घडियाल गोहीको अस्तित्व सङ्कटमा

अन‌ि यो पनि

–पशुपति अधिकारी

विश्वमा पाइने २४ प्रजातिका गोहीमध्ये नेपालमा घडियाल गोही र मगर गोही पाइन्छन् । घडियाल गोहीको मुख लामो हुन्छ भने मगर गोहीको छोटो हुन्छ । भाले घडियाल गोही परिपक्व हुँदै गएपछि मुखको माथिल्लो भागको छेउमा पानीको घडा आकारको मासुको डल्लो पलाउँछ । त्यसले भालेलाई प्रजननको समयमा आवाज निकाल्न सहयोग पु¥याउँछ । गोहीका प्रजातिहरुमध्ये घडियाल गोही सबैभन्दा लामो हुन्छ । यसको पोथी ४.५ मिटर र भाले ६ मिटरसम्म लामो पाइएको छ । घडियाल गोही स्वच्छ नदीहरुमा मात्रै बस्ने हुँदा जलीय इकोसिस्टमको सूचक प्रजाति वा मुख्य प्रजाति मानिन्छ । मगर गोही भने पानी जमेका घोल, ताल र सिमसारहरुमा पनि बस्ने गर्दछ । गोहीका दाँत तिखा र एकआपसमा बाँधिने हुँदा सजिलै आहारा पक्रन सक्छन् ।

जीवविज्ञान

नेपालका चुरे पहाडमा घडियाल गोहीको अवशेष भेटिएबाट यिनको उत्पत्ति भारतीय उपमहाद्वीपको उत्तरी भागमा भएको मानिएको छ । गोही सरिसृप (रेप्टाइल्स) वर्गमा पर्ने जन्तु हो । यिनीहरु जमिनमा घस्रेर हिँड्छन् र रगत चिसो हुने हुँदा शरीरको तापक्रम मौसमअनुसार बदलिन्छ । त्यसैले, जाडो मौसममा शरीर तातो बनाइराख्न दिनभर नदीकिनारको बालुवामाथि घाम तापेर बस्ने गर्दछन् । यिनको शरीरको माथिल्लो भाग हल्का कालो रङको र कडा हुन्छ भने पेटको भाग हल्का पहेँलो रङको र नरम हुन्छ । पानीमा शरीरलाई सन्तुलनमा राख्न दायाँबायाँ बाङ्गिन मिल्ने गरी शरीर खण्डखण्ड परेको हुन्छ । यिनका चारैवटा खुट्टाका औँलामा पातलो छालाको पञ्जा हुन्छ । घडियालको मुख्य आहारा माछा हो । माछाको पाचनमा सहयोग पु¥याउन तथा पानीमा शरीरलाई सन्तुलनमा राख्न यसले आफ्नो शरीरको तौलको एक प्रतिशतजति ससाना ढुङ्गा खाने गरेको अध्ययनले देखाएको छ ।

घडियाल गोहीको प्रजनन गर्मी सुरू भएपछि हुन्छ र पोथीले नदीकिनारको बालुवामा खाडल बनाई फुल पार्दछन् र बालुवाले पुर्दछन् । यिनको प्राकृतिक वातावरणमा फुल (अण्डा)बाट बच्चा निस्कने र बाँच्ने प्रतिशत एक प्रतिशतभन्दा कम रहेको हुन्छ । त्यसैले वैशाख, जेठमा नदीकिनारबाट फुल संकलन गरी घडियाल प्रजनन केन्द्रमा ल्याई ओथारोमा राखिन्छ । प्रजनन केन्द्रमा रहेका गोहीले ओथारो बसेर ७१ देखि ९३ दिनमा बच्चा कोरल्छन् र फुलबाट करिब ६० प्रतिशत बच्चा निस्कन्छन् । यस प्रजातिमा बच्चाको लिङ्ग तापक्रमले निर्धारण गर्ने गर्दछ । गुण बनाएको बालुवाको तापक्रम ३२ डिग्री सेल्सियस भएमात्रै भाले बच्चा निस्कन्छन्, अन्यथा पोथी बच्चा जन्मन्छन् । यस प्रकार, प्रकृतिले नै भाले बच्चा कम जन्मने अवस्था सृजना गरेको छ । बच्चालाई प्रजनन केन्द्रमा ५ देखि ६ वर्ष हुर्काएपछिमात्रै प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ ।

