निषेधाज्ञाको असर : चितवनका दुग्ध किसानलाई डेढ महिनामा ११ करोड ७ लाख घाटा

अन‌ि यो पनि

चितवन ११ असार । चितवनमा दोस्रो लहरको कोरोना भाइरसको जोखिमसँग गरिएको निषेधाज्ञाका कारण यहाँका किसानले ११ करोड भन्दा बढीको नोक्सानी व्यहोर्न बाध्य भएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले तथ्यांक निकालेको छ। शुक्रबार संघकै कार्यालयमा पत्रकार भेटघाट गरी पछिल्लो डेढ महिनामा चितवन जिल्लाको दूध उत्पादन र बजारीकरणबारे जानकारी गराउँदै संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले कुल ११ करोड सात लाख ८१ हजार ३४२ रुपैयाँ नोक्सान भएको जानकारी गराए।

गत वैशाख १७ गदेदेखि जेठ मसान्तसम्मको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘जिल्मा सञ्चालित सबै सहकारी खुल्न सक्ने अवस्था रहेन। त्यसको विकल्प पनि सरकारले दिन सकेन। जसले गर्दा किसानले ठूलो घाटा सहनुपर्‍यो।’ हालको अवस्थामा डिडिसीले पनि नियमित दूध नउठाइदिने, बजारमा दही र आइसक्रिम जस्ता चिसो पदार्थको खपत कम हुनुलगायतले पनि दूधको खपत नै कम भएको उनको भनाइ छ।

किसानको गोठबाट दूध बिक्री नहुँदा नहुँदै पनि केही बिचौलियाले भने सस्तोमा दूध लगेर दोब्बर मूल्य बनाएर बेच्ने चेष्टा गरिरहेको हुँदा त्यसतर्फ ध्यान दिन संघका सचिव किशोर बगालेले सरकारसमक्ष आग्रह गरेका छन्। केही सहकारीले दूध खेर जान दिनुभन्दा थौरै घाटा सहेरै भए पनि बिक्री गर्ने गरेका उनले बताए। ‘त्यसले न त किसानलाई फाइदा भयो न त उपभोक्तालाई,’ उनले भने, ‘त्यसरी बेच्दा बिचौलिया मोटाउनेबाहेक केही फाइदा छैन।’

किसान र सहकारीबाट प्रतिलिटर ४० रुपैयाँमा किनेर प्रतिलिटर ८० रुपैयाँमा बेचेर किसान र उपभोक्ता ठगिने काम भइरहेकोले यसतर्फ विशेष ध्यान दिन सरकारसमक्ष संघले अनुरोध गरेको छ। चितवनमा रहेका ११० वटा सहकारीबाट दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुँदै आएको संघसँग तथ्यांक छ। उक्त तथ्यांकअनुसार पछिल्लो समय भएको निषेधाज्ञाको ४५ दिनमा ७७ लाख ९६ हजार लिटरभन्दा बढी दूध संकलन हुनुपर्नेमा २० लाख ९० हजार लिटर मात्रै दूध संकलन भएको संघका सचिव बगालेको भनाइ छ।

निजी डेरीले दूध संकलन गर्नै नआउने हुँदा बिक्री नै नहुने भएपछि किसानले संकलन केन्द्रमा दूध ल्याउनै छाडेको उनको भनाइ छ। यही अवस्था आए फेरि किसानले आफ्नो पेसा छाडेर पलायन हुनुपर्ने अवस्था आइपुगेको उनले बताए।

दुग्धजन्य पदार्थको बिक्री वितरणलाई सहज बनाएको भनिए पनि साँझ बिहान मात्रै बिक्री केन्द्र खोल्न दिने प्रावधान निर्माण गरेपछि बिक्री हुन नसकेको उनीहरुको भनाइ छ। संघको तथ्यांकअनुसार टुप्पी बाँधेर दूध बिक्री गर्ने साना निजी डेरी मात्रै चितवनमा करिब ३५० को हाराहारीमा छन्।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया