सौराहा । वर्षायाममा लगातार पर्यटक आउँदा सौराहामा रहेका हात्तीलाई कामको चाप परेको छ । वर्षायाममा जंगलभित्र जीप सफारी गर्न बन्देज लगाइएको छ । पैदल यात्रा गर्नु पनि जोखिमपूर्ण मानिन्छ । त्यसैले यो बेला जंगल घुम्न हात्ती चढ्नुको विकल्प छैन ।
‘अहिले दैनिक १५० जनासम्म पर्यटकहरु हात्ती चढ्ने गर्छन्’ पर्यटकहरुलाई हात्ती उपलब्ध गराउने युनाइटेड हात्ती सहकारीका प्रबन्धक विनोद तिमिल्सिनाले जानकारी गराए । सिन्धुपाल्चोकमा पहिरो गएर यातायात आवागमनमा समस्या आउनुअघि यो संख्या झनै धेरै थियो भन्छन् उनी ।
‘तातोपानी नाकाहुँदै आउनेहरु रोकिएर हो, नत्र साउन १५ सम्म दिनकै चार सयभन्दा धेरैले हात्ती चढेका थिए’ तिमिल्सिनाले भने । तीन चार वर्षयता चिनियाहरु आउन थालेपछि सौराहामा वर्षायाममा पनि पर्यटकको भीडभाड हुन थालेको हो । ५२ वटा हात्तीले पर्यटक डुलाउँदै आएका छन् ।
‘चिनियाहरु आउन थालेपछि असारदेखि तीन महिनाका लागि होटल बन्द गर्ने चलन हटेको छ’ होटल जंगल सफारी लजका सञ्चालक तथा क्षेत्रीय होटल संघ सौराहाका महासचिव सुमन घिमिरेले भने । पर्यटकहरुको समूहमा प्रायः चिनियाहरुमात्रै देखिने गर्छन् । केही भारतीयहरु पनि हुन्छन् ।
सौराहा चितवन राष्ट्रिय निकुञ्ज छिर्ने मुख्य प्रवेशद्वार हो । निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तुहरु एकसिंगे गैंडा, पाटे बाघलगायत चराचुरुङ्गी र जलचरहरु पनि छन् । हात्तीमा चढेर दुर्लभ वन्यजन्तु हेर्ने अवसर पाइन्छ ।
‘यो बेला हात्ती चढ्दा जनावर त देख्न पाइयो नै, हरियालीलाई पनि नजिकबाट अंगाल्न पाइन्छ’ होटल व्यवसायी घिमिरेले भने । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार वर्षायाममा जिप सफारी बन्द हुन्छ । पैदल यात्रामा पनि जोखिम हुन्छ ।
त्यसैले निकुञ्ज घुम्न चाहने पर्यटकहरु हात्ती चढ्नुको विकल्प हुँदैन । हात्ती चढेर जंगल घुम्नेमात्रै होइन, हात्तीसँगै नुहाएर मज्जा लिने अवसर पनि सौराहामा छ । राप्ती किनारको उर्लेको भेलमा हात्तीसँगै नुहाउने पर्यटक पनि छपक्कै हुन्छन् ।
युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका प्रबन्धक तिमिल्सिनाले दिएको जानकारीअनुसार हात्ती चढेको एक व्यक्तिले नेपाली हो भने सात सय रुपैयाँ तिर्नुपर्छ । नेपालबाहेक सार्क क्षेत्रका देशबाट आउने पर्यटकहरुले नौ सय र अन्य विदेशी पर्यटकले ११ सय रुपैयाँ शुल्क बुझाउनु पर्छ । यसमा निकुञ्ज छिर्ने प्रवेश शुल्क अलग्गै लाग्छ । एउटा हात्तीले एक पटकमा चार जनालाई बोक्छ । एक पटक चढेपछि जंगलभित्र डेढ घण्टासम्म घुम्न पाइन्छ । चितवन निकुञ्जको सौराहा बाघमारा मध्यवर्ती सामुदायिक वन हात्ती सफारीका लागि प्रख्यात छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट प्राप्त जानकारीअनुसार गएको असारमा नौ हजार ५५१ जना पर्यटकले निकुञ्ज घुमेका छन् । जसमा ९७४ जना नेपाली थिए । त्यस्तै सार्क क्षेत्रका एक हजार १९० र सार्क क्षेत्रभन्दा बाहिरी देशका विदेशी सात हजार ३८७ जनाले चितवन निकुञ्ज घुमेका थिए ।
साउनमा यो संख्या झनै बढ्ने देखिएको छ । गत वर्षको साउनमा चितवन निकुञ्ज घुम्ने कुल पर्यटकको संख्या १२ हजार ८१४ रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । गत वर्ष सबैभन्दा धेरै पर्यटक कात्तिकमा आएका थिए । सो महिनामा २० हजार ७७२ जनाले निकुञ्ज घुमेका थिए ।
Discussion about this post