अस्तित्व सङ्कटमा

भारतीय उपमहाद्वीपका उत्तरतर्फका नदीहरुमा पाइने घडियाल गोहीको संरक्षणमा उचित ध्यान दिन नसक्दा म्यान्मारको ऐरावती नदीबाट सन् १९३० को दशकमा र भारतको गोदावरी नदीबाट सन् १९६० को दशकमा लोप भए । त्यस्तै, नेपालको कोशी नदीमा सन् १९७० को दशक र पाकिस्तानको इन्दुस नदी प्रणालीमा सन् १९८० को दशकमा लोप भए । सन् १९७६ मा आइपुग्दा यिनीहरु आफ्नो साबिकको बासस्थानमध्ये दुई प्रतिशतमा मात्रै सीमित हुन पुगे । त्यसबेला लोप भैनसकेका नदीहरुमा यिनको संख्या २०० भन्दा कम थियो भने नेपालका नारायणी र रापती नदीमा ५३ वटा भेटिएका थिए । सन् १९७८ पछि नेपाल र भारतमा यसको नियन्त्रित प्रजनन (क्याप्टिभ ब्रिडिङ) गरी हुर्काउन थालियो र सन् १९८१ देखि नारायणी, रापती, कर्णाली, वबई र कोशी नदीमा पुनस्र्थापना गरियो । यीमध्ये कोशी नदीमा माछाको दोहन बढी हुनाले त्यहाँ छाडेका घडियाल गोही बाँच्न सकेनन् । पुनस्र्थापनापछि घडियालको संख्या बढ्दै गएको छ । सन् २०१७ को गणनामा नारायणी र रापती नदीमा गरी १६५ वटा र बबई नदीमा ३३ वटा अभिलेख गरिएको थियो । भारत, मध्य प्रदेशको चाम्वल र त्यसका सहायक नदीहरुमा अन्यत्रको तुलनामा धेरै घडियाल गोही रहेका छन् । त्यहाँका रामगंगा, गेरूवा र गण्डक नदीमा समेत घडियाल गोही पाइन्छन् । कर्णाली नदीलाई भारतमा गेरूवा र नारायणी नदीलाई गण्डक भन्ने गरिन्छ । यी नदीमा नेपालमा पुनस्र्थापना गरेका गोहीहरु पुग्ने गरेका छन् । सन् २०१७ सम्ममा आइपुग्दा नेपाल र भारतमा गरी यिनको संख्या ९०० पुगेको छ ।

धार्मिक मह¤व

हिन्दुधर्मअनुसार गोहीलाई गंगा माताको वाहनको रुपमा लिने गरिन्छ । वराहपुराणमा नारायणी नदीको किनारमा हात्ती र गोहीबीच लडाइँ भएको उल्लेख छ । कथामा उल्लेख भएअनुसार जय र विजय नाम गरेका दुई ब्राह्मण दाजुभाइलाई मरूत नामका राजाले यज्ञ गर्दा दिएको दक्षिणाको बाँडफाँटको विषयमा विवाद भयो । त्यसपछि दाजुभाइले एकअर्कालाई श्राप दिए र कालान्तरमा उनीहरुमध्ये भाइ गोही र दाइ हात्ती भएर जन्मे । एकदिन हात्ती जलक्रीडाका लागि नारायणी नदीको किनारमा आउँदा गोहीले समात्यो र उनीहरुबीच लडाइँ भयो । यो देखेर भगवान् श्रीनारायणले सुदर्शन चक्र प्रहार गरी गजेन्द्र (हात्ती) र ग्राह (गोही) दुवैको उद्धार गर्नुभयो । हात्ती र गोहीबीच लडाइँ भएको स्थानलाई अहिले गजग्रहा भन्ने गरिन्छ । त्रिवेणीदेखि दुई किलोमिटर उत्तरतर्फ नारायणी नदीको किनारमा रहेको यो स्थान अहिले गजेन्द्रमोक्ष दिब्यधामका नाममा परिचित छ ।

संरक्षणमा चुनौती

आहाराको अभाव, बासस्थान विनाश र पानी प्रदूषण घडियाल संरक्षणमा मुख्य चुनौती रहेका छन् । नदीमा अवैधरुपमा डुङ्गा राखेर तथा डुङ्गा भाडामा लिएर माछा मार्नेको संख्या बढ्दै गएको छ । । यस्ता गतिविधिलाई नियन्त्रण गर्न नसक्दा नदीमा माछाको दोहन बढेको छ । कतिपय होटल र होमस्टेले नारायणी नदीका माछा खान पाइने भनी आफ्नो व्यवसायको विज्ञापन गरेका छन् । अहिले माछा मार्न परम्परागत जाल प्रयोग गर्न छाडिएको छ । नदीकिनारमा माछा मार्न थापेका जाल तथा डुङ्गाबाट बगाएका जालमा बारम्बार गोही अल्झने गरेका छन् । यसरी बगाउँदा जालमा सानो गोही अल्झेमा ढुङ्गाले हानेर मार्ने र जाल छुटाउने गरिन्छ भने ठूलो गोही जालमा परेमा छुटाउन सकिँदैन । गोहीको मुखमा जाल बेरिँदा विसं २०७४ मा नारायणी नदीमा भाले गोही मरेको थियो । त्यसपछि प्रजननयोग्य भालेको अभाव भई बबई नदीबाट भाले गोही ल्याएर छाडिएको थियो । अहिले नारायणी र रापती नदीमा गरेर पाँचवटा मात्रै प्रजननयोग्य भाले छन् । यो संख्या अत्यन्तै न्यून हो ।

