भरतपुर अस्पतालमा सूचनाका लागि तीन अधिकारी, तर सूचना पाउनै मुस्किल

अन‌ि यो पनि

भरतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार अस्पतालहरुमा एन्टिजेन कीट, अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायतका सामग्री सहयोग गरेको देखिन्छ ।

सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराएको अस्पतालहरुमा चितवनको भरतपुर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि पर्छ । तथ्याङ्कअनुसार मन्त्रालयबाट भरतपुर अस्पतालले १२ थान अक्सिजन कन्सन्टे«टर, ६० थान अक्सिजन सिलिन्डर (४० लि.) र ३ थान भेन्टिलेटर पाएको छ ।

यस्तै, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि दुई थान अक्सिजन कन्सन्टे«टर उपलब्ध गराएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसरी स्वास्थ्य सामग्री प्राप्त गरेका अस्पतालहरु कतिपयले भने अहिलेसम्म पनि प्राप्त गर्न नसकेको कुरा बाहिर आइरहेका छन् ।

तर, केन्द्रीय अस्पतालमा दर्ज भएको भरतपुर अस्पतालले भने सरकारबाट स्वास्थ्य सामग्री आए पनि के–कति आयो भनेर तथ्याङ्क राख्न सकेको छैन । ‘सामानचाहिँ आएको छ, तर के–कति आयो भनेर मेरोसामु जानकारी आइपुगेको छैन’, अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद गौतमले भने ।

चितवन पोष्ट दैनिकले यस विषयमा जानकारी लिन आइतबारदेखि मंगलबारसम्म निरन्तर ताकेता गरे पनि सही सूचना भने पाउन सकेन । सूचना अधिकारी गौतमले स्वास्थ्य मन्त्रालयले पठाएको सामानको यकिन जानकारी आफूलाई नभएकोले सीधै स्टोरमा सम्पर्क गर्न अनुरोध गरेपछि स्टोर प्रमुख विष्णु सापकोटालाई सम्पर्क गर्दा उनले पनि सामान आएको जानकारीमात्रै दिए ।

तर, के–कति र कहिले आएको भनेर खुलाउन चाहेनन् । ‘सूचना अधिकारीमार्फत जानकारी माग भएमा हामी उहाँलाई दिन्छौँ, आवश्यक परे सूचना अधिकारीसँगै जानकारी लिनुहोला’, स्टोर प्रमुख सापकोटाले चितवन पोष्टलाई भने ।

पुनः सूचना अधिकारी गौतमसँग सम्पर्क गर्दा ‘कुन विभागमा के भइरहेको छ भनेर सूचना अधिकारीलाई सूचना दिने हो कि सूचना अधिकारीले सबैलाई सोधेर सूचना माग्ने हो ?’ भनेर प्रतिप्रश्न गरे । सूचना अधिकारी गौतम र स्टोर प्रमुख सापकोटासँगको कुराकानीले अस्पतालका कर्मचारीबीच समन्वयको अभाव देखिन्छ । अस्पतालले प्रवक्ताको जिम्मेवारी दिएका डा. युवानिधि बसौलाको मोबाइल नम्बर तीन दिनदेखि नै बन्द छ ।

त्यसो त, भरतपुर अस्पतालमा सूचना सम्प्रेषणकै लागि एक जना प्रवक्ता, एक जना सूचना अधिकारी र एक जना सहायक सूचना अधिकारी तोकिएका छन् । अस्पतालले गरेका हरेक गतिविधि आमजनतासमक्ष पेश गर्नकै लागि तीन जना अधिकारी तोकिए पनि समयमा सूचना पाउन सकिँदैन । राज्यको चौँथो अङ्ग मानिएको सञ्चार क्षेत्रलाई त सूचना लिन सहज छैन भने त्यही अस्पतालबाट सामान्य जनताले कसरी सेवा पाउलान् भन्ने प्रश्नचिन्ह खडा भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोशन न्यौपानेले फोन नै उठाउँदैनन् । यसअघि भरतपुर अस्पतालमा सूचना लिन कुनै समस्या थिएन । तर, केही दिनअघिमात्रै भरतपुर अस्पतालको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. न्यौपाने आएदेखि सूचना संकलनमा केही असहज अवस्था सिर्जना भएको हो ।

मन्त्रालयले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि दुई थान अक्सिजन कन्सन्टे«टर उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यता, अस्पतालले पनि प्राप्त गरिसकेको बताएको छ । यस्तै, बकुलहर रत्ननगर अस्पतालमा पाँच थान अक्सिजन कन्सन्टे«टर, माडीस्थित बघौडा अस्पतालमा छ थान अक्सिजन कन्सन्टे«टर र पाँच थान अक्सिजन सिलिन्डर (४० लि.), स्वास्थ्य कार्यालय चितवनलाई चार हजार ५०० थान एन्टिजेन कीट उपलब्ध गराएको थियो ।

बकुलहर रत्ननगर अस्पतालमा भने विभागको तथ्याङ्कमा पाँच थान अक्सिजन कन्सन्टे«टर भनिए पनि अस्पतालमा चार थानमात्रै उपलब्ध भएको अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेले जानकारी दिए । त्यसबाहेक, अक्सिजन एनलाइजर एक थान र पल्स अक्सिमेटर १० थान प्राप्त भएको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया