता ढल्काइदेऊ यता
घाम प¥यो निधारमा’
कुनै समय गायक तुलसी पराजुलीले यस्तो गीत गाउँदै कान्छीको छाता मागेका थिए । यहाँ पराजुलीमात्र होइन, धेरै युवकहरु कान्छीको छाता तान्ने सुरसारमा छन् । कान्छीको छातामुनि ओतिन पाउने आश धेरैको छ । तर, कान्छीले छाता कुन कान्छातर्फ ढल्काउने हुन्, राम्रोसँग विचार गर्नैपर्छ ।
छाताको प्राचीन मह¤व बुझ्न धेरै दुःख गर्नुपर्दैन । कला, संस्कृति र सिनेमाहरुको विकासक्रमलाई मात्र हेर्ने हो भने यसको छनक सजिलै पाउन सकिन्छ । प्राचीन समयदेखि अहिलेसम्मका हरेक कालखण्डमा निर्मित चित्रकला, मूर्तिकलादेखि सिनेमासम्म छाताको प्रसङ्ग कहीँकतै जोडिएको हुन्छ ।
माया पलाउनमात्र छाताको प्रयोग हुने होइन, हिन्दू शास्त्रअनुसार छाता शुभ कार्यमा प्रयोग हुन्छ । विवाहमा दुलाहालाई छाता ओढाएर शीतलता प्रदान गरिन्छ । विवाहमा दुलही पक्षले अक्षता छर्दा छाताले छेक्छन्, दुलाहाका सहयोगी । विवाहमा मात्र नभई व्रतबन्ध, पास्नी, कुमारीको पूजा हरेक शुभ कार्यमा छाता ओढाइन्छ । छातासँग धार्मिक नाता छ । हिन्दू धर्ममा जुनसुकै शुभ कार्यमा छाताको आवश्यकता पर्छ ।
छाता स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक छ । छाताले मानव शरीरलाई सख्त रुपमा खराब पार्ने विकिरणहरुलाई पनि छेक्छ, जुन विकिरणबाट जोगिन सके छालाको क्यान्सर लाग्दैन । सुख्खा छाला भएका व्यक्तिले घामबाट जोगिन छाता अनिवार्य ओढ्नुपर्छ । डाक्टरहरु पनि दुबी भएका व्यक्तिहरुले घाममा छाता ओढ्न सल्लाह दिन्छन् ।
एक जमाना थियो, छाताको ठाउँ छत्री र स्याखुले लिएको थियो । तर, अहिले सहरबजारका युवायुवतीलाई छत्री र स्याखुबारे खासै थाहा छैन । मतलब, छत्री र स्याखुको ठाउँ पूरा अहिले छाताले लिएको छ । छाता टिन एजरका लागि स्टायलिस्ट बनेपछि यसको माग पनि बढेको हो ।
वृद्धवृद्धाका लागि त ओढ्नेमात्र होइन, टेक्ने लौरी पनि हो छाता । फलामको टुप्पो भएको ठूलो छाता वृद्धवृद्धाले रूचाउँछन् जुन छाताले ओढ्नमात्र होइन, टेक्न पनि सघाउँछ । वृद्धवृद्धालाई ठूलो छाता लिएर हिँड्दा टेक्ने लौरीको आवश्यकता परेन । यस्ता ठूला छाता हाइकिङ या टे«किङ जाँदा ठीक हुन्छ ।
यो पछिल्लो झरीले छाताको व्यापार बढाएको छ । सपिङ कम्प्लेक्सदेखि लिएर किराना पसलमा समेत छाता राखिएको पाइन्छ । डेढ सयदेखि पाँच सयसम्म पर्ने छाता छानीछानी किन्न पाइन्छ । व्यवसायीहरुलाई छाता बेच्न भ्याइनभ्याई छ । एक व्यवसायीले भने, ‘यो झरीमा छाता किन्नुहोला, ओतिनुहोला नत्र निथु्रक्क भिज्नुहोला । छाता भएन भने मायालु पनि गुमाउनुहोला ।’
Discussion about this post