नारायणी र रापती नदी निकुञ्जको सिमानामा रहेकाले नदीको उत्तरी किनारामा मानवीय चाप बढ्दै गएको छ । चितवनको गाजीपुरमा नदीजन्य पदार्थको अत्यधिक उत्खननका कारण नारायणी नदीको अधिकांश पानी मेघौलीतर्फको भङ्गालोमा गएको छ र नवलपुरतर्फका भङ्गालाहरु सुक्दै गएका छन् । नदी तटीय क्षेत्रमा होटलको संख्या बढ्दै गएको छ । नदी नियन्त्रणका लागि ठाउँठाउँमा निर्माण गरेका तटबन्ध र अतिक्रमणका कारण नदीको उत्तरी किनारमा गोही घाम तापेर बस्ने ठाउँको अभाव हुँदै गएको छ । गोही बाढी आएको समयमा नदीका दायाँबायाँका खोलानालाभित्र छिर्ने गर्दछन् । तर, नारायणी र रापती नदीका उत्तरतर्फका खोलानालाहरु अतिक्रमण हुँदै गएका छन् । साथै, ती खोलानालामा वर्षात्को समयमा माछा मार्ने व्यतिmको भीड लाग्ने हुँदा असुरक्षित बन्दै गएका छन् । निकुञ्जको छेउछाउमा रहेका उद्योग, पोल्ट्री फार्म र बजार क्षेत्रबाट निस्केको फोहोरलाई नारायणी र रापती नदीमा फाल्ने गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं ३०४ मा दासढुङ्गादेखि त्रिवेणी खण्डको नारायणी नदीलाई मदन–आश्रित जलमार्ग नामकरण गरी जल यातायात सञ्चालन गर्ने उल्लेख गरेको छ । घडियाल गोहीको मुख्य बासस्थानलाई जलमार्गको रुपमा प्रयोगमा ल्याएमा गोही संरक्षणमा अझै चुनौती थपिनेछ ।

नेपाल, भारतमा घडियाल प्रजनन केन्द्र स्थापना गरी घडियालका बच्चा हुर्काउने र नदीहरुमा छाड्ने गरेकाले मात्रै हालसम्म घडियाल गोहीको अस्तित्व रक्षा हुन सकेको हो । अहिले यी दुई देशका १४ वटा नदीहरुमा मात्रै घडियाल गोही सीमित हुन पुगेका छन् । नेपालले विगत चार दशकदेखि गरेको अथक प्रयासका कारण अहिले चितवनबाहेक बर्दियाको बबई नदीमा समेत घडियाल गोहीको दोस्रो संख्या (पपुलेसन) कायम भएको छ । घडियाल गोहीमा भाले बच्चा कम जन्मने हुँदा मानवीय कारणका अतिरिक्त प्राकृतिक कारणले समेत यिनको अस्तित्व जोगाइराख्न मुस्किल हुने देखिएको छ । त्यसैले, विश्व संरक्षण संघले यसलाई अति सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

अबको बाटो

जलीय इकोसिस्टमको उचित व्यवस्थापन गर्न नसक्दा यसअघि नै नारायणी र रापती नदीबाट ओत र सोंस (डल्फिन) लोप भएको आशङ्का गरिएको छ । अहिलेका मुख्य समस्याहरु नदीमा माछाको दोहन बढ्नु, नदी प्रदूषण हुनु, नदीसँगै जोडिएर रहेका सिमसार क्षेत्रहरु विनाश हुनु, खेतीपाती र होटलका लागि नदीकिनार अतिक्रमण हुनु, बढ्दो पर्यटकीय गतिविधि र जलाधार क्षेत्रको विनाशबाट नदीको सतह उठ्नु रहेका छन् । नदीमा अनियन्त्रितरुपमा भएको माछाको दोहन रोक्न केही जातिलाई दिँदै आएको माछा मार्ने अनुमति खारेज गर्ने र नदी गस्तीलाई अझै प्रभावकारी बनाउनुपर्ने देखिएको छ । नियन्त्रित प्रजननबाट घडियालका बच्चाको मृत्युदरलाई घटाउन सकिए पनि भाले बच्चाको जन्मदर बढाउने प्रविधिको विकास गर्न सकिएको छैन । घडियाल गोहीको अस्तित्व रक्षाका लागि यस्ता विषयमा अध्ययन अनुसन्धान गर्न जरूरी छ ।

(लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत हुन् ।)

[email protected]

